काठमाडौँ / नेपालमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार तथ्याङ्क अनुसार कृषि जग्गामा महिला र पुरुषको कानुनी स्वामित्व सम्बन्धी विवरण सार्वजनिक गर्दै कृषि क्षेत्रमा काम गर्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी देखिएको जनाएको हो ।
हाल नेपालमा १८ वर्ष माथि उमेर समूहका सक्रिय रूपमा कृषिमा कुल एक करोड ३२ लाख ११ हजार ३४९ जनसङ्ख्या संलग्न रहेका छन् । यसमध्ये ६८ लाख ६३ हजार ४१२ जना महिलाहरू कृषि पेशामा संलग्न रहेको कार्यालयको तथ्याङ्क छ । यो कृषि पेशामा आबद्ध कुल जनसङ्ख्याको ५२ प्रतिशत हो । त्यस्तै, कृषिमा सक्रिय सहभागी पुरुषको सङ्ख्या ६३ लाख ४७ हजार ९३६ जना छ, यो ४८ प्रतिशत मात्रै हो ।
नेपालमा जनसङ्ख्याको हिसाबले महिलाको सक्रियता बढे पनि जमिनको स्वामित्वको हिसाबले भने महिलाहरू पछाडि रहेको तथ्य पनि सार्वजनिक भएको छ ।
नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जनाको नाममा महिला वा पुरुष छुट्टिने हिसाबले जमिनको स्वामित्व छ । तर, यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाको छ ।
विवरणअनुसार २७ लाख २३ हजार ६२५ जना पुरुषसँग र १४ लाख ३० हजार ७ सय १९ जना महिलासँग जमिनको स्वामित्व भएको लालपूर्जा रहेको देखिन्छ । बाँकी स्वामित्व भने कि त संयुक्त रूपमा वा अन्य प्रकारको रहेको कार्यालयले जनाएको छ । कृषि पेशामा आबद्ध कुल महिलाको तुलनामा जग्गाको स्वामित्व भएका महिलाको हिस्सा २०.८ प्रतिशत मात्रै छ, जबकि पुरुषहरूको हिस्सा ४२.९ प्रतिशत छ ।
कृषि जमिनमा कुन प्रदेशमा कति महिलाको स्वामित्व छ ?
देशभरका कृषि जनसङ्ख्यामा औसत ३४.४ महिलाको जनसङ्ख्या देखिए पनि प्रदेशअनुसार फरक–फरक तथ्याङ्क छ । कार्यालयको तथ्याङ्क अनुसार प्रदेशगत रूपमा कृषि जमिनको स्वामित्वमा गण्डकीका महिला अगाडि देखिएका छन् । यो प्रदेशमा जग्गाधनी महिलाको हिस्सा ३८.५ प्रतिशत छ ।
यसैगरी, सबैभन्दा कम मात्रामा जग्गामा महिलाको स्वमित्व रहेको प्रदेश कर्णाली हो । यो प्रदेशमा २८.७ प्रतिशत मात्रै महिलाहरू खेतीयोग्य जमिनको लालपुर्जा माथिको पहुँचमा छन् ।
जमिनमा स्वमित्व रहने महिलाको हिस्सा धेरै रहेको दोस्रो प्रदेश कोशी हो । यस प्रदेशमा ३७.२ प्रतिशत महिलाको जमिनमा एकल स्वमित्व छ । त्यसैगरी, मधेशमा ३५.८ प्रतिशत, बागमतीमा ३१.५ प्रतिशत, लुम्बिनीमा ३४.४ प्रतिशत र सुदूपश्चिम प्रदेशमा ३०.६ प्रतिशत महिलाको स्वामित्वमा कृषि जमिन रहेको कार्यालयले उल्लेख गरेको छ ।
२०३० सम्म ४० प्रतिशत महिलाको स्वामित्वमा कृषि जग्गा पुर्याउने लक्ष्य !
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले सन् २०३० सम्ममा महिलाको स्वामित्वमा ४० प्रतिशत कृषि जग्गा पुर्याउने लक्ष्य राखेको बताए ।
“कृषियोग्य जमिनमा स्वामित्व ३४.४ पुगिसक्यो । सन् २०३० सम्ममा महिलाको स्वामित्वमा ४० प्रतिशत कृषि जग्गा पुर्याउने लक्ष्य रहेको छ । जग्गाको स्वामित्व महिलाको नाममा गर्दा सरकारले अझ सहुलियतहरू पदने हो भने ४० प्रतिशत जमिन महिलाको पहुँचमा पुग्ने विश्वास छ ।”
उनले दक्षिण एशियामा कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबीचको असमानताको विषयमा तथ्याङ्क सङ्कलन गर्ने देशमा पहिलो पटक परेको उल्लेख गरे ।
कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत
कृषि गणना २०७८ को तथ्याङ्क अनुसार कृषि क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा २४.१२ प्रतिशत ओगटेको छ । कुल अर्थतन्त्रको सक्रिय जनसङ्ख्यामध्ये ५७.३ प्रतिशत १० वर्षभन्दा माथिका व्यक्ति संलग्न छन् । जसमध्ये ५३.६ प्रतिशत महिला संलग्न छन् भने ४६.४ प्रतिशत पुरुष संलग्न छन् ।
२०७८ को जनगणनाअनुसार ३१.५ प्रतिशतको नेतृत्व महिलाले गर्छन् । २३.८ प्रतिशत घरपरिवारको जग्गा महिलाको स्वामित्वमा छ । जसमध्ये २.३ प्रतिशत घरमा महिलाको स्वामित्वमा रहेको छ । ९.७ प्रतिशत जमिन महिलाको स्वामित्वमा रहेको छ । घर र जमिन दुवै ११.८ प्रतिशत महिलाको स्वामितवमा रहेको छ ।