अर्घाखाँची / जिल्लामा विदेशबाट पठाएको पैसाको ७२ प्रतिशत रकम घर खर्चमा गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यस्तै, १५.८ प्रतिशत रकम ऋण तिर्न, ४.६ प्रतिशत छोराछोरीको अध्ययन र १.९ प्रतिशत रकम घरजग्गामा खर्च भएको छ । यसको १.९ प्रतिशत रकम बचत गरिएको छ । नेपालभरका ५६ प्रतिशत घरपरिवार र लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले रेमिट्यान्स (विप्रेषण) प्राप्त गर्छन् ।
अर्घाखाँची विदेशबाट पैसा आउने जिल्लामध्ये अग्रपङ्क्तिमा आउँछ । तर, त्यो पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा श्रम बेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ ।
साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको विप्रेषणको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ ।
स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यान्सको पैसो बाहिर जाने गरेको छ । केही गर्ने खालको युवा जनशक्तिलाई अर्काको देश पठाएर आएको पैसोको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको छैन ।
जिल्लाका ५५ हजारभन्दा बढी मानिस श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएका छन् । युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा जाने युवायुवतीको सङ्ख्या यसमा समावेश गरिएको छैन । गैरकानुनी ढङ्गले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरूको तथ्याङ्क कतै भेटिँदैन ।
आव २०६३/६४ सालयता गएको वैशाख मसान्तसम्म ७७ लाख २० हजार सात सय आठजनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
अहिलेसम्म विदेश जानेहरूमध्ये ९३ प्रतिशत मलेसिया तथा खाडी मुलुकमा गएका छन् भने बाँकी सात प्रतिशत जापान, बहराइन, कोरिया, क्रोएसियालगायत देशमा छन् ।
जिल्लामा वार्षिक झन्डै रु साढे सात अर्ब विप्रेषण भित्रिने गरेको छ । त्यसमध्ये तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ ।
४० प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र अर्थात् घडेरी र घरमा खर्च हुने गरेको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए । उनका अनुसार जिल्ला सदरमुकाम, कपिलवस्तुका विभिन्न भाग तथा रूपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडौंमा घर घडेरी किन्नेमा खर्च भएको छ ।
विदेशबाट आएको रकमको २० प्रतिशत मात्र कृषि फार्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बस जस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ । तर, यस्तो व्यवसाय गर्नेहरूले पनि बीचैमा व्यवसाय छाड्ने गरेका छन् ।
वैदेशिक रोजगारीमा गएका युवाले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकाले उक्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्नुपर्ने खालको नियम नै बनाएर अगाडि बढ्न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च हुने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
वैदेशिक रोजगारीमा युवाहरूलाई जानबाट रोक्न स्थानीय सरकारहरूले पनि काम गरिरहेका छन् । विदेशबाट फर्किएर गाउँमै कृषि र पशुपालन गर्ने युवाहरूलाई नगरपालिकाले प्राविधिक सहायताका साथै विभिन्न अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । परम्परागत कृषि पेसालाई आधुनिक र प्रविधियुक्त बनाउन मिनीटिलर, कुटानी–पिसानी मिललगायत सामग्रीहरू किसानलाई हस्तान्तरण गरेको छ । विभिन्न तरकारीका बीउ, मल आदि पनि प्रदान गर्दै आएको छ ।
जङ्गली मौवाको फूल, स्थानीय रैथाने बाली र फलफूलबाट बनाइने रक्सीको ब्रान्डिङ गरिने लक्ष्य रहेको योजना अधिकृत नुमलाल खनालको भनाइ छ । शितगङ्गा नगरपालिकाले कृषिजन्य बस्तु उत्पादन र बजारीकरणका लागि नयाँ योजना सञ्चालन गरेको छ । प्रत्येक वडामा कृषि सङ्कलन केन्द्र निर्माण गरिने पालिकाले जनाएको छ ।