सन् २०१९को नोभेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले मे २१ तारिखलाई अन्तर्राष्ट्रिय चिया दिवसको रुपमा मनाउने प्रस्ताव पारित गर्दै गर्दा नेपालले बैशाख १५ गतेलाई राष्ट्रिय चिया दिवसको रुपमा मनाउन थालेको दुई दसक नाघिसकेको थियो ।
चिया कृषक, बगान, उद्योग, व्यवसायी, चिया पारखी र चियालाई माया गर्ने सबै नेपालीहरूको राष्ट्रिय पर्वको रूपमा आज २८औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ । यस वर्ष “संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण - नेपाली चियाको दिगो बजारीकरण ।” भन्ने नारा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तय गरेको छ ।
बोर्डको पछिल्लो तथ्याङ्क अनुसार आ.व. २०७९/८० मा नेपालभर कुल २०,२३० हेक्टरमा करिब १५००० साना किसानले चिया खेती गरेका छन् भने १६७ ठूला चिया बगानहरू सञ्चालनमा रहेका छन् ।
यस वर्ष २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको बोर्डले जनाएको । त्यसैगरी, भन्सार विभागको तथ्याङ्क अनुसार यस अवधीमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ लाख रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ ।
नेपालको निर्यातजन्य केहि सिमित कृषि बालीहरू मध्ये चिया पनि एक हो । कुल उत्पादनको करिब ५५ प्रतिशत चिया स्वदेशमा नै खपत भई बाँकी ४५ प्रतिशत चिया नेपालले निर्यात गर्ने गर्छ । कुल चिया निर्यातको ९७.८० प्रतिशत भारतमा नै निकासी हुने गरेको छ । तसर्थ, भारत सरकारले आयात सम्बन्धी नीतिमा ल्याउने सानो परिवर्तनले पनि नेपालको चिया क्षेत्रमा ठूलो हलचल आउने गरेको छ।
गत हप्ता मात्रै भारतले नेपाली र श्रीलंकाली चिया उत्पादकहरूलाई लक्षित गरी भारतमा आयात हुने प्रत्येक कन्साइन्मेन्ट चियाको गुणस्तर परीक्षण गर्नुपर्ने नयाँ प्रावधान लागू गर्यो ।
विगतमा एउटा नमुना परिक्षण गरेपछि सिजनभरीको चियालाई आयात अनुमती प्राप्त हुन्थ्यो । अकस्मात यो नयाँ नियम लागु भएपछि काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेका १७ ट्रक नेपाली चिया अलपत्र पर्यो ।
बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू एवं व्यवसायीहरूको संयूक्त प्रयास र नेपाल सरकारको कुटनैतिक पहलमा तत्कालका लागि भारतिय अवरोध हटेको छ । तर विगतमा पनि भारतिय पक्षबाट यस्ता अवरोधहरू भइ नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी नरोकिएला भन्न सकिन्न ।
जनसंख्या धेरै भएकाले भारतमा चियाको माग र खपत अत्याधिक छ । तर बिर्सिन नहुने कुरा के हो भने चीनपछि विश्वको सबैभन्दा ठूलो चिया उत्पादक पनि भारत नै हो । हामीले चियाको धनी राष्ट्रलाई नै चियाको ‘पुश सेल्स’ (Push sales) अथवा ‘जबर्जस्ती बिक्री’ गर्दा नेपाली चिया उत्पादकहरूले राम्रो मूल्य नपाउने र बेला बेलामा भन्सार बिन्दुमा दुःख मात्रै पाउने गरेका छन् ।
नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतिय पक्षबाट हुने गरेका छन् । तर भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको र नेपाली चिया खरिद गरेर भारतिय व्यापारीहरूले नै ‘दार्जिलिङ टि’को ब्राण्डमा अन्य मूलुकमा निर्यात गर्ने गरेको खबर पढ्न थालेको पनि धेरै भइसक्यो ।
कोरोना महामारीको समयमा स्वस्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरू अपनाएर नेपालमा चिया बगान र उद्योगहरू सञ्चालनमा ल्याइएको थियो । उता भारतमा भने लकडाउनको समयमा चिया उत्पादन ठप्प हुँदा भारती चिया व्यवसायीहरूले नेपालबाटै ठूलो परिमाणमा अहिलेसम्म कहिले नदिएको उच्च मूल्यमा चिया खरिद गरेर लगे ।
