काठमाडौँ / सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सो लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते, शनिबार, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले लाभांश प्रस्तावका साथै कर्जाको अनुमोदन तथा अख्तियारी दिने, अन्य आयोजनामा लगानी गर्ने, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना तथा स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।