images
images

सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीको विचार– एलन मस्कको जीवनबाट सिक्ने कि ?

सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीको विचार– एलन मस्कको जीवनबाट सिक्ने कि ?

एलन मस्कको जीवनबाट पाइने आठवटा सन्देश के–के हुन् ?

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीको विचार– एलन मस्कको जीवनबाट सिक्ने कि ?
    काठमाडौँ / समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान् । वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी । 
     
    उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता र ती सफलताका लागि गरेको सङ्घर्ष तथा लगानीकर्ताको मन जित्नमा पाएको सफलता हेर्दा उनको प्रगतिमा रिस गर्नेहरु पनि कम छैनन् । 
     
    उनी इन्जिनियर मात्र होइनन् कि नवीकरणीय ऊर्जाबाट चल्ने सवारी साधन एवम् मानवतामैत्री आर्टिफिसियल इन्टेलिजेन्सका समेत वकालतकर्ताका साथै लगानीकर्ता समेत हुन् । 
     
    उनले नयाँ नामकरण गरेको एक्स अर्थात् ट्विटर एउटा चर्चित नेटवर्क साइट हो । ट्विटर र टेस्ला कम्पनीका माध्यमबाट सङ्कलित डाटा पनि समग्र विश्वकै लागि एउटा ठूलो स्रोत हो, ऊर्जा हो । प्रविधिलाई साधन मान्ने हो भने डाटा चाहिँ सो साधनमा प्रयोग हुने इन्धन वा ऊर्जा नै हो ।
     
    सन् २०२३ सेप्टेम्बर १२ मा एलन मस्कको बायोग्राफी बजारमा आयो । जीवनी पुस्तक उनले आफैँले भने लेखेका होइनन् । उनका बारेमा जानकारी राख्ने र एकनामी लेखकको चिनारी बनाइसकेका व्यक्तिले प्राप्त सूचनाका आधारमा उक्त बायोग्राफी तयार पारेका हुन् । 
     
    सिएनएन र टाइमका पूर्वकार्यकारी अधिकृत वाल्टर आइज्याक्सन नै ती व्यक्ति हुन् जसले मस्कको बायोग्राफी तयार पारे । उनै व्यक्तिले यसअघि पनि लियोनार्दो द भिन्ची, बेन्जामिन फ्रान्कलिन, अल्बर्ट आइन्सटा इन, स्टिभ जब्सको समेत जीवनी लेखन गरिसकेका छन् ।
     
    विद्युतीय सवारी साधन, निजी तवरबाट अन्तरिक्षको खोजी र आर्टिफिसियल इन्टेलिजेन्सको दबदबाको समयमा यी तीनवटै विषयमा लगानी गरी सफल समेत भएका टेकआइकन हुन् एलन मस्क । 
     
    दक्षिण अफ्रिकाको प्रिटोरियामा सन् १९७१ जुलाई २८ मा जन्मेका उनी १७ वर्षको उमेरमा क्यानडा र पछि अमेरिकामा बसोबास गरेका हुन् भने उनले गरेको खोज, अध्ययन, जोखिमसहितको काममा रमाउने र लगानीबाट भएको प्रतिफलकै आधारमा संसारकै धनी व्यक्ति समेत बन्न सफल उनी सन् २००८ यता निरन्तर चर्चामा रहन सफल छन् ।
     
    एलन मस्क संलग्न रहेका कम्पनी
     
    भनिन्छ कि उनी कलेज पढ्दै गर्दा ब्लास्टर नामक सफ्टवेयर बनाएर बेचेका थिए । उनले लगानी गरेको पहिलो कम्पनी जिपटु हो जसलाई कम्प्याक कम्पनीले खरिद गरेको थियो । 
     
    तत्पश्चात् सुरुमा एक डटकम नाम रहेको र पछि पेपल नामकरण भएको कम्पनीको खासगरी वित्तीय विश्वमा बदलाव ल्याउने उद्देश्यका साथ स्थापना भएको थियो । दुई वर्षमा दुई लाखभन्दा बढी प्रयोगकर्ता भए । आफ्नो उद्देश्यमा कम्पनी सफल भयो र पछि त्यो कम्पनी पनि ठूलो रकममा बिक्री भयो ।
     
     यसपछि उनी लसएन्जल्स गए, जहाँ उनले आफ्नो रुचि रहेको अन्तरिक्ष यान सम्बन्धमा अध्ययन गर्न र काम गर्न पाए । उनले अन्तरिक्ष यानसम्बन्धी कम्पनी स्पेश एक्सको स्थापना सन् २००२ मा गरे । सफल प्रयोगपछि नासाले पनि उनको कम्पनीलाई समेत सहकार्यका लागि अनुमति दियो ।
     
    न्युरालिङ्क पनि मस्कले अघि बढाएको एउटा परियोजना हो, जसमा मानव ब्रेनमा माइक्रो चिप्स जडान गर्ने लक्ष्य लिइएको थियो । यसको पहिलो प्रयोग सफल भएको भनेर उनले सन् २०२४ जनवरी ३० मा पुष्टि गरेका छन् । 
     
    यसको लागत सम्बन्धमा विवादहरु भएता पनि अमेरिकी डलर १० हजारमा एउटा चिप्स जडान हुने बताइएको छ । त्यसैगरी, इन्टरनेट सेवालाई सरल र सहज बनाउनका लागि उनले लोअर्विट स्याटेलाइटका रुपमा स्टारलिंक सञ्चालनमा ल्याएर यसमा जोडिन विश्वव्यापी रुपमा आग्रह समेत गरेका छन् ।
     
    एआईका सम्बन्धमा पनि उनको चासो छ । जुनसुकै प्रविधि आफैँले राम्रो काम गर्दैन यसका लागि त मानवीय सक्रियता आवश्यक पर्दछ । यदि हामी सजग भएनौँ र सुरक्षाका प्रवन्ध अपनाएनौँ भने एआइले मानवलाई प्रतिस्थापन गर्ने जोखिम छ ।
     
    उनी संलग्न रहेको ओपन एआईको रिसर्च ल्याव स्थापनाको लक्ष्य भनेकै एआईलाई मानव हित हुने गरी सुरक्षित तबरले विकास गर्ने सम्भावना बढाउनु हो । मस्कको विचारमा एआईको दुरुपयोग गर्नबाट रोक्ने सबभन्दा गतिलो उपाय भनेको बढीभन्दा बढी मानिसहरुको सशक्तीकरण गर्नु हो ।
     
    भनिन्छ कि उद्यमी हुने हो भने जोखिम लिन डराउन हुँदैन । मस्क जोखिमयुक्त काम गर्न सदा इच्छुक देखिन्छन् । उनले प्रारम्भ गरेका कम्पनीको प्रकृति हेर्दा जोखिमसँगै खेलेर अगाडि बढेको देखिन्छ । जोखिमको पुर्वानुमान गर्ने र जोखिम व्यवस्थापन गर्ने उनको क्षमता विशेष नै लाग्दछ । 
     
    यसबाट उनले फाइदा लिन सकेका पनि छन् । २००० वर्ष अगाडि एरिष्टो टलले अगाडि सारेको फस्ट प्रिन्सिपल थिङ्किङ भन्नाले कुनै पनि चिजको मूलभूत आधारहरुको ज्ञान भन्ने बुझिन्छ । धेरैले यो सिद्धान्तको प्रयोग गरेको भएता पनि एलन मस्कले स्पेश एक्समा गरेको प्रयोगलाई सबैले बुझ्दछन् । उनले अन्तरिक्ष यानको मूल्य के कसरी घटाउन सकिन्छ भनेर यो थिङ्किङको प्रयोग गरेका थिए ।
     
    एलन मस्क एक इन्जिनियर अनि एक सफल उद्यमी मात्र रहेनन् । उनी त विश्वकै धनी व्यक्ति पनि बने । सन् २०२१ सेप्टेम्बर २७ मा टेस्लाको कमाई अरूको भन्दा अगाडि आयो । पछि यो कम्पनीको बजार मूल्य घटेको हुँदा उनी धनी व्यक्ति भइरहन सकेनन् तर उनी बढी धनी १० जनामा अहिले पनि छन् ।
     
    एलन मस्कको जीवनबाट सिक्नुपर्ने विषय
     
    असफल हुनासाथ नआत्तिने र धैर्यतापूर्वक त्यसबाट के कसरी बाहिर निस्कने र सफल कसरी बन्ने भन्ने रणनीति बनाउन सक्ने र निरन्तर आफ्नो मिसनमा अग्रसर हुने व्यक्तिका रुपमा एलन मस्क चिनिन्छन् । 
     
    टेलिफोन बुकको अवधारणामा स्थापना भएको जिपटु नामक कम्पनीमा शुरुमा लगानी जुटाउन धौधौ परेको भएता पनि यसको अनलाइन भर्सन थालनी भएपछि लगानी जुट्यो र उनले यसबाट नाफा कमाएरै छाडे । उनको नवीन क्षमताकै कारण पेपल नामक कम्पनीमा सहलगानी गर्ने अवसर जुट्यो । 
     
    सन् १९९९ मा पेपललाई सबभन्दा कमजोर व्यावसायिक आइडिया भनेर समेत प्रचार गरियो तर यसलाई प्रयोगकर्ताको पक्षबाट इनोभेट गरेर अनलाइन वा लेटको रुप दिएपछि भने यसले सफलताको भ¥याङ्ग चढ्यो । 
     
    टेस्ला नामक कम्पनी डुब्नै लाग्दा र स्पेश एक्स लगभग अव डुब्यो भनेपछि पनि उनले जसोतसो लगानी जुटाए र अगाडि बढ्ने क्रममा यी दुवैदुवै कम्पनी चर्चाको शिखरमा पुगे र सफल पनि बने । 
     
    उनको ट्विटरमा रहेको संलग्नता पनि विवादमुक्त रहेन । तथापि उनले ट्विटरलाई पनि चर्चामा ल्याउन सके । यी उदाहरणबाट के देखिन्छ भने यदि आफ्नो रुचिको क्षेत्रमा स्वप्रेरित भएर लागि प¥यो भने सफलता टाढाको विषय होइन ।
     
    उनको जीवनबाट पाइने आठवटा सन्देशलाई यसरी बुँदामा राख्न सकिन्छः
     

    – असफलता र त्यसले दिने पीडाबाट सिक । असफलताबाट सिक्दै र धैर्यतापूर्वक कमजोरी हटाएर अगाडि बढ्नु उपयुक्त बाटो हो । यदि असफलता झेल्न सिकिएन भने नवप्रवर्तनकारी बन्न सकिदैन ।

    images
    images

    – विज्ञ र पुस्तकबाट सिक । कम्पनी वा सङ्गठन राम्रो हुने भनेको राम्रा व्यक्तिहरुबाट नै भन्ने विश्वास उनीमा देखिन्छ ।

    – महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गर । निजी तबरबाट स्थापना गरिएको स्पेश एजेन्सीले मङ्गल ग्रह कब्जा गर्ने र भविष्यका लागि वैकल्पिक वस्तीको विषय उठान गर्नु कम्ती महत्वाकांक्षी हैन तर उनको क्षमता हेरेर यो विषयलाई उत्सुकतापूर्वक हेरिरहेका छन् । यसरी लक्ष्य राख्दा लामो समयपछि परिणाम आउने प्रोजेक्टका लागि पनि हेरेर अल्पकालीन फाइदाका लागि मात्र मरिमेट्नु हुँदैन भन्ने उनका लक्ष्यहरुले सिकाउँछन् ।

    – आफ्नो कामको जिम्मा आफैँ लिने गर । आफ्नो जिम्माको काममा हरेक पक्षको जानकारी राख्ने र परिणामप्रति आफुले जिम्मेवारी लिने गर्नु जीवनकै ठूलो कला हो । जुन कुरा गर्नु जरुरी छ त्यो काम तुरुन्त गर । महत्वपूर्ण काममा ढिलाई गर्दा आफू त पछाडि परिन्छ नै । अर्को सोही कामको लागत पनि बढी पर्ने हुन्छ ।

    – काम गर्ने तरिकालाई सरलीकृत गर । परिवर्तनमा रमाऊ । काम गर्ने तरिका परिवर्तन गरेर पनि आफ्नो प्रोजेक्ट या भनौँ जीवनलाई सरल बनाउन सकिन्छ ।

    – आफूमा विश्वास राख । आफ्नो सोँच वा लक्ष्यप्रति विश्वास राख्दै निरन्तर र कडा परिश्रमका साथ लागिपर्नु आवश्यक छ । “म गर्न सक्छु” भन्ने दृढ अठोट राख्नु सफलताका लागि महत्वपूर्ण छ ।

    – हरेक नयाँ काम र आवश्यकता उपर प्रश्न गर । स्वभावतः जुन आवश्यक छ भनिएको छ त्यो गलत हुन्छ । जबसम्म आवश्यक छ भनेर सत्य सावित नभएको होस् ।

    एलन मस्कले विभिन्न समय र क्रममा अभिव्यक्त गरेका केही भनाइबाट समेत उनको जीवन मार्ग र विचारका सम्वन्धमा अनुमान लगाउन तथा केही सिक्न सकिन्छ । केही भनाइहरु यहाँ समेट्न खोजिएको छः

    – सामान्य व्यक्तिमा समेत असमान्य व्यक्तित्व बन्ने सम्भावना रहन्छ ।

    – यदि असफलताको अपेक्षा गर्दैनांै भने बुझे हुन्छ कि तिमी नवप्रवर्तनशील छैनौँ ।

    – सुन्दर र मानवीय भविष्यको लागि अहिले रहेका कतिपय समस्याको समाधानमा मेरो जोड छ । म पैसैका लागि मरिमेट्ने गर्दिन ।

    – अन्तत्वगत्वा म मङ्गल ग्रहमा मर्न चाहन्छु ।

    – लामो समय पर्खने कामका लागि हाम्रो जीवन छोटो छ ।

    – आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमले हामी राक्षसलाई काबुमा ल्याउँदैछौँ ।

    – धैर्यता निकै राम्रो गुण हो, म धैर्यवान् बन्न सिकिरहेको छु ।

    – कुनै काम सम्भव छ भन्ने स्थापित गर्नु पहिलो पाइला हो, त्यसपछि त काम बन्ने सम्भावना हुन्छ नै ।

    – कतिपय अवस्थामा कुनै व्यक्तिको ब्रेनलाई ज्यादा र उसको व्यक्तित्वलाई कम महत्व दिनु मेरो त्रुटी हो ।

    – यो संसारमा धेरै राम्रा पुस्तक र मानिसहरु छन् । म पुस्तक पढ्छु र मानिसहरुसँग सल्लाह लिन्छु, सिक्छु ।

    – सरकारले लगानी गर्छ भनेको सर्वसाधारण जनताकै तर्फबाट लगानी हो किनकि सरकारसँग हुने भनेकै जनताले तिर्ने कर वा शुल्कको पैसा हो ।

     
    फेरि पनि उनकै कुरा
     
    ‘स्पेसएक्स’को स्थापनाअघि उनले ८० प्रतिशत मेहनत इन्जिनियरिङको अध्ययन र प्रयोगमा व्यतीत गर्थे भनिएको छ । उनले स्वयम् अध्ययनबाटै स्पेसक्राफ्टका चिफ इन्जिनियर भएका हुन् । भनिन्छ कि उनले एक महिनामा ६० वटासम्म पुस्तक अध्ययन गरे । 
     
    एलन मस्कको हालसम्मको जीवनबाट भनौँ या उनको जीवनशैली, अभिव्यक्ति, जीवन भोगाइबाट सिक्ने बुझ्ने र अवलम्बन गर्ने भनेको जीवनलाई कसरी महत्वपूर्ण तर नवीन क्षेत्रहरुमा प्रवेश गराउने, मानव मात्रका लागि कसरी उपयोगी हुने गरी काम गर्ने तथा जरुरी कामहरुमा के कसरी प्रस्तुत हुने भन्ने नै देखिन्छ । 
     
    उनीमा घमण्ड देखिँदैन तर काम गर्ने दृढ इच्छा शक्ति भने पाइन्छ । विश्वविद्यालयको कक्षामा नगएर पनि सिक्न सकिन्छ भन्ने सिद्ध गर्ने उनी थप एक उदाहरण हुन् । भनिन्छ कि एलन मस्कको माइन्डसेट एवम् उद्यमी र काम गर्ने तरिका नै समस्या समाधान गर्ने खालको छ । भविष्यमा पनि मानव मात्रको हितका लागि उनका सफलताका कथा पढ्न पाइने आशा गर्न सकिन्छ । 
     
    (लेखक नेत्र सुवेदी ‘प्रयास’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुनुहुन्छ)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार