चर्चित समाचार
  • बाम विचार पछ्याएका साहित्यकार डा. आचार्यको पूर्वीय दर्शनमा मोह

    बाम विचार पछ्याएका साहित्यकार डा. आचार्यको पूर्वीय दर्शनमा मोह

    “पूर्वीय सनातन संस्कृतिमाथि पाश्चात्य संस्कृति हावी हुँदा सनातन संस्कृतिका वैज्ञानिक पक्षमाथि घात भइरहेको भनाइ छ ।”

    शुक्रवार, चैत २ २०८०
    शुक्रवार, चैत २ २०८०
  • बाम विचार पछ्याएका साहित्यकार डा. आचार्यको पूर्वीय दर्शनमा मोह

    बाल्यकालमा दियालोको धिपधिपेमा कखरा सिक्दै गर्दा साहित्यकार तथा राष्ट्र बैङ्कका अफिर्सस डा. भागवत आचार्यले चमचमाउदो सहरको कल्पना गरेका थिएनन् । न त मुलुककै केन्द्रीय बैङ्कमा जागिरे हुने सपना देखेका थिए ।

    खोटाङको खान्तेलमा हुर्किएर झापा हुँदै राजधानी काठमाडौँ प्रवेश गरेका उनलाई आफ्नो अतितको पाना भने कुनै सपनाजस्तै लाग्छ । जीवन यात्रालाई नियाल्दै उनी भन्छन्, “विकट गाउँमा लेकबेसीँ, घाँस दाउरा गर्दै हुर्किएको मान्छे कसरी उछिट्टिएर यहाँसम्म आइपुगेँ होला !” 

    त्यसो त ०५४ सालमा विश्यनामा गइसकेपछि जीवनप्रतिको धारणा परिष्कृत हुँदै गएको अनुभव छ उनलाई । आखाँले देख्ने कुराहरू केही समयका लागि मात्रै सीमित भएको उनको बुझाइ छ । 

    “म भनेको को हुँ,” आचार्य प्रश्न गर्छन्, “कहाँबाट म आएको हुँ ?” “भोलि गएर कहाँ टुङ्गो लाग्ने हो भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ,” अर्थ डबलीको साहित्य डबलीसँगको कुराकानीमा आचार्य भन्छन्, “हामीले देख्ने कुराहरू केही समयका लागि मात्रै हुन् । केही समयपछि समाप्त हुन्छ ।”

    लेखन र जागिरे जीवनलाई सँगसँगै डोर्याइरहेका उनी पूर्वीय दर्शन, बुद्ध दर्शन तथा किराँती सभ्यतासँग निकट छन् । 
    विपश्यनापछि अध्यात्मको सार वैज्ञानिक हिसाबले बुझ्ने मौका मिलेको उनी बताउँछन् । 

    पूर्वीय पद्धतिलाई बुद्ध दर्शनले अझ मजबुत बनाउँछ । ०४६ को राजनीतिक परिवर्तनपछि मुलुकमा विकास र परिवर्तन देखिए । तर, समाज विकृत र भ्रष्टीकरण बन्दै गइरहेकोप्रति उनको चिन्ता छ । 
    “संस्कार, सभ्यता, संस्कृति जुन विश्वमा पहिचान बन्यो त्यो हामीले भुल्दै गइरहेका छौँ,” उनले भने, “भौतिक विकाससँगै मानवीय विकासका विषयहरू पनि आउनुपर्दछ ।”

    अवकाश प्राप्त गरेपछि साहित्यलाई थप उचाइ दिने र पूर्वीय जीवन पद्धति, सभ्यता तथा नेपालीको गुण गरिमालाई प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गर्ने उनको योजना छ । 

    amanlal modi - samsad.JPG

    उनले लेखेको कविता जस्तै उनी पनि जीवनलाई उज्यालो यात्राको नाम दिन्छन् । अतितमा फर्किन्छन् मुस्कुराउँछन् आफैँसित । आफुले बाँचेको जीवन सुन्दर कथा जस्तो । 
    ...........
    जीवन एक उज्यालोको यात्रा हो
    यस यात्राका लागि
    सृष्टिसँगै प्राप्त यस धरतीलाई
    बमबारुदको अकाट्य सन्त्रास होइन
    हरेक जिजीविषा र सुन्दर मनहरूमा
    आफ्नो प्रतिबिम्ब खोजौं । (मनलाई सम्बोधन, पृ.४०)

    किराँती सभ्यतासँग नजिक तर, आर्या सभ्यताको ज्ञान

    खोटाङ जिल्ला मूलतः किराती सभ्यतासँग जोडिएको जिल्ला हो । किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध यहाँ किराँती समुदायको विकास राम्रो प्रभाव छ । तर, साहित्यकार तथा राष्ट्र बैङ्कका उपनिर्देशक भागवत आचार्य भने आर्य संस्कृतिसँँग नजिक  भए । यसको प्रमुख कारण उनको परिवार थियो ।  

    पुरोहित परिवारमा जन्मिएका उनले सानैदेखि बुवा (स्व. नारायणप्रसाद आचार्य) र आमा (नर्वदादेवी आचार्य) बाट  धार्मिक÷आध्यात्मिक ज्ञान प्राप्त गरे । आफ्नो धर्म संस्कृतिलाई आत्मसाथ गर्दै बाबुको बिँडो थाम्दै समाउँदै रुद्री चण्डी पढ्न हिँडे ।

    कामको दुःख भए पनि कान्छो छोरो भएकोले आफू बुवाआमाको लाडप्यारमा हुर्किएको अनुभव छ उनलाई । त्यतिबेला पढेका रुद्री, चण्डी, सिकेका धर्म संस्कृतिबारे अहिले अध्ययन अनुसन्धान गर्न सहयोगी बनेको उनी बताउँछन् । 

     

    “बुवाले ज्योतिष, गुरु पुरोहितको काम गर्नुहुन्थ्यो । उहाँ (बुवा)को काम सघाउनु मेरो दायित्व थियो । बुवालाई सघाउन त्यतिबेला रुद्री÷चण्डीहरू पढियो, कण्ठ पारियो, यस्तै धर्म संस्कृति, संस्कारका धेरै काम गरियो,” यजमानहरूले सानो गुरु पनि भन्थे । ती कुराहरू अहिले मलाई अनुसन्धान गर्न निकै सहयोगी भएका छन् ।”
    धर्म संस्कृति अनुसार त्यो समय गुरु पुरोहित अरुले पकाएको खाँदैन थिए । खाना खाँदा धोती फेर्नुपथ्र्यो । जन्त जाँदा धोती बोकेर गएको, यात्रा गर्दा बाटोमा आफैँ खाना पकाएर खाएको सम्झना ताजै छ उनलाई । 

    विकट गाउँबाट उछिट्टिएर राजधानीसम्म आउनु उनको लागि सामान्य थिएन । यसको श्रेय उनी बुवाआमाको योगदान र आशिर्वादलाई दिन्छन् । 
    “त्यो विकट गाउँ जहाँ मैले दियालो बालेर पढेको छु । मट्टीतेल पैँचो मागेको छु । छिमेकीको घरमा आगो माग्न गएको छु । हातमा पाटी बोकेर चौतारामा पढ्न गएको छु,” साहित्यकार आचार्य नोस्टाल्जिक हुन्छन् । 

    पढ्नुपर्छ, ठुलो मान्छे बन्नुपर्छ भन्ने थाहा भइकन पढे उनले । अरुले पढ् बावु, ठुलो मान्छे बन्नुपर्छ नभनीकन पढे उनले ।  खेत खन्ने, रोप्ने, बाउसे गर्ने, दुहुने, तताउने, घाँस काट्ने, खाना बनाउने सबै काममा दख्खल राख्थेँ आचार्य । बेँसीबाट धानको भारी बाकेर घण्टौ हिँडेर घर आउनुपथ्र्यो । 

    “कहिले घाँस काटेर, कहिले खाना बनाएर पढ्न जानुपथ्र्यो । पढाइ र होमवर्क कहिल्यै प्राथमिकतामा परेनन्” उनी सम्झछन् “गुरुहरूको पिटाइ खाने डरले होमवर्क गरियो तर पढाइचाहिँ स्कुलमा मात्रै सीमित हुन्थ्यो ।”
    त्यतिबेला सामुदायिक रूपमा छुवाछुतको भावना कायमै भए पनि पढाइमा भने विभेद थिएन । आफूसँग पढेका दलित समुदायका केही साथीहरूले गरेको प्रगति देखेर उनलाई गर्व लाग्छ । 

    साहित्य यात्रा : श्लोक बाचन, कविता लेखनदेखि कृति प्रकाशनसम्म 

    संस्कार, स्वभाव, बानीले व्यक्तिहरूले रुचिको क्षेत्र निर्धारण गर्दो रहेछ । पहाडी जीवनशैली लोकसाहित्यको निकट अवश्य नै हुन्छ । 
    त्यतिबेला गाउँघरमा साहित्यिक माहोल हुँदैन थियो । साहित्यक पुस्तक र पत्रपत्रिका हुँदैन थियो । पाठ्यपुस्तकमा भएका लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटालगायतका साहित्यकारहरूको रचना विद्यालयमा पढाइन्थ्यो, पढिन्थ्यो । साहित्यमा रुचि हुनेले तीन नै रचनाहरूलाई प्रेरणा मान्थे । धार्मिक आध्यात्मिक वातावरणमा हुर्किएका आचार्यले सानैदेखि पिताजीद्वारा श्रीमद्भागवत्, कृष्णचरित्र, महाभारत लगायतका ग्रन्थका श्लोकको वाचन सुने । ती श्लोकहरू उपनिषद्, श्रीमद्भगवद्गीता, ब्रह्मसूत्र आदि ग्रन्थका थिए । 

    कतिपय चण्डी, रुद्री आदि ब्रह्मकर्मका तथा देवीदेवताका स्तुतिपरक श्लोकहरू सस्वर वाचनको लयचेतनाबाट प्रभावित भएको उनले बताए । त्यस्तै, पहाडी जीवनका लोकसाहित्यिक सामग्रीको सस्वरवाचन, गायन तथा प्रदर्शनमा सहभागिता तथा दृश्यावलोकनले पनि साहित्यिक चेतना निर्माणमा भूमिका खेलेको उनको बुझाइ छ । 

    गाउँबेसी, मेलापात, हाटबजार, जात्रा आदि सन्दर्भमा प्रस्तुत हुने लोकगीत, बालन, मारुनी लाखेनाच आदिको प्रस्तुति पनि आचार्यको मनमस्तिष्कमा साहित्यिक संस्कार भर्ने माध्यम थिए । बिहाबटुलोमा रात्रिको समयमा दोहोरीशैलीको श्लोकवाचनमा सरिक हुन्थे उनी । 

    amanlal modi - samsad.JPG

    विद्यालय पढ्दै गर्दा नै कविता लेखन सुरु गरेका आचार्यको साहित्य यात्रा भित्ते पत्रिका, पत्रिका हुँदै पुस्तक लेखनसम्म आइपुगेको छ । आचार्यको हालसम्म कविता सिद्धान्त र नेपाली कविता, स्नातक अनिवार्य नेपाली,  मनलाई सम्बोधन, विद्यार्थीसँग नेपाल राष्ट्र बैङ्क, समृद्धितिर , उज्यालोतिर, र सुरुचीलगायतका कृति प्रकाशित छन् भने सयौँ पुस्तक तथा पत्रपत्रिका सम्पादन गरेका छन् । 

    मोदनाथ प्रश्रितका प्रबन्ध काव्यमा दर्शन (२०७४) उनको विद्यावारिधि अनुसन्धान ग्रन्थ भने विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा उनका कविता, गीत, गजल, निबन्ध, संस्मरण, नियात्रा तथा आर्थिक लेखहरू प्रकाशित छन् ।

    साइकलको दृश्यपानदेखि जीवनमा पहिलो पटक गाडी चढ्दाको अनुभव

    गाउँ घरका लागि त्यतिबेला गाडी देख्नु मात्रै नभइ गाडीको विषयमा सुन्नुसमेत दुलर्भ कुरा थियो । 

    मामाघर (सुनसरी) जाँदा उदयपुर जिल्लाको बेल्टार बाटैमा पर्छ ।  त्यहाँ पहिलो पटक साइकल देखेर चकित भएको मिठो अनुभव छ उनलाई । “दाजुले मलाई ‘त्यो के हो ?’ भनेर सोध्नुभयो । साइकल निकै ठुलो हुन्छ भन्ने अनुमान लगाएको मैले जवाफ दिन सकिनँ । मेरो मौनतालाई चिर्दै दाजुले “तँ मूलाले साइकल पनि चिनिनस्” भन्नुभयो । अहो ! साइकल त कत्ति सानो हुँदै रहेछ भन्ने भयो,” उनी भन्छन् ।  

    यस्तै, अर्को घटना कहिल्यै बिर्सदैनन् उनी, पहिलो पटक गाडी चढ्दाको । सप्तरीको फत्तेपुरमा गाडी चढ्ने ठाउँ, त्यहाँबाट ट्रयाक्टरहरूले सामान लिएर बेल्टार जान्थ्यो । “सुत्न लागेको बेला सामान लिएर ट्रयाक्टर आयो । दाजुहरू (हाम्रो यात्रामा भएको अर्को समूह)ले फत्तेपुरसम्म ट्रयाक्टरले लगिदिए जाऔँ भनेर सल्लाह गर्नुभयो र हामी ट्रयाक्टरमा फत्तेपुर आयौँ । जीवनमा पहिलो पटक गाडी (ट्रयाक्टर) चढेर हामी त्रियुगा खोलाको बगर हिड्यौँ । यो २०४२ सालको कुरा हो,” उनले भने, “करिब ८–९ किलोमिटर बाटो ट्रयाक्टरले थचार्दै लग्यो तर पहिलो अनुभव भएकोेले त्यो आनन्द, त्यो मज्जा अहिले बोइङ चढ्दाको भन्दा निकै मिठो लाग्छ ।”

    amanlal modi - samsad.JPG

    यसरी मामाघर जाँदा त्यो दिन पाटीमा बास पाएको सम्झन्छन् उनी ।  फत्तेपुरमा आफन्त हुनुहुन्थ्यो रुद्रप्रसाद आचार्य । उहाँ प्रहरी हुनुहुन्थ्यो । उहाँको सहयोगमा हामीले त्यो दिन पाटीमा बास पायौँ । नत्र त्यतिबेला कोशीको गढतिर हिड्दा छानो लगाको घर पाइदैन थियो, रुखको फेदतिर बस्नुपथ्र्यो । यात्रामा हामी आफैँले खाना बनाएर खान्थ्यौँ । त्यतिबेला होटलको चलन थिएन । त्यसमाथि हामी गुरु पुरोहित परिवारको भएको कारणले आफैँ खाना बनाएर खान्थ्यौँ ।”

    विद्यालय जीवनमा उनको बद्मासी भने धेरै रहेनछ । शान्त स्वभावका आचार्य साथीको लहलहैमा भने दौडिन भ्याएछन् । उट्फट्याङ हर्कत नगर्ने उनी साथी सङ्गतमा छिमेकीको बारीको कचिला लिच्ची टिप्दा भएको ग्लानी र अरुको घरमा काँक्राको खल्पी खाएको कारण गालीबाट बच्न भागी हिँडेनु परेको सुनाउँछन् । 

    खोटाङदेखि झापा चन्द्रगढीको यात्रा 

    १२ बर्ष अर्थात ८ कक्षासम्म खान्तेलमा पढेपछि उनी खार्पाको हाइस्कुलमा भर्ना भए । जहाँ उनको दिदीको घर थियो । “खार्पा, पोख्रेलहरूको बसोबास भएको शिक्षित बस्ती थियो । त्यहाँको विद्यालयमा धेरैतिरबाट विद्यार्थीहरू पढ्न आउँथे जसले पढाइमा निकै प्रतिस्पर्धा हुन्थ्यो घुलमिल पनि त्यतिकै । मैले २०४३ सालमा त्यहिँबाट एसएलसी दिएको हुँ,” उनले भने । 

    त्यतिबेला सञ्चारको माध्यम रेडियो मात्रै थियो । मानिसहरूमा राजनीतिक चेतना विकास हुने क्रम थियो । विद्यालयहरूमा राजनीतिक सङ्गठनहरू गठन हुन्थे तर आचार्यले वास्ता गरेनन् । पढाइमा केन्द्रित भए । एसएलसीपछि आइए पढ्न दिक्तेल गएपछि भने राजनीतिप्रति चासो बढेको उनी बताउँछन् । आचार्यले भने, “दक्षिणपन्थी, बामपन्थी भन्ने कुराहरू बुझेँ । म पनि अनेरास्ववियूमा आबद्ध भएको थिएँ ।”
     
    खार्पाका दिदी तराई झर्नुभएपछि भने उहाँहरूको सहयोगमा २०४७ सालमा उनको परिवार झापाको चन्द्रगढी बसाइँ सर्यो । त्यसबेला मुलुकमा प्रजातन्त्र आइसकेको थियो । पञ्चायत कालिन समय र प्रजातन्त्र आएपछिको समयका बिचमा म आफूले पनि ठुलो फरक रहेको अनुभूत गरेको उनी बताउँछन् । “तराई झरेपछि यातायात, शिक्षा, सूचना, सञ्चार, विकास, समृद्धिआदिसँग साक्षात्कार हुने मौका मिल्यो । म ब्याचलर पढ्दै थिएँ । विश्वप्रकाश शर्माहरू मेची क्याम्पसमा गएर भाषण गर्दा हामी दङ्ग पथ्यौँ । यता विद्यालय स्तरदेखि नै मेरो लेखन चलिरहेको थियो । ब्याचलर पढ्दा भित्ते लेखन सुरु भयो ।”  

    बुवाको इच्छा र जागिरको अवसर

    कुरा आइए पढ्न दिक्तेल क्याम्पसमा भर्ना भएपछिको रहेछ । क्याम्पस भर्नापछि उनी पहिलो पटक घर पुगेका थिए । 

    “छोरोले के पढिरहेको खासै चासो नदेखाउनु हुने बुवाले ‘तैले के पढिस् ?’ भनेर सोध्नुभयो । इकोनोमी, पोलिटिकल साइन्स र हिस्ट्री विषय अध्ययन गरिरहेको बुवालाई बताएँ । बुवाले फेरि सोध्नु भयो ‘त्यो पढेपछि के बन्न सकिन्छ ?’ मैले अनकनाउँदै उत्तर दिएँ– त्यो पढेपछि खरदार, सुब्बा जे पनि हुन सकिन्छ, पढाउन पनि सकिन्छ भन्ने उत्तर दिएँ ”मेरो जवाफले बुवा केहीछिन घोरिनु भयो तर फेरि सोध्नुभयो, ‘तैले त्यो बैङ्कमा जागिर खानेचाहिँ पढिनस् बाबु ।’ मैले बुवाको मन राख्नलाई भनिदिएँ – बैङ्कमा पनि जागिर खान पाइन्छ” नोस्टाल्जिक बने आचार्य ।

    बुवालाई उत्तर दिँदै गर्दा उनले सोचकै थिएनन् एक दिन बैङ्कमा जागिर खानेछु । मैले पढेको विषयले मलाई एक दिन बैङ्कको जागिरे बनाउनेछ । तर, समयसँग बग्दै गर्दा अनन्त उनी मुलुककै केन्द्रीय बैङ्कमा जागिरे बने । यो संयोगलाई मेहनत, भाग्य, अवसर या बुवाको इच्छा तथा आशिर्वादको प्रतिफल के भन्ने उनले अहिलेसम्म भेउ पाउन सकेका छैनन् । उनी भन्छन्, “मैले राष्ट्र बैङ्कमा फर्म भर्दा साइन्स पढेका, म्यानेजमेन्ट पढेका, काठमाडौँका महँगा स्कुल क्याम्पस पढेकाहरू प्रतिस्पर्धी थिए । दशौँ हजारले परीक्षा दिएकामा ९६ जनामा म पनि परेँ । बुवाको आर्शिवाद र आकांक्षाले मलाई यो अवसर जुराएको जस्तो आज मलाई लाग्छ ।”

    साहित्य लेखन र बैङ्कको जागिर

     
    एमए पढ्दै गर्दा नेपाल राष्ट्र बैङ्कमा जागिरे भएका उनी आफ्नो स्वभाव र संस्कारमा भने साहित्य भएको बताउँछन् । विभिन्न साहित्यिक, आध्यात्मिक तथा सामाजिक सङ्घ संस्थाहरूमा संलग्न आचार्यको मुख्य कार्यक्षेत्र नेपाल राष्ट्र बैङ्क हो । विद्यावारिधि (नेपाली) गरेका आचार्यले एम.ए. - अर्थशास्त्र (प्रथम श्रेणी) तथा बी.एड.सम्मको शिक्षा हासिल गरेका छन् । बैङ्कको जागिरसँगै उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत १६ वर्ष प्राध्यापनसमेत गरे ।

    हाल साहित्य क्षेत्रमा स्थापित भइसकेका उनी ०५३ सालमा आयोग पास गरेर जागिरे भएको बताउँछन् । उनी जागिर छोडेर साहित्य क्षेत्रमा स्थापित हुन प्राध्यापन पेशामा आउन चाहान्थे । त्यसैले प्राध्यापन सुरु गरेका थिए । उनी भन्छन्, “सायद, मलाई त्यो जुरेको थिएन । यता (राष्ट्र बैङ्क) सम्भावनाहरू खुल्दै गए उता (विश्वविद्यालय) स्थायी हुने सम्भावना भने परिस्थितिसँगै साँघुरो बन्दै गयो ।”

    इकोनोमीमा पनि मास्टर्स गरेपछि उनी राष्ट्र बैङ्कमा अफिसर भए । त्यसपछि भने राष्ट्र बैङ्कमै केन्द्रीत भएको उनी बताउँछन् ।

    साहित्यमा रुचि भएपछि सिर्जनाका लागि समय छुट्याउनु पर्दैन र त्यसैसँग सम्बन्धित पेसा हुनुपर्छ जस्तो लाग्दैन आचार्यलाई । अफिस, घर, यात्रा जुनसुकै ठाउँमा पनि सिर्जनाको माध्यम बन्न सक्ने उनको अनुभव छ । 
    राष्ट्र बैङ्कमा साहित्यिक पत्रिका ‘मिरमिरे’ २०२९ सालदेखि प्रकाशित भइरहेको छ । त्यहाँ उनले सम्पादनको जिम्मेवारी पाए । जसले गर्दा जागिर सँगसँगै साहित्यिक क्षेत्रमा सम्पर्क, लेखन र अनुसन्धान पनि सँगै बढाउन सहज भएको उनको अनुभव छ । 

    amanlal modi - samsad.JPG

    भविष्यमा साहित्य लेखनसँगै सनातन धर्म, अध्यात्म, संस्कृतिसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने इच्छा रहेको उनी बताउँछन् । 
    जागिरपछि उर्मिला पोखरेलसँग उनको विवाह भयो । बृद्धावस्थाका बुवाआमालाई हेर्नुपर्ने दायित्व थियो । बुवाआमालाई सँगै राख्नका लागि काठमाडौँको बानेश्वरमा स्थायी बास बन्यो । अहिले आमा ९५ बर्ष उमेरकी आमा हुनुहुन्छ, बुवा हुनुहुन्न ।”
     
    मनुष्य जीवन र कर्म 


    मनुष्य जीवनको सार भनेको ईश्वरलाई जानेर मात्रै मानिसले परित्याग गर्नुपर्छ भन्ने हो । “म भनेको को हुँ ? बुझ्न जरुरी छ, जान्नुपर्दछ । अविनाशी तत्त्व, जसले हामीलाई उर्जा दिइरहेको छ त्यो के हो त ? बालखकालदेखि अहिलेसम्म सिकेको/जानेको/कण्ठ पारेको कुरा अहिले अनुसन्धान गर्दैछु,” उनले भने, “म र मेरो भन्ने कुरा नै फरक रहेछ । हामीभित्र रहेका रिसराग, द्वेष, बासना, घमण्डलगायतका विकारहरू जो संस्कारको रूपमा छन् त्यो त्याग्नुपर्दछ ।” 

    मानिसहरूको मनोविज्ञान र संस्कार भ्रष्टिकरणतर्फ गइरहेको उनले तितो पोखे । “यसलाई हेर्ने, अभिव्यक्त गर्ने, कलम चलाउने एउटा पाटो हुनसक्छ उपचार भने यो होइन, उनले भने, हामी मनैदेखि संस्कारी, सुसंस्कृत हुनुपर्दछ । हाम्रो संस्कार, सभ्यता, संस्कृति जुन विश्वमा पहिचान बन्यो त्यो हामीले भुल्दै गइरहेका छौँ । हाम्रा नैतिकता, आचरण भ्रष्ट बनेको छ,” आचार्यले भने ।  

    उनका अनुसार कानुन दुई किसिमको हुन्छ । एउटा प्रकृतिको र अर्को राज्यले बनाएको निर्मित कानुन । सबैभन्दा ठुलो कानुनचाहिँ आत्मिक खबरदारी भएको उनको बुझाइ छ । आचार्य थप्छन्, “बाहिरको कानुनचाहिँ छल्न सकिने रैछ । आत्मिक कानुन सकिदैन । त्यो हामीले गुमायौँ । निर्माण गर्नुपर्नेचाहिँ आत्मिक कानुन नै हो ।”

    धर्म, वेद, गीता, ग्रन्थका ज्ञानका विषयहरू अहँकारले गर्दा विकृत बनाइएको उनको बझाइ छ । 

    पूर्वीय सनातन संस्कृतिमाथि पाश्चात्य संस्कृति हावी हुँदा सनातन संस्कृतिका वैज्ञानिक पक्षमाथि घात भइरहेको उनको भनाइ छ । पछिल्लो समय मानव जीवनको अमूल्य सम्पदामाथि कुठाराघात भइरहेको अवस्थामा यसतर्फ सबै सजग हुनुपर्ने स्थिति रहेको आचार्य बताउँछन् । 

    आचार्यका अनुसार धार्मिक हुनु भनेको राम्रो÷असल हुनु हो । यो नराम्रो हैन । रुढीबाढी र परम्पराको आधारमा धर्मलाई विकृत हुन दिनुहुँदैन । “धर्मलाई अफिम मान्ने राजनीतिक नेतृत्वहरू पनि अहिले हाम्रो दर्शन समाजप्रति सकारात्मक हुनुहुन्छ । समाजलाई सुधार्नैपर्छ,” आचार्य भन्छन्,

    प्रकृतिको आत्मसाथ गर्नु नराम्रो हो र ! बरु अधिकार खोज्ने, कतव्र्य पूरा नगर्ने भयौँ ।  उनी प्रश्न गर्छन् । कहिँकतै साहित्यले पनि बाटो बिराएको हो कि ?” 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार