images
images

शिक्षा र रोजगारीबिचको अन्तरसम्बन्ध विषायक सेमिनार, पन्चकन्या ग्रुपसहित पाँच कम्पनी अप्रेन्टीसशिप च्याम्पियन सम्मानित

शिक्षा र रोजगारीबिचको अन्तरसम्बन्ध विषायक सेमिनार, पन्चकन्या ग्रुपसहित पाँच कम्पनी अप्रेन्टीसशिप च्याम्पियन सम्मानित

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • शिक्षा र रोजगारीबिचको अन्तरसम्बन्ध विषायक सेमिनार, पन्चकन्या ग्रुपसहित पाँच कम्पनी  अप्रेन्टीसशिप च्याम्पियन सम्मानित

    काठमाडौँ / शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । ललितपुर नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा बिहीबार होटेल हिमालय, ललितपुरमा उक्त सेमिनार सम्पन्न भएको हो । 

    नेपाल सरकार तथा स्वीस सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको सहयोगमा आयोजित सेमिनार शिक्षा र रोजगारी बिचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली युवाहरुलाई रोजगारमूलक सिप प्रदान गरि रोजगारीका लागि योग्य बनाउने विषयमा केन्द्रित थियो ।

     नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा र तालिम (टी–भेट)मा निजी क्षेत्रको संलग्नताका लागि विद्यमान चुनौतिहरुको सम्बोधन गर्ने, नीजि क्षेत्रको सहभागिता अभिबृद्धि गर्न नीतिगत सुझाव प्रदान गर्ने, र टी–भेटलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउने ल्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो । 

    कार्यक्रमको उद्घाट्न गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा श्रम र व्यवसायलाई जोड्नुपर्ने बताइन् । 

    “४५ सालमा सिटीभिटी स्थापना गर्यौँ तर ८१ सालमा आइसक्दा पनि त्यहिँ ४५ सालकै नीतिहरूमा आधारित छौँ र यसलाई संशोधन गरेका छैनौँ,” उनले भनिन्, “हामीले कम्तिमा सिटीभिटीको पाठ्यक्रम र पुनर्संरचनाका केही धारणा बनायौँ भने ऐनमा पनि सुझाव दिन सक्छौँ ।”

    त्यस्तै, कार्यक्रमका मूख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम ईटिएच ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघिय संरचनामा टी–भेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नताको विषयमा ‘शिक्षा प्रणाली’ले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने कुराको सुनिश्चितताका लागि उद्योगसँगको साझेदारी महत्त्वपूर्ण हुने बताइन् । 

    नीजि क्षेत्रसँग समन्वय गरिनुपर्ने र टी–भेट उद्योग परिषद अबको उपयुक्त बाटो हुनसक्ने उनको भनाइ छ । यसैगरी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले देशमा सीपको ठूलो अभाव भएको बताए । 

    “देशका उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेका छन् । अर्कोतर्फ युवाहरू रोजगारीको खोजीमा छन् । उद्योगहरूले छिमेकी देश भारतबाट सीपयुक्त जनशक्तिको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ,” उनले भने, “दक्ष जनशक्ति विकासका लागि हात मिलाएर काम गर्नुपर्ने शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्ने आवश्यकता छ ।”

    उद्योगको लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रम महत्त्वपूर्ण भएको उनले बताए । 
    स्वीस दुतावासका डेप्युटी हेड अफ मिसनरचार्जे डी अफेयर्स माथियास मेईरले स्विटजरल्याण्डले ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा बिगत एक वर्ष भन्दा लामो समयदेखि प्रवर्धन गर्दै आइरहेको बताए ।

    ईटीएच ज्युरिक र काठमाडाँै विश्वविद्यालयले गरेको अध्ययनबाट प्राप्त प्रमाणले यो अवधारणा प्रशिक्षार्थी र उद्योग दुबैका लागि फलदायी हुने बताइएको छ । 

    “यो अध्ययनका नतिजाहरूलाई प्रयोगमा ल्याउनु आवश्यक छ र मलाई बिश्वाश छ यो सेमिनार त्यो दिशातर्फ उन्मुख छ,” मेईरले भने । 
    यसैगरी सीटीईभिटीका सदस्य सचिव महेश भट्टराई, होटेल महासंघ नेपालका अध्यक्ष विनायक शाह र नेपाल अटोमोबाइल व्यवसायी महासंघका अध्यक्ष करण चौधरीले नेपाली युवाहरुलाई सिपयुक्त रोजगारीका लागि तयार पार्न शिक्षा र रोजगारीलाई जोड्नुपर्ने आवश्यकता औँल्याए । 

    सेमिनारमा दुई वटा प्राविधिक सत्रहरू राखिएको थियो । पहिलो सत्रमा टी-भेट कार्यक्रमहरुमा संलग्नताको लागि निजी क्षेत्रको भूमिका, नीतिगत व्यवधान र सम्भावित उपायहरुको खोजिका सन्दर्भमा छलफल गरिएको थियो ।

    उक्त सत्रमा नेपालमा ड्वेल-भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण, युवा तथा उद्योगहरूलाई औद्योगिक प्रशिक्षणका फाइदाहरुका बारेमा गरिएको अध्ययनका नतिजाहरू र सीटीईभिटीमा नीतिगत अभाव सम्बन्धि कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।

    यी विषयहरुमा संसदीय शिक्षा समिति, शिक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघ र उद्योग बाणिज्य महासंघका प्रादेशिक प्रतिनिधिहरूको बिच छलफल गरिएको थियो ।

    दोस्रो सत्रमा टी-भेट कार्यक्रमको तालिम अवधिमा निजी क्षेत्रको भूमिकाअन्तर्गत विद्यमान अभ्यासहरुका साथै सुधारका आवश्यकताहरूको बारेमा छलफल गरिएको थियो ।

    नेपालमा टी-भेट स्कुलहरूको अवस्था र उद्योगहरूले नेतृत्व गरेको क्षेत्रगत सिप समितिहरुले रोजगारदाताका आवश्यकता र उत्पादन बिचको दुