images
images

ऋण तिर्न ऋण गर्दा भार बढेको बढ्यै, चार महिनामै ८४ अर्ब थपिदा २५ खर्ब नाघ्यो

ऋण तिर्न ऋण गर्दा भार बढेको बढ्यै, चार महिनामै ८४ अर्ब थपिदा २५ खर्ब नाघ्यो

ऋणको साँवाब्याज भुक्तानीका लागि ऋण गर्दा सार्वजनिक ऋण घट्नुको सट्टा बढिरहेको देखिन्छ ।

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • ऋण तिर्न ऋण गर्दा भार बढेको बढ्यै, चार महिनामै ८४ अर्ब थपिदा २५ खर्ब नाघ्यो
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष (आव) २०८१/८२ को पहिलो चौमासिक (साउन–कार्तिक) मा सरकारको सार्वजनिक ऋण ८४ अर्ब रुपैयाँले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो ।

    साउनमा २४ खर्ब ३४ अर्ब १० करोड रुपैयाँ रहेको सार्वजनिक ऋण कार्तिक मसान्तसम्म आइपुग्दा ८३ अर्ब ९६ करोड बढेर २५ खर्ब १८ अर्ब ६ करोड रुपैयाँ पुगेको हो । यो कुल जिडिपीको आधारमा ४४.१२ प्रतिशत हो । 

    हालको जनसङ्ख्याको आधारमा हेर्ने हो भने सार्वजनिक ऋण हरेक नेपालीको भागमा करिब ८५ हजार रुपैयाँ ऋण पर्ने देखिन्छ । ऋणको साँवाब्याज भुक्तानीका लागि ऋण गर्दा सार्वजनिक ऋण घट्नुको सट्टा बढिरहेको देखिन्छ । 

    कार्तिकसम्म सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख रुपैयाँ छ भने बाह्य ऋण १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख बराबर छ । 

    जिडिपीका आधारमा आन्तरिक ऋण २१.९५ प्रतिशत र बाह्य ऋण २२.१९ प्रतिशत हो । चार महिनामा विनिमय दरमा आएको परिवर्तनका कारण ४ अर्ब ५६ करोड रुपैयाँ बराबर वैदेशिक ऋणको दायित्व थप भएको छ । 

    विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनकै कारण गत असोज मसान्तसम्मको तुलनामा कार्तिक मसान्तसम्ममा ४ अर्ब ५६ करोड बराबर ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

    कार्यालयका अनुसार कार्तिकसम्म नेपाल सरकारको तिर्न बाँकी ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो रकम असोज मसान्तसम्मको तिर्न बाँकी ऋणको तुलनामा ४ अर्ब ९८ करोड कम हो ।

    सरकारले यस अवधिमा १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ थप सार्वजनिक ऋण लिएको छ भने १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ साँवा र ब्याज तिरेको छ । 

    लक्ष्यको ३०.३० प्रतिशत ऋण प्राप्त 

    सरकारले पहिलो चौमासिकमा वार्षिक लक्ष्यको तुलनामा ३०.३० प्रतिशत सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवका लागि ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकमा १ खर्ब ६५ अर्ब ७२ करोड ऋण प्राप्त सार्वजनिक ऋण प्राप्त गरेको हो ।

    यस बर्ष सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिने जनाएको छ । पहिलो चौमासिकमा सोमध्ये १ खर्ब ४४ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । जुन लक्ष्यको ४३.६४ प्रतिशत हो । 

    त्यस्तै, २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको सरकारले कार्तिकसम्म २१ अर्ब ७२ करोड रुपैयाँ मात्रै उठाउन सकेको छ । यो लक्ष्यको १०.०१ प्रतिशत हो । बाह्य ऋण सामान्यतयाः विकास खर्चसँग सम्बन्धित हुने भएकोले विकास खर्चले बढेसँगै ऋण प्राप्ति पनि बढ्नेछ । 

    ऋणको साँवा ब्याज तिर्न ४ खर्ब २ अर्ब बजेट 

    सरकारले चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको थियो । 

    कार्तिकसम्म १ खर्ब ८ अर्ब १४ करोड साँवाब्याज भुक्तानी गरिसकेको छ । कुल जिडिपीको आधारमा कात्तिक मसान्तसम्ममा ऋणको साँवाब्याज तिर्न भएको खर्च १.९० प्रतिशत बराबर हो । 

    कार्तिक मसान्तसम्म सरकारले आन्तरिक ऋणको ७२ अर्ब ७४ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ भने १८ अर्ब ९९ करोड ब्याज भुक्तानी गरेको छ । त्यस्तै, सरकारले बाह्य ऋणको साँवा भुक्तानीमा १३ अर्ब ५७ करोड र ब्याज भुक्तानीमा २ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ । 

    सरकारले कार्तिक मसान्तसम्म साँवा तिर्न ८६ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । जुन जिडीपीको १५१ प्रतिशत हो । त्यस्तै, ब्याज भुक्तानीका लागि सरकारले कार्तिकसम्म २१ अर्ब ८२ करोड रुपैयाँ खर्चिएको छ । यो रकम जिडीपीको ०.३८ प्रतिशत हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार