काठमाडौँ / सर्वोच्च अदालतले राजकुमार तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न आदेश दिएको छ । सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका तिमल्सिनालाई बयान नसकिएको भन्दै हिरासतमा राख्न सर्वोच्चले आदेश दिएको हो । उनलाई सोमबार बिहान उपस्थित गराउनू भनिएको छ ।
“राजकुमार तिमल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले २४ वैशाख, २०८१ (सोमबार) १० बजे बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनू ।” सर्वोच्चको आदेशमा उल्लेख छ ।
सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानाको भने बयान सकिएको भन्दै तारिखमा छोड्न राख्न आदेश दिएको छ । सर्वोच्चले बयान नसकिएको भन्दै उक्त मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’सँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको जनाउँदै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।
अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गरेका थिए ।
सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।