काठमाडौँ / नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६ औँ वार्षिक साधारणसभा आज भइरहेको छ । ललितपुरको क्लासिक ब्याङ्क्वेट सानेपामा आयोजित साभारणसभामा देशभरबाट ३५० हाराहारी व्यवसायीहरूको सहभागिता रहेको छ ।
यो महासंघ २०५७ सालमा संघका रूपमा स्थापना भई २०६२ सालमा महासंघ बनेको हो । हाल महासंघमा देशभरका २८ संघहरू आवद्ध छन् ।
आजभन्दा २३ बर्षअघि स्थापना भएको महासंघले यातायातलाई व्यवस्थित, मर्यादित, विकृतिरहित एवं बहुउपयोगी बनाउनुपर्ने आवश्यकता र सम्वद्ध सबै पक्षको कर्तव्य भएको वास्तविकतालाई आत्मात गर्दै आएको महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।
उनका अनुसार ढुवानीको करिब शतप्रतिशत कार्य गर्दै आएको ट्रक यातायात व्यवसायीहरू नै सुरक्षित, भरपर्दो, मर्यादित, व्यवस्थित र व्यवसायका दृष्टिले आकर्षक बन्न सकेको छैन ।
यसका निम्ति राज्य, यातायात व्यवसायीको नेतृत्वदायी संघ संस्थाहरू, व्यवसायीहरू नै जिम्मेवार र जवाफदेही भएको उनको भनाइ छ ।
उनले भने, “राज्यले ट्रक व्यवसायी र यसका संघसंस्थाहरूलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्नु आवश्यक छ । सरकारले ट्रक यातायातमा पनि सिण्डिकेट देख्ने गरेको तर सिण्डिकेट र मालवाहक यातायातको कुनै सम्बन्ध छैन । रुट इजाजत लिन कसैको सिफारिस आवश्यकता नपर्ने र त्यो प्राप्तिका निम्ति अस्वस्थ प्रतिस्पर्धा समेत गर्नु नपर्ने, कुनै मार्गमा गुड्नका निम्ति रुट इजाजत बाहेक अन्य अनुमति र निषेधको सावल नै नरहने हुँदा ट्रक यातायातमा सिण्डिकेट हुने कुरै भएन ।”
देशभरका ट्रक यातायात व्यवसायीहरू सम्मिलित भएका संघ संस्थाहरू र ती संघ संस्थाहरू मिलेर बनेको नेपाल ट्रक यातायात व्यवसाय महासंघ यस क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।
सरकारले विभिन्न ठाउँहरूमा सञ्चालन गरेको तौलपुलको प्रभावकारिता राम्रो भएकोले यसलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनुपर्छ र नीतिगत रूपमा स्पष्ट हुनुपर्ने पहल गरेको र हाल देशका विभिन्न १६ ठाउँमा महासंघ मातहतका तौलपुलहरू सञ्चालन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनले भने, “विभागले ‘मालवाहक सवारीमा भारवहन सम्बन्धि निर्देशिका २०७१’ जारी गर्यो र त्यसपछि पटक पटक संशोधन गरी लागु गर्दै आएको छ ।”
महासंघ मातहतमा रहेका १६ ओटा तौलपुलमध्ये कुनै एक तौलपुलमा पुग्नासाथ उक्त सवारीले कति वजनको लोड बोकेको छ भनि सोको जानकारी सम्बन्धित सवारीधनीले स्वतः मोवाइल मेसेजमार्फत पाउठन सक्ने गरी महासंघले कम्प्युटर सफ्टवेयर निर्माण गरेको उनले जानकारी दिए । यसको प्रयोगबाट यातायात व्यवसायी लाभान्वित हुने विश्वास रहेको अध्यक्ष श्रेष्ठले बताए ।