images
images

शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो, बारीमै बिक्छ तरकारी

शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो, बारीमै बिक्छ तरकारी

बिहिवार, फागुन ३ २०८०
बिहिवार, फागुन ३ २०८०
  • शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो, बारीमै बिक्छ तरकारी
    images
    images

    भरतपुर / इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुगेका उनले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग छन्। 

    “घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्लिङ–शक्तिखोर सडक छ”, उनी भन्छन्, “यतिको सुविधा होला भन्ने कल्पनासमेत गरेका थिएनौँ, अहिले त गाडी दुनुन्न हिँड्छन् आनन्द छ ।” सडक सञ्जालले यात्रुसहित यहाँका स्थानीयलाई धेरै सहज भएको उनी बताउँछन् । 

    “पहिले निकै कष्टका दिन बितायौँ, ‘दुःखका दिन सम्झँदै उहाँले भन्नुभयो”, भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता थियो । अहिले घरबाटै गाडीले जति पनि सामान लैजान्छ । उनी बास बस्दै दुई दिनमा नारायणगढ पुगेको बताउछन् । 

    “अहिले बिहान गए बेलुका घरमै आइपुगिन्छ, सडक निर्माणले निकै सुविधा भएको छ”, उनले भने। मोटरसाइकल र साना गाडीमा गाउँ घुम्न आउने बढेको जनाउँदै आफूहरूलाई समेत रमाइलो लाग्ने गरेको सुनाए। 

    नौलो मान्छे देख्दा भाग्ने चेपाङलाई अहिले बजारसँग जोड्नका लागि यही सडकले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । “अब सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाउने गर्दिनुपर्छ”, उनले भने, “बाटो अलि साँघुरो छ । ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बढाउनुपर्छ ।” 

    यो सडकखण्डमा फिस्लिङदेखि उकालो लागेपछि करिब नौ किलोमिटर अझै कच्ची बाटो हिँड्नुपर्छ । माझगाउँबाट कालोपत्रे सुरू भएको बाटो तोलाङ कटेपछि बाँसपुरसम्मको करिब एक/डेढ किलोमिटर सबैभन्दा जोखिमयुक्त छ, जहाँ मोटरसाइकल चलाउन पनि मुस्किल पर्छ”, प्रजाले भने ।

    सडकले गाउँघरमा समृद्धि ल्याएको मायाटारका युवा टीकाबहादुर गुरुङ ताउछन् । सडक विस्तारपछि उनले घरबास (हामेस्टे) सञ्चालनमा ल्याएका छन् । उनलाई अहिले पाहुनाको स्वागत र सत्कारमा भ्याइनभ्याइ छ । गुरुङका अनुसार फिस्लिङ–शक्तिखोर सडकमा यात्रा गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

    मुग्लिन नारायणगढ सडकमा पुल निर्माणका लागि दिउँसोमा बन्द भएका कारण अझै बढी यो सडक प्रयोग गर्नेको सङ्ख्या बढेको गुरुङ बताउछन् । 

    यो सडकको विषयमा अझै कतिलाई थाहै नभएको भन्दै उनले अझै प्रचारप्रसारको आवश्यकता रहेको बताए। “धेरैलाई यो बाटो पनि यात्रा गर्न सकिन्छ भनेर थाहै छैन”, उनी भन्छन्, “सबैले थाहा पाउने हो भने सम्भव हुने जतिले यो बाटोलाई प्रयोग गर्न सक्छन् ।” 

    उनले गाउँमा आउने पाहुनाले स्थानीय उत्पादन किनेर लैजाने गरेको बताए। “गाउँमा उत्पादन भएको हरेक कुरा अहिले बिक्री हुन्छ”, उनले भने, “यहाँका स्थानीयले पनि पैसा कमाउने भएपछि जाँगर चलाउन थालेका छन् ।” 

    हपनीका किसान शेरबहादुर प्रजा आफ्नो पाखाभित्ताका हरेक उत्पादनलाई अचेल यही सडकको सहायताले बजार पुर्‍याउछन्। “हाम्रा लागि शक्तिखोर फिस्लिङ सडक वरदान बनेर उदायो”, उनले “यो सडक नहुँदा हामी बारीमा फल्ने तरकारी बस्तुलाई खोले दिन्थ्यौँ । अहिले बारीमै बिक्छ ।”

    उनका अनुसार हिउँद होस् या बर्खा, अचेल तरकारी लिन जाने गाडी टोलटोलमै पुग्छन्। पैसा हातहातै दिन्छन् । “सडकले सजिलो बनायो”, उनले थपे, “हामीले पनि बाँझो बारीमा तरकारी फलाउन थाल्यौँ, यसले विस्तारै सबैको आर्थिक अवस्थामाथि लाँदैछ ।” 

    गाउँ–गाउँसम्म विस्तार हुँदै गएको सडक सञ्जालले सर्वसाधारणको जीवनशैलीमा लगातार सकारात्मक परिवर्तन ल्याइरहेको छ । “केही वर्षअघिसम्म पनि हातमा रुपैयाँ-पैसा पार्न टाढाको बजार धाएर अन्नपात नै बेच्नुपर्ने बाध्यताका गाउँलेको अहिले बारीमै तरकारी बिक्छ, जसले किसानको क्रयशक्ति पनि बढाएको छ”, उनले भने। 

    इच्छाकामना –३ माझगाउँका किसान होमबहादुर गुरुङले सडक निर्माणपछि यहाँ उत्पादन हुने सुन्तलालगायतका फलफूल र तरकारी बजार लेजान समस्या नभएको बताए । 

    “सडकले विकासको लहर आउने रहेछ”, उनले भने, “पहिला हाम्रो क्षेत्रमा उत्पादन भएको सुन्तला बिक्री गर्न बोकेर राजमार्ग झार्नुपर्ने बाध्यता थियो”, अहिले बोटबाटै बिक्री हुन्छ । सडकको सहजता थपिएपछि स्थानीय किसानमा व्यावसायिक रुपमा खेती गर्ने धारणाको विकास भएको स्थानीय कृषक मनमाया गुरुङ बताउछिन् । 

    धेरै परिमाणमा उत्पादन गर्नसके बिक्रीको लागि कुनै पनि समस्या नरहेको कृषक उनको भनाइ छ । खास गरेर मानिसमा व्यावसायिक धारणा विकास नहुँदा देश कृषिमा पछि परेको उनको भनाइ छ ।

    सडक निर्माणपछि यस सडक आसपासका गाउँका अधिकांश किसान व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायमा लागेका छन । सडक सञ्जालको पहुँच बढेकै कारण यतिखेर यहाँका किसान व्यावसायिक बन्न सफल भएका छन् । 

    यसले उनीहरूको आर्थिक हैसियत बलियो पार्दै लगेको गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल, खसी बोका सिधै बजार झर्ने गरेको बताए । 

    “गाउँलेले भारी बोक्नुपर्ने बाध्यता हटेको छ”, उनले भने, “शाखा सडक टोलटोलमा पुगेका छन् ।” उनले शक्तिखोर फिस्लिङ सडकका कारण मायाटार, बाँसपुर, इच्छाकामना मन्दिर, माझगाउँलगायत आसपासका गाउँको मुहारनै परिवर्तन भएको बताए ।

    उनले सडक निर्माणकै कारण चितवनको पुरानो सदरमुकाम तथा एतिहासिक ठाउँ उपरदाङगढीमा समेत पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । 

    “पहिले यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गर्थे”, उनले भने, “अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन् ।” उनले सहज सडक सञ्जालकै कारण यहाँ नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर हेर्नका लागि विदेशी पर्यटकसमेत आउने गरेको बताए ।

    “यहाँका किसानले उत्पादन गरेको सबै कृषिउपज बजार ल्याउन सजिलो भएको छ”, उनले भने, “जसका कारण स्थानियको जीवनयापनमा सहजता आयो । इच्छाकामना गाउँपालिकाको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । यहाँ रहेका इच्छाकामना र पाथीभरा मन्दिरमा दर्शन गर्न आउने पनि बढेका छन । सडककै कारण इच्छाकामना मन्दिरमा त भारतीय पर्यटकसमेत आउन थालेका छन् । काठमाडौँ जाने वैकल्पिक सडकको रुपमा रहेको यस सडकले अझ बढी चेपाङको आयस्तरमा सुधार भएको उनी बताउँछन् । 

    यो सडकले चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकालाई जोड्छ । फिस्लिङबाट तोलाङ–बाँसपुर–मायाटार– तेर्से–उपरदाङगढी शक्तिखोर पुग्ने सडकले चेपाङ बाहुल बस्तीहरूलाई राजमार्ग र बजारसंग जोडेको छ । 

    इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले गाउँमा उत्पादन भएको चिउरी, फापर, कोदो, मकैलगायतका उत्पादन सहजै बजार जान थालेको बताए । उनले सडक निर्माणपछि दुखबिरामी हुँदा पनि सहजै भरतपुर पुग्न सकिएको बताए। दिनभर हिँड्नुपर्ने सडक दुई घण्टाको यात्रामा छोटिएको बताए । 

    निवर्तमान सांसद कृष्णभक्त पोखरेलले यो सडक निर्माणले एउटा आयोजना निर्माण मात्र नभएका जनाउँदै चेपाङ बस्तीमा पहिलोपटक कालोपत्रे पुगेको बताए । उनले यो सडकको दूरगामी महत्व बुझेर सडक निर्माण गरिएको बताए । 

    नेपालको सीमान्तकृत जातिको सूचीमा छैटौँ नम्बरमा चेपाङ जाति पर्छन् । यस क्षेत्रमा पनि अधिकांश चेपाङको बसोबास छ । त्यही बस्तीलाई आधार बनाएर यो सडक निर्माण गरिएको उनी बताउँछन्। आधारभूत शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई यो सडक वरदान सावित भएको उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार