images
images

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ : सर्ने दर बढी, जटिलता र मर्ने दर भने कम !

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ : सर्ने दर बढी, जटिलता र मर्ने दर भने कम !

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ : सर्ने दर बढी, जटिलता र मर्ने दर भने कम !

    काठमाडौँ / कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन. १ पहिलो पटक नेपालमा पनि पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको जनाएको हो । 

    images
    images

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजन पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०/९/२२ मा गरेको पछिल्लो जिन सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब–भेरिअन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी गराउँदछौँ ।”

    जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै स्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् । अहिले नयाँ सब–भेरिअन्टको सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू काठमाण्डौँ, पोखरा, चितवन, भक्तपुर, धनगढी लगायतका क्षेत्रका हुन् । हालसम्म यस भेरियन्टले सामान्य ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षण मात्रै देखिएकाले भयावह स्थिति सिर्जना नहुने यद्यपि सामान्य स्वास्थ्य मापदण्ड भने अपनाउन उनीहरूको सुझाव छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सङ्क्रमण र सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि हामी सबै जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सबैमा अपिल गर्दछ ।”

    1.JPG

    नयाँ भेरियन्टलाई रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने र स्वास्थ्य सतर्कतालाई अवलम्बन नै गर्नुपर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

    ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ पनि अन्य भेरियन्टजस्तै खोकेर, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट अर्को व्यक्तिलाई सर्ने उनले बताए । यो भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा गम्भीर हानि र्पुयाएको पुष्टि नभएको उनको भनाइ छ ।

    नयाँ भेरियन्टलाई विश्व स्वास्थ संगठनले यो भाइरसलाई ‘कम घातक’ को श्रेणीमा राखेको डा. पुनले बताए । ‘डब्लुएचओले नयाँ भेरियन्टलाई कम घातकको वर्गमा राखेको छ,’ उनले भने, ‘यद्यपि यो भाइरस तीब्र फैलिन सक्ने क्षमता भएको भनिएको छ । यसर्थ यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ को श्रेणीमा राखेर बिशेष निगरानी गर्न अनुरोध गरिएको छ ।’

    जेएन.१ भाइरस ज्येष्ठ नागरिकहरूका लागि घातक हुनसक्ने देखिएकाले घरका सक्रिय सदस्यले सतर्कता नअपनाए वा जनस्वास्थका मापदण्डहरू बेवास्ता गरे आफू संक्रमित भई ज्येष्ठ नागरिकहरूमा फैलाउन सक्ने जोखिम रहेको उनले उल्लेख गरे ।

    नयाँ भेरियन्ट के हो ? 

    कोभिड–१९ को विभिन्न प्रजाति देखा पर्न थालेका छन् । त्यही मध्येको एक हो नयाँ भेरियन्ट जेएन.१ ! यो भेरिअन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो । तीव्र सङ्क्रमणदर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको छ । 

    विश्व स्वास्थ्य सङ्गठनले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ । यद्यपि स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिहरूमा जोखिम हुन सक्नेतर्फ सचेत भने गराएका छन् । यो भेरिअन्टले यसअघिका प्रजातिको भन्दा मानिसहरूमा थप स्वास्थ्य जटिलता देखिएको विवरण हालसम्म आएका छैनन् ।

    अस्पताल भर्ना हुँदै कोभिडका बिरामी

    केही दिनयता कोरोना पुष्टि भएका बिरामी अस्पताल भर्ना भइरहेका छन् । यो अवस्था विश्व स्वास्थ संगठनले ‘कोभिड अब प्यानडेमिक’ नरहेको भनेर घोषणा गरेको लामो समयपछि देखिएको हो । रुघाखोकी वा ज्वरोजस्तो कोभिडको लक्षण देखिएका बिरामी लामो समयसम्म पनि निको नभएपछि अस्पतालमा उपचारका लागि आउने गरेका हुन् । 

    ती बिरामीमा सङ्क्रमण देखिएको र उनीहरूलाई भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । ओमिक्रोनलाई तुलनात्मक रूपमा अरू भेरियन्टभन्दा कम घातक मानिन्छ । तर पनि ओमिक्रोनको लहरमा धेरै जसो बृद्ध तथा दीर्घ रोगीहरूलाई बढी प्रभावित पारेको वा मृत्यु भएको देखिएको थियो । 

    अहिले कोभिड पुष्टि भएर अस्पताल भर्ना हुने पनि ज्येष्ठ नागरिक नै छन्। यसरी हेर्दा जेएन.१ भाइरस जेष्ठ नागरिकहरूको लागि जटिल हुन सक्ने प्रारम्भिक आकलन गर्न सकिन्छ । 

    खोप लगाएका व्यक्ति संक्रमित हुन सक्छन् !

    कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई नयाँ सब भेरियन्टले खासै प्रभाव नपर्ने चिकित्सकले बताएका छन् । तर खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, गर्भवती, दीर्घरोगका बिरामी बढी प्रभावित हुन सक्ने डा. पुनको अनुमान छ । 

    ‘खोप लगाएका मानिसमा संक्रमण भए पनि जटिलता कम हुने भएकाले अतिरिक्त खोप (बुस्टर) लगाउनुपर्छ, उनले भने, ‘नेपालमा थोरै संख्याले मात्रै बुस्टर डोज लगाएका छन् । अब सरकारले बुस्टर डोजमा र नागरिकले मास्क लगायतका जनस्वास्थ्यको मापदण्ड पालनामा विशेष ध्यान दिनुपर्नेछ ।’

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले नेपाल सरकारसँग ९ देखि १० लाख सङ्ख्यामा कोरोना भाइरसविरुद्धको खोप मौज्दात छ ।

    नयाँ भेरियन्टको सर्ने दर बढी, रोगको जटिलता र मर्ने दर भने कम !

    नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ । 

    इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए । “सहरमा बढी भीडभाड हुने हुनाले जेएन–१ को एकापसमा सर्ने दर बढी रहेको छ”, उनले भने, “रोगको जटिलता र मर्ने दर भने कम रहेको छ ।”

    सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)गर्दा १६ पोजेटिभ नमूना परीक्षण गर्दा सात जनामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको थियो ।

    मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ । 

    मन्त्रालयले कोभिड–१९ को नयाँ सब भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक ‘स्किनिङ्ग’ र निगरानी गरिरहेको जनाएको छ । 

    परीक्षणको दैनिक प्रतिवेदन पठाउन निर्देशन ! 

    कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मातहतका सबै निकायलाई दैनिक प्रतिवेदन पठाउन निर्देशन दिएको हो । 

    महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस (ओमिक्रोन)को नयाँ भेरियन्ट जेएन–१ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन् ।  

    नेपालमा पहिलोपटक सोमबार ७ जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ भेटिएको थियो । साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

    मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थानहरु, मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु–मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार