images
images

गभर्नर अधिकारी भन्छन् – कृषि कर्जाको अनुदान दुरुपयोग भएको छैन

गभर्नर अधिकारी भन्छन् – कृषि कर्जाको अनुदान दुरुपयोग भएको छैन

शनिवार, असार २२ २०८१
शनिवार, असार २२ २०८१
  • गभर्नर अधिकारी भन्छन् – कृषि कर्जाको अनुदान दुरुपयोग भएको छैन
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको स्पष्ट पारे । 


    आज यहाँ आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरुपयोग नदेखिएको बताए । 

    केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुल प्रक्रिया पनि प्रारम्भ भइसकेको  बताए ।

    “कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन् । यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ”, गभर्नर अधिकारीले  भने, “हाम्रो अध्ययनका क्रममा निकै सानो सङ्ख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ । यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ ।”

    सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको गभर्नर अधिकारीले दाबी गरे । 

    हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका बताए ।

    यो कार्यक्रम विवादमा परेपछि विसं २०७९ असोजयता अनुदान नदिइएको उनले बताए । 

    उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए । 

    पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाइ छ । 

    विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख  गरे ।

    राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदानको दुरुपयोग भएको धारणा रखेका थिए । 

    नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले उनीहरुले लगानी गर्न नचाहेको उनले बताए । 

    साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । 

    “यस लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गरी आन्तरिक उत्पादनमा योगदान पुगेको छ”, उनले भने ।

    साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको बताउँदै कार्यकारी अधिकृत कोइरालाले देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको जानकारी दिए । 

    हाल साना किसानले ११ लाखभन्दा बढी परिवारका ४५ लाख जनसङ्ख्यालाई सेवा दिइरहेको  बताए । 

    कृषि प्रविधि सिक्ने युवालाई इजरायल पठाइएको भन्दै उनीहरु स्वदेश फर्किएर कृषि कर्ममा लागेका लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए । 

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) बाट कृषि तथा भेटनरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको, किसानलाई भारतसहित विभिन्न देशमा अवलोकन भ्रमणलगायत विविध क्रियाकलापमा सहभागी गराइएको  उनको भनाइ छ ।

    एसियाली विकास बैंकबाट कर्जा लिएर लघुवित्तले ग्रामीण उद्यम कर्जा (आरईएफ) सञ्चालन गरेको कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए । 

    साना किसान, विपन्न तथा पछाडि परेका समुदाय, महिला, सीमान्तकृत वर्गका लागि सरल र सहज कर्जा उपलब्ध गराइरहेकाले साना किसान लघुवित्तबाट सञ्चालित कामको नतिजा प्रभावकारी देखिएको उनको दाबी छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार