images
images

भोजपुर र धनकुटा जोड्ने सुनवालुवा पक्की पुल निर्माण छ वर्षपछि पुनः थालियो

भोजपुर र धनकुटा जोड्ने सुनवालुवा पक्की पुल निर्माण छ वर्षपछि पुनः थालियो

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • भोजपुर र धनकुटा जोड्ने सुनवालुवा पक्की पुल निर्माण छ वर्षपछि पुनः थालियो

    अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ। 

    images
    images

    करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो । 
    यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो । 

    यहाँ पिलर उठाएपछि कामले गति लिन सकेको थिएन । तीन ‘इस्पान’मा निर्माण भइरहेको पुलको अहिले भने धनकुटातर्फको इस्पानको ढलानको तयारी गरिएको छ ।
     
    पहिलो इस्पानको ढलानको तयारीका साथ आवश्यक काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो इस्पानको रड बिछ्याउने तथा फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको ‘साइट इन्चार्ज’ नारायण चौधरीले बताए । 

    निर्माणस्थलमा प्रायः सम्पूर्ण सामग्री आइपुगेको उनको भनाइ छ । व्यारिङ, केवल पाइपलगायत सामान भारतबाट ल्याउनुपर्ने भएकाले त्यो सामग्रीमात्र आउन बाँकी रहेको उनको भनाइ छ । “हामीले यहाँ पुनः मङ्सिरबाट काम थालनी गरेका छौँ”, उनले भने, “अहिले धनकुटातर्फको पहिलो इस्पानको ढलानको तयारी गरेका छौँ । विगतमा कोभिडलगायत कारणले काममा बाधा पुगेको थियो । यो ढलानको काम चाँडै सक्ने लक्ष्य छ।”

    फुटपाथसहित ११ मिटर चौडाइ रहेको पुलको कुल लम्बाइ एक सय ८० मिटर रहेको छ । यहाँ भ्याटसहित रु २२ करोड ७५ लाख २८ हजार सात सय लागतमा पुल निर्माण थालिएको हो । पुलको पहिलो इस्पानको लम्बाइ ३७ दशमलव ५५, दोस्रो इस्पानको लम्बाइ ८० मिटर र तेस्रो इस्पानको लम्बाइ ५८ दशमलव ३८ मिटर रहेको छ ।  हालसम्म रु  १० करोड २९ लाख ११ हजार छ  सय ४२ भुक्तानी भएको छ ।
     
    सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या रहेको हतुवागढी गाउँपालिकाले जनाएको छ । यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । विगतमा सोचेअनुसार प्रगति नदेखिए पनि हाल भने कामले निरन्तरता पाएको उनको भनाइ छ ।

    “यो स्थानमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या छ”, अध्यक्ष राईले भने, “यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोगसँगै पहलकदमी गरिरहेको छ । पुलले हाम्रो गाउँपालिकाको विकासमा टेवा पुग्ने छ ।”

    बीचमा धेरैपटक काम रोकिएर अलपत्र अवस्थामा रहेको पुल निर्माण पुनः सुरु भएपछि उत्साह थपिएको स्थानीयवासी समाजसेवी धनहर्क राईले बताए । निर्माणको कामलाई चाँडो सम्पन्न गराउन सरकार पनि गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

    “सुनवालुवा पुल हाम्रो बहुप्रतिक्षित योजना हो”, उनले भने, “सुुरुमा २६ महिनामा सम्पन्न गर्ने भनिएको थियो । तर काम भने अलपत्र बनेको थियो । हाल आएर काम सुरु भएको छ । अब भने पुल बन्छ भन्ने आशा जागेको छ । पुललाई समयमा सम्पन्न गराउन राज्य गम्भीर बन्न आवश्यक छ ।”

    यो पुलले भोजपुरको हतुवागढी–६ होम्ताङ र धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगालाई जोड्ने छ ।  यो पुल सुरुमा २६ महिनामा सम्पन्न गर्ने सम्झौता भएको थियो । 

    सो समयमा सम्पन्न नभएपछि चारपटक म्याद थपिएको थियो । यसको पछिल्लो थप भएको म्याद २०८० असार २२ गतेसम्म रहेको थियो । यो थपिएको म्याद पनि सकिएको छ । 

    हाल कामलाई निरन्तरता दिएर म्याद थपको प्रक्रिया भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुमित ठाकुरले बताए । हालसम्म यो पुल निर्माणको भौतिक प्रगति ७० प्रतिशत रहेको उनको भनाइ छ ।  भौगोलिक विगटताका कारण काम गर्न समस्या रहेको उनले बताए । यो पुल पूर्णरूपमा सम्पन्न हुनका लागि अझै साढे दुई वर्ष समय लाग्ने उनको भनाइ छ ।

    “हामीले पुल निर्माणको कामलाई निरन्तरता दिएका छौँँ”, उनले भने, “भौगोलिक विकटताका कारण काम गर्न कनिठाइ छ । एक वर्षमा चार महिनामात्र राम्ररी काम गर्न सकिन्छ । 

    यसरी हेर्दा पुललाई पूर्णरूपमा सम्पन्न गराउन अझै साढे दुई वर्ष समय लाग्ने देखिन्छ । पुललाई चाँडो सम्पन्न गराउन हामीले कामको गति बढाएका छौँ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार