काठमाडौँ / चालु आर्थिक बर्ष (आव)को पहिलो चौमासिक (साउन–कार्तिक)मा कुल २४२ ओटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार कार्तिक मसान्तसम्म स्वदेशी र विदेशी गरी कुल २४२ ओटा उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा २६३ लगानीका प्रस्ताव स्वीकृत भएका छन् । जसमध्ये अनुमोदन प्रणालीबाट १५४ वटा लगानी स्वीकृत भएका छन् । स्वचालित प्रणालीबाट १०९ वटा विदेशी लगानी स्वीकृत गरिएको विभागका महानिर्देशक राजेश्वरप्रसाद ज्ञवालीले जानकारी दिए ।
कति आयो लगानीको प्रस्ताव ?
कार्तिक मसान्तसम्म करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा ४० अर्ब ९६ करोड बराबरको प्रस्ताव आएको हो ।
अनुमोदन प्रणालीबाट प्रस्ताव स्वीकृत हुँदा १७ अर्ब ३ करोड प्रस्तावित विदेशी लगानी आएको छ । स्वचालित प्रणालीबाट १ अर्ब ६२ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।
विदेशी लगानी परियोजनाहरूमा ७ हजार ६६७ रोजगारीका प्रस्ताव आएका छन् भने कुल ११ हजार ७८१ रोजगारका लागि प्रस्ताव आएका छन् ।