काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित सुन्थान गाउँ यतिबेला सुन्तलाले ढकमक्क छ । गाउँभर सुन्तलाबाट १ करोड रूपैयाँभन्दा बढी पैसा आउँछ । अर्थात् किसानहरूले सुन्तला बेचेर एक करोडभन्दा बढी आम्दानी गर्ने गर्दछन् ।
सुन्थानका बासिन्दाहरूलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । धेरै क्षेत्रफलमा सुन्तला लगाउनेहरूका घरमै व्यापारीहरू सुन्तलाको दाम दिन पुग्ने गरे पनि थोरै सुन्तला लगाउनेहरू भने बनेपा झरेरै सुन्तला बेच्ने गर्दछन् । थोरै मात्रामा सुन्तला किन्नै भनेर गाउँसम्म पुग्नेहरू पनि प्रशस्त छन् तर सबै समयमै बिक्री नहुने भएकाले बनेपासम्म झरेर भए पनि सुन्तला बेच्ने गरेको स्थानीय किसानहरूको भनाइ छ ।
सुन्थानमा भूकम्पपछिको केही वर्ष सुन्तला उत्पादनमा ह्रास आए पनि पछिल्लो दुई वर्षयता सुन्तला उत्पादन बढ्दै गएको कृषकहरू बताउँछन् । मकै, तोरी र तरकारी खेती हुने ठाउँमा सुन्तलाले अहिले प्रशस्त ठाउँ पाएका छन् । सुन्थानका डेढ सय घरधुरीमा थोरै भए पनि सुन्तलाका बोट छन् ।
विगत ३० वर्षदेखि सुन्तला खेती गर्दै आएका सुन्थानका यज्ञबहादुर भण्डारी सुन्तला खेतीले त्यहाँका किसानको जीवन धानेको बताउँछन् । मकै, तोरी लगाउँदा साठीदेखि सत्तरी हजारसम्म वार्षिक कमाइ हुने सुन्थानमा सुन्तला लगाएपछि ५ लाखसम्म कमाइ हुने गरेको उनको भनाइ छ ।
२०५१ सालबाट सुन्तला खेती गर्न लागेका भण्डारीले यसपटक पनि दुई लाख ६२ हजारको सुन्तला बिक्री गरिसकेका छन् । अझै केही सुन्तला बिक्री हुन बाँकी रहेको उनी बताउँछन् । २०७१ सालमा ५ लाखको सुन्तला बेचेको सम्झिँदै उनले त्यसताका हेरेर अहिले आधा पनि कमाइ नभए पनि आफू सन्तुष्ट रहेको बताए ।
नगरपालिकाले सुन्तला खेती गर्ने किसानहरूलाई अनुदान नदिएको गुनासो गर्दै कृषक भण्डारीले सिँचाइका लागि पानी, मल र बिरुवा पाए सुन्तला उत्पादन अझै बढाउन सकिने बताए ।
‘मकै, तोरी लगाउँदा साठी सत्तरी लाख हुन्थ्यो भने अहिले ५ लाखको सम्म बेचियो । यसपालि मैले दुई लाख ६२ हजारको बेचेँ । यो २०७१ सालको हिसाबले त आधा पनि आएन, यसपालि आयो । कसैले केही सहयोग गरेको छैन, पानी छैन, हामीले अनुदानहरू केही पाएको छैन, मल बिरुवा पाएको छैन, मल भए राम्रो फल्थ्यो होला,’ भण्डारीले भने, ‘एउटा बोटमा २ सय किलोसम्म फल्छ । यहीँ किन्न थोरै आउनेहरूलाई सय रूपैयाँ किलो बेच्ने गरेका छौँ ।’
पनौती नगरपालिका- ९ कै अर्का किसान शहदेव महतले पनि ३ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । अहिले तीन रोपनी जग्गामा डेढ सय सुन्तलाका बोट रहेको र यस वर्ष २ लाख रूपैयाँसम्म आम्दानी हुने आँकलन आफूले राखेको उनले बताए ।
गत वर्षहरूमा किरा लागेका कारण उत्पादनमा ह्रास आए पनि यस वर्ष नगरपालिकाले किरा मार्ने औषधि दिएसँगै सुन्तलाको उत्पादन बढेको उनी बताउँछन् । मकै, तोरीलगायतका बालीहरू लगाउँदा भन्दा सुन्तला खेतीबाट धेरै आम्दानी गरेको उनले बताए ।
भित्री बालीका रूपमा कोदो र मकै लगाउन सकिने भएकाले पनि सुन्तला खेतीबाट आम्दानी राम्रो हुने गरेको महतको भनाइ छ । सुन्तला टिपिसकेपछि सुकेका हाँगा, अैँजेरुहरू काँटछाँट गर्नुपर्ने र मलजल गर्नुबाहेक अन्य केही पनि कुराहरू सुन्तला खेतीका लागि गर्नु नपर्ने भएकाले पनि धेरै सहज रहेको उनले बताए ।
‘गाउँमा धेरथोर सबैकोमा छ । रोगले नराम्रो भएको हो, यसमा मकै लगाउँदा पनि सुन्तलाको जति आम्दानी हुँदैन, यसमा भित्री बाली लगाउन सकिन्छ । अहिले मैले २ लाख चानचुनको बेच्ने आँकलन छ,' महतले भने, 'यसको सुकेका हाँगा, अैँजेरुहरू काँटछाँट गर्नुपर्छ, यो टिपीसकेपछि त्यसपछि मलजल गर्नुपर्छ । यसपटक पनि किरा नलाग्ने औषधि निःशुल्क दिनुभयो भने राम्रो हुन्थ्यो ।’
वडा नम्बर ९ कै किसान गोपी महत पछिल्लो समय सुन्तलाको उत्पादन र व्यापार फस्टाइरहेको बताउँछन् । आफूले थोरै क्षेत्रफलमा सुन्तला लगाएको भए पनि २५ हजार रूपैयाँसम्मको सुन्ता बेच्ने लक्ष्य राखेको उनको भनाइ छ । आफूले धेरैजसो खेती तरकारी गरेकाले सुन्तला खेती कम रहेको र कम सुन्तलाहरू बनेपा बजारसम्म झरेर आफैँले बेच्ने गरेको बताए । उनले सुन्तलाबाट गाउँले वार्षिक एक करोड भन्दा बढी आम्दानी गर्ने गरेको बताए ।
पनौती नगरपालिका- ९, ओम डाँडास्थित शिकारी गाउँका किसान रमा महतले भूकम्पपछि सुन्तला खेतीमा कमी आएको बताइन् । नगरपालिकाले सुन्तलामा लाग्ने किरा मार्नका लागि औषधि दिएपछि यस वर्ष सुन्तला झर्न कम भएको उनको भनाइ छ । औषधि १० पटकसम्म हाल्न पाए अर्को वर्ष सुन्तला खेती राम्रो हुने अनुमान गरेको उनले बताइन् ।
थोरै जग्गामा लगाएको भए पनि सुन्तला खेतीले वर्षभर आफूलाई खान पुग्ने आम्दानी हुने महतको भनाइ छ । नगरपालिकाले तरकारी र सुन्तला खेतीका लागि आवश्यक तालिम दिए झनै राम्रो हुने उनले बताइन् ।
‘गएको साल वर्षमा औषधि पनि पठाइदियो नगरपालिकाले । अझ दुई पटक मात्रै हाल्यौँ । यो वर्ष झरेको छैन । भूकम्पपछि त्यस्तो भएको हो । सुन्तलाबाट राम्रो छ । थोरै जग्गामा लगाएको भए पनि त्यसले आफूलाई वर्षभर खान पुग्छ,' महतले भनिन्, 'वर्षको दुईपटक मलजल गर्नुपर्छ । हामीलाई सबैथरी तालिम दिए हुन्थ्यो । बढी तरकारीको तालिम दिँदा राम्रो हुन्थ्यो ।’
अर्का किसान शिवबहादुरले ७ रोपनी क्षेत्रफलमा आफूले सुन्तला खेती गरेको बताए । उनले अहिले जलवायु परिवर्तनजन्य प्रभावका कारण कम पानी पर्ने र त्यसको असरले सुन्तलाका बोटहरू मर्ने गरेको बताए ।
अझै १ सय १५ जति सुन्तलाका बोटहरू रहेको र यसवर्ष तिनीहरूबाट १ लाख ४० हजार रूपैयाँको सन्तला बिक्री गरेको बताए । २० वर्षबाट सुन्तला खेती गरेको भन्दै उनले सुन्तला बेचेर किसानहरूले करोडौँ रूपैयाँ भित्र्याउने गरेको बताए ।
पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले नगरपालिकाले कृषिलाई विविधिकरण गर्न खोजिरहेको बताए । नगरपालिका कृषि क्षेत्र र किसानका लागि विशिष्टिकृत तरिकाबाट योजना बनाएर अघि बढीरहेको उनको भनाइ छ ।
नगरमा रहेका ५६ हजार नागरिकमध्ये अधिकांश कृषि पेशामै आश्रित रहेको उनले बताए । नगरपालिकाका उत्पादनलाई बजारीकरण गर्न आफूहरूले पहल गरिरहेको उनको भनाइ छ । केही समयपहिला जनप्रतिनिधिको कम चासो र किसानको पनि हेलचेक्राँईले गर्दा सुन्तला खेती मासिन लागेको स्मरण गर्दै उनले आफू नगपालिकाको प्रमुखका रूपमा आएपछि किसानहरूका समस्या समाधान गर्न र उनीहरूका उत्पादनलाई बजारीकरण गर्न चासोका साथ काम गरेको बताए ।
‘पनौती नगरपालिका कृषिप्रदान नगरपालिका पनि हो । अधिकांश नगरवासी ५६ हजार नागरिक छन् । यो नगरमा अधिकतम कृषिमै आश्रित छन् । हामीले कृषिलाई विविधिकरण गर्न खोजिरहेका छौँ । हामी विशिष्टिकृत तरिकाबाट जाँदैछौँ । राम्रो कुन पेशा गर्नसक्नुहुन्छ, त्यो एउटा राम्रो गर्नुहोस् भनेका छौँ । कृषिलाई आफूले व्यवसायीकरण गरौँ भनेर अघि बढेको छु । फलफूल खेती धेरै पहिलैदेखि हुँदै आइरहेको छ । विशेष गरी सुन्तला खेतीले । जनप्रतिनिधिको कम चासो र किसानको पनि हेलचेक्राँईले गर्दा लगभग सकिन लागेको थियो । म आइसकेपछि किराको औषधि दिएर केही भएपनि किसानलाई सहयोग गरिरहेका छौँ,' उनले भने ।