डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा
    काठमाडौँ / वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोगगरी देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गराउने उद्देश्यका साथ सञ्चालित वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी देखिएको छ । 
     
    सो कार्यक्रमअन्तर्गत सूचनामा पहुँच, सीपयुक्त जनशक्तिको विकास, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतालगायत क्षेत्रमा विभिन्न क्रियाकलाप हुँदै आएका छन् । 
     
    सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको क्षेत्रमा डिप्रोक्स–नेपालले प्राविधिक साझेदारका रुपमा सन् २०१९ देखि कार्य गर्दै आइएको छ ।
     
    डिप्रोक्सले वैदेशिक रोजगारमा रहेका विप्रेषण प्राप्त घरपरिवारका सदस्यलाई लक्षित गरी २१ हप्ताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्दै आइरहेको छ । 
     
    तेस्रो चरणको कार्यक्रमअन्तर्गत हालसम्म ३८ जिल्लाका एक सय ५६ स्थानीय तहमा दुई हजार तीन सय ९९ वित्तीय साक्षरता कक्षा सम्पन्न भएका डिप्रोक्सका निर्देशक कैलाश रिजालले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिए । 
    वित्तीय साक्षरता तथा मनोपरामर्श कार्यक्रममा ५८ हजार छ सय ९४ महिला र एक हजार एक सय ९९ पुरुष गरी कूल ५९ हजार आठ सय ९३ जनाको सहभागिता रहेको थियो । 
     
    डिप्रोक्सले सामी परियोजना सञ्चालन नभएको थप एक स्थानीय तहका एक सय ८४ जनालाई पनि वित्तीय साक्षरताका विविध आयामबारे जानकारी गराएको थियो । 
     
    डिप्रोक्सले चलाएको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षमा सहभागीमध्ये अधिकांशले औपचारिक वित्तीय संस्थाबाट विप्रेषण प्राप्त गर्ने गरेको जानकारी गराएका थिए । 
     
    बैंकिङ च्यानलबाट विप्रेषण प्राप्त गर्ने सहभागीको सङ्ख्या ९९ दशमलव ७२ प्रतिशत रहेको डिप्रोक्सले जनाएको छ । जुन वित्तीय साक्षरता कक्षा सञ्चालन अघि ६६ प्रतिशत मात्र थियो । 
     
    नियमित बचत गर्ने, औपचारिक वित्तीय संस्थामा खाता खोल्ने, आम्दानी तथा खर्चको हिसाब राख्ने तथा आकस्मिक कोषको स्थापना गर्ने सहभागीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको निर्देशक रिजालले जानकारी दिए। 
     
    यस्तै ६१ प्रतिशतले विदेश जाँदा लिएको पूरै ऋण तिरिसकेका तथा जीवन बीमा कार्यक्रममा सहभागिता जनाउने सहभागीको प्रतिशत ११ दशमलव २१ अङ्कले वृद्धि भएको डिप्रोक्सले जनाएको छ । 
     
    वित्तीय साक्षरता कार्यक्रममा सहभागी हुनुअघि शून्य दशमलव ५४ प्रतिशतले गरेको व्यवसाय तथा चार दशमलव ३० प्रतिशतले गरेको व्यवसाय विस्तार कार्यक्रममा सहभागितापश्चात् तीन दशमलव १० प्रतिशतले व्यवसाय प्रारम्भ तथा १२ दशमलव ९१ प्रतिशतले विस्तार गरेको तथ्याङ्क छ । 
     
    विभिन्न २१ वटा स्थानीय तहले वित्तीय साक्षरतालाई स्थानीय तहमा मूल प्रवाहीकरण गर्न वित्तीय साक्षरता रणनीति तयार गरेका निर्देशक रिजालको भनाइ छ । थप पाँच वटा स्थानीय तहमा रणनीति निर्माणको प्रक्रियामा रहेको छ । 
     
    वित्तीय साक्षरता कार्यक्रम कार्यान्वयनसँगै वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानी दिगो र नियमित नहुने महशुस भई आम्दानीको स्रोतहरु खोज्न थालेका, भइरहेका व्यवसाय विस्तार तथा नयाँ व्यवसाय सुरुआत गरी वैदेशिक रोजगारमा भइरहेका व्यक्तिको पुनःएकीकरणमा सहयोग भएको डिप्रोक्सका निर्देशक रिजाल बताउछन् । 
     
    वैदेशिक रोजगारीमा रहेका व्यक्तिको कागजपत्र परिवारका सदस्यले राख्ने बानीको विकास हुँदा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न सहज भएको तथा आम्दानी खर्चको ‘रेकर्ड’ राख्ने बानीका कारण परिवारमा पारदर्शीता कायम भई अनावश्यक खर्च कम गर्न सहयोग पुग्नुका साथै केही विछोडिएका परिवारकोसमेत पुनःमिलन भएको उनको भनाइ छ । 
     
    कार्यक्रमअन्तर्गत डिप्रोक्स नेपालले वित्तीय साक्षरता पाठ्यक्रम, पाठ्यपुस्तक, प्रशिक्षक निर्देशिका तथा तालिम सामग्रीका साथै विधिको निर्माण गरी वित्तीय साक्षरता सहजकर्ता परिचालित गरेको छ । 
     
    डिप्रोक्सले स्थानीय साझेदार सेवा प्रदायक, स्थानीय सरकारका साथै अन्य सरोकारवलाको क्षमता अभिवृद्धिका लागि तालिम तथा प्राविधिक सहयोग, कक्षाको नियमित अनुगमन, स्थानीय, प्रदेश र सङ्घ सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर सम्पर्क समन्वय गर्दै आइरहेको छ । 
     
     
    नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । 
     
    सन् २०१८ देखि २०२४ सम्म सामीको तेस्रो चरण चलिरहेको छ । कार्यक्रमको प्रथम तथा दोस्रो चरण सन् २०११ देखि २०१८ सम्म सञ्चालन भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार