images
images

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँः प्रमुख आयुक्त थपलिया

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँः प्रमुख आयुक्त थपलिया

सोमवार, फागुन ७ २०८०
सोमवार, फागुन ७ २०८०
  • निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँः प्रमुख आयुक्त थपलिया
    images
    images
     
    काठमाडौँ /'निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । 
     
    विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस मनाएको हो ।
     
    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गरे।
     
     आम मतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरूकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गर्न आग्रह गरे ।
     
    ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन,ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’को मूलमन्त्रलाई आत्मसात् गर्दै आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ । 
     
    वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवं राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार चार सय जनप्रतिनिधि निर्वाचित भएका आयोगले जनाएको छ । 
     
    आवधिक निर्वाचनद्वारा बालिग मताधिकारको प्रयोग, निर्वाचन प्रणालीको क्रियाशीलता तथा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह भएको छ ।
     
    निर्वाचनका माध्यमबाट नेपाली मतदाताले गोप्य मतदानद्वारा आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता छ । वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वःनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो रहेको उनकोभनाइ छ ।
     
    राजनीतिक दल, आम मतदाता तथा सरोकारवालासँग यस विषयमा निरन्तर संवाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग संवेदनशील रहेको आयोगको भनाइ छ । 
     
    विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचन ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी’ हुँदै आएको आयोगको दाबी छ । 
     
    आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी सुधारको पहल, निर्वाचनका क्रियाकलापमा नागरिकको पहुँच अभिवृद्धि, राजनीतिक दलको दर्ता र नियमनमा सुधार भइरहेको आयोगले उल्लेख गरेको छ ।
     
    निर्वाचन व्यवस्थापन एवं नागरिक शिक्षामा समन्वय र सहकार्य तथा निर्वाचनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन यस अवधिका देखिने र अनुभूत गर्न सकिने उपलब्धि हुन् ।
     
    निर्वाचन व्यवस्थापनमा अवलम्बन गरिएका अभ्यास, विधि, पद्धति र संयन्त्रबाट निर्वाचन प्रणालीका अन्तरनीहित चुनौतीका साथै सुधारका मार्ग पहिचान गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा नेपाल सरकारसमक्ष पेस गरिसकिएको आयोगको भनाइ छ ।
     
    निर्वाचनका लागि सार्वभौमसत्ता सम्पन्न मतदाता नै सर्वोपरी भएकाले मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणका लागि स्थानीय तहबाटै मतदाता नामावली सङ्कलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधिसमेत अगाडि बढाइएको छ । 
     
    निर्वाचनको सफलता निर्वाचन शिक्षाको व्यापकताले निर्धारण गर्दछ भन्ने कुरालाई हृदयङ्गम गर्दै स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर दैलोसम्म नै निर्वाचन तथा मतदाता शिक्षालाई सघन र प्रभावकारी बनाउन आयोग अग्रसर भएको छ । 
     
    संविधानमा उल्लेख भएको समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयन एवम् समावेशीभित्रको समावेशीता र लैङ्गिक सवालको सम्बोधन गर्ने गराउने पक्षमा आयोग क्रियाशील छ । राजनीतिक दलको आन्तरिक लोकतन्त्र तथा संस्थागत सुशासनको सुचक्र स्थापित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको छ ।
     
    यसैबीच, आयोगले निर्वाचन दिवसका अवसरमा वर्षेभरमा उत्कृष्ट कार्य सम्पादन गर्ने १२ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा आयोगका पाँच र मातहतका प्रदेश र जिल्लाका सात  जना  कर्मचारी हुनुहुन्छ । 
     
    आज आयोजित कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा जानकी तुलाधर र सगुन शम्सेर राणाले आयोगद्वारा प्रकाशित वार्षिक स्मारिक लोकार्पण गरे।
     
     उक्त स्मारिकामा निर्वाचनसँग जोडिएका १२ वटा लेख समावेश छ । सो अवसरमा आयुक्त डा तुलाधरले पछिल्लो समय निर्वाचनका माध्यमबाट मुलुक समावेशीकरणतर्फ उन्मुख भइरहेको बताए।
     
    आयोगका निमित्त सचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारी, राजनीतिक र निर्वाचनमा संलग्न राष्ट्रसेवक कर्मचारीका निष्ठा र दृढताका कारण निर्वाचन स्वच्छ, स्वतन्त्र र मितव्ययी निर्वाचन बन्दै गएको बताए।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार