काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब ५ महिनापछि आइपिओ निष्कासनको अनुमति दिएको छ । १० महिनादेखि रोकिएको आइपिओ प्रक्रिया सेबोनले नयाँ अध्यक्ष नियुक्त हुनुअघि आइपिओ निष्कासनको अनुमति दिएको हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २२ करोड ५० लाख रुपैयाँ सेयर निष्कासनका लागि सेबोनले आइतबार अनुमति दिएको छ । लघु बिमक कम्पनी गार्डियन माइक्रो लाइफले गत साउन २४ गते आइपिओ निष्काशनको अनुमति माग्दै सेबोनमा निवेदन दिएको थियो।
सेबोनबाट अनुमति पाएसँगै अब गार्डियन माइक्रो लाइफले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्नेछ।
गार्डियन माइक्रो लाइफको आइपिओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। धितोपत्र बोर्डमा गार्डियन माइक्रो लाइफसहित ४ वटा लघु बीमकले आइपिओ ल्याउन अनुमति मागेका थिए।
गार्डियन माइक्रो लाइफले आइपिओ निष्कासनको अनुमति पाएसँगै अब क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ।
केही समयअघि मात्रै नेपाल बिमा प्राधिकरणले तत्काल आइपिओ ल्याउन निर्देशन दिएको थियो। प्राधिकरणले लघु बीमकको इजाजतपत्र जारी गर्दा न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ।
योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक सेयरधनीले लगानी गरेका छन् । बाँकी ३० प्रतिशत सर्वसाधारणबाट थप २२ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन लघु बीमकले आइपिओ ल्याउन लागेका हुन्।
सेबोनले करिब ५ महिनापछि गार्डियन माइक्रो लाइफलाई आइपिओ निष्कासनको अनुमति दिएसँगै अब पाइपलाइनमा रहेका अन्य कम्पनीले पनि आइपिओ निष्कासन अनुमति पाउनेछन् ।
यसअघिका अध्यक्ष रमेश हमालले अघिल्लो वर्ष पुस १९ सम्म विभिन्न कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको थियो । हमालको अवकाशपछि आइपिओ निष्कासन प्रक्रिया रोकिँदै आएकोमा असारमा रिलायन्स स्पिनिङ मिललाई प्रिमियम मूल्यमा आइपिओ निष्कासनका लागि अनुमति दिइएको थियो ।
निष्कासनअघि नै मूल्यका कारण विवादित बनेपछि संसद्को सार्वजनिक लेखा समितिको निर्देशनसँगै सो आइपिओ निष्कासन रोकिएको छ । अहिले भने अंकित मूल्यमै निष्कासन गर्नेगरी स्वीकृति दिइएको हो ।