त्यतिखेर न त गुणस्तर परीक्षणको विषय यति पेचिलो बन्यो न त भारतिय भन्सार बिन्दुमा अन्य अवरोधको सामना नै गर्नुपर्यो। आफूलाई चिया आवश्यक पर्दा जति पनि तिर्ने अनि आवश्यक नपर्दा चैँ गुणस्तर परीक्षणको विषय उठान गरी नेपाली चियालाई निरुत्साहित गर्न हतियारको रुपमा मात्रै भारतले प्रयोग गर्ने गरेको कुरा यसबाट बुझ्न सकिन्छ ।
यस्ता समस्याहरूलाई दिगो रुपमा सम्बोधन गर्न अब भारतिय बजारको विकल्प खोज्न ढिलो गर्नुहुन्न । चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा नेपाली चिया (सिटिसी र अर्थोडक्स दुवै) राम्रो मुल्यमा निकासी भइरहेको छ । आ.व. २०७९।८० कै तथ्याङ्क हेर्दा नेपाली चिया औसत रु. २१२/- प्रति केजी मूल्यमा भारतमा बिक्री भइरहँदा जर्मनीका क्रेताहरूले भने प्रति केजी रु. २२४६/-सम्म तिरेका थिए ।
यद्यपी, भारतमा मूख्य रुपमा सिटिसी चिया बिक्री गरिन्छ भने जर्मनीले अर्गानिकि प्रमाणिकरण भएको अर्थोडक्स चिया मात्र खरिद गर्छ । अर्गानिक प्रमाणिकरण भएकै अर्थोडक्स चियालाई पनि भारतमा सरदर ४००-५०० रुपैयाँभन्दा बढी मूल्य दिइँदैन । यसमा “नेपालका चाय हमे नही बेचेङ्गे तो कहाँ जाएङ्गे” भन्ने भारतिय व्यापारीहरूको हेपाहा मनोविज्ञानले काम गरेको छ र हाम्रा धेरैजसो चिया उत्पादकहरूको अवस्था पनि त्यस्तै छ ।
चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत यूरोपेली मूलुकहरूको बजार नेपाली चियाको लागि नौलो हैन । यि नै मुलुकहरूमा चियाको निकासी बढाउन सके अनि नेपाल मै चियाको अक्सन बजार सञ्चालन गर्न सकेको खण्डमा चिया बिक्री गर्न भारतिय व्यापारीहरूको मुख ताक्नु पर्दैन । यसबाट नेपाली चियाको बजारीकरणका सम्बन्धमा रहेका अधिकांश समस्याहरूको दिगो समाधान गर्न सकिन्छ। यसका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठोस बजार रणनीति तयार गरी लक्षित बजारहरूमा नेपाली चियाको आक्रमक मार्केटिङ गर्न अनि चिया अक्सन केन्द्रको पुर्वाधारमा लगानी एवं नीतिगत व्यवस्थाका लागि पहल गर्नुपर्ने आवश्यकता छ।
उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बन्धी यस्तै नीति निर्माण र योजना तर्जुमा गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ अन्तर्गत बोर्ड स्थापना भएको हो । तर स्थापनाकालदेखि नै विभिन्न समस्याहरूको भुमरीमा परेको बोर्ड अहिलेसम्म पनि उक्सिन सकेको छैन । बोर्डको कार्यकारी निर्देशक पदमा राजनीतिक नियुक्ती हुने हुँदा बोर्डका अधिकांश नेतृत्वहरूले कुर्सीमा बसेपछि मात्रै चिया/कफीको बोट देख्ने गरेको पाइएको छ । यस्तो नेतृत्वबाट चियाको बजार लगायतका क्षेत्रगत समस्याहरूको सम्बोधन कसरी होला ?
विगत केही वर्षदेखि कृषि मन्त्रालयले निर्देशिका नै बनाएर मातहतका सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गर्ने परिपाटीको अभ्यास गर्न थालेको छ । बोर्डको कार्यकारी निर्देशकको पद हाल रिक्त रहेको अवस्थामा कृषि मन्त्रालयले चिया कफी क्षेत्र बुझेको सक्षम नेतृत्व नियुक्त गर्न सके यस क्षेत्रका यावत समस्याहरूको सम्बोधन हुन सम्भव छ । अनि मात्रै २८ औँ राष्ट्रिय चिया दिवस मनाउनुको सार्थकता रहनेछ ।
नेपाली चियालाई माया गर्ने सबै पारखी मनहरूमा राष्ट्रिय चिया दिवसको हार्दिक शुभकामना ।
(लेखक गौरव लुइँटेल त्रिभुवन विश्वविद्यालयमा नेपाली चिया र विश्व व्यापार संगठनको विषयमा विद्यावारिधी तहको शोध अनुसन्धान गर्दैछन् ।)