काठमाडौँ / च्याउ उत्पादक किसान सङ्घ नेपालले पाँचौँ ‘राष्ट्रिय च्याउ दिवस’को अवसरमा ‘च्याउ परिकार महोत्सव’को आयोजना गर्ने भएको छ । सङ्घले च्याउ दिवसको दिन अर्थात पुस १५ गते जावालाखेलस्थित खेल मैदानमा ‘च्याउ परिकार महोत्सव’को आयोजना गर्ने भएको हो ।
संघले २०७६ सालमा मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान चलाएको थियो । सो अभियान हेटौडामा आएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामाले राष्ट्रिय च्याउ दिवस घोषणा गरेको थिए । सो समयदेखि सङ्घले हरेक बर्ष पुस १५ गते च्याउ दिवस मनाउँदै आएको छ ।
सोही क्रममा यस बर्ष व्यवसायिक रूपमा उत्पादन हुने च्याउको उत्पादन प्रक्रियासहित परिकार बनाएर अवलोकनकर्तालाई चखाउने कार्यक्रम रहेको सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताए । उनका अनुसार महोत्सवमा च्याउसँग सम्बन्धित करिब २० देखि ३० ओटासम्म स्टलहरू रहनेछन् ।
“च्याउका धेरै परिकारहरू महोत्सवमै बनाइनेछ । केही परिकार निःशुल्क र केही परिकार सःशुल्क चखाइनेछ,” उनले भने, “सम्भव भएसम्म कन्य, गोब्रे र सिताके च्याउको खेतीका लागि आवश्यक उपकरणको डेमोस्ट्रेसन र खेती प्रक्रियासमेत लाइभ देखाइनेछ । च्याउको लाइभ आर्ट पनि देखाउने कार्यक्रम छ ।”
महोत्सवमा सामान्य किसानले च्याउ उत्पादन गर्दा केकस्तो उपकरण प्रयोग गर्नुपर्छ र प्रक्रियाबारे जानकारी दिइने उनको भनाइ छ । उक्त महोत्सवमा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने उनले जानकारी दिए । महोत्सवमा ५ हजार अवलोकनकर्ताहरू आउने अनुमान गरिएको उनले बताए । सङ्घले गत बर्ष काठमाडौँमा प्रभातफेरी, दिउँसो वृहत बनभोज तथा साँझ दिप प्रज्वलन् गरी हर्षोल्लासका साथ च्याउ दिवस मनाएको थियो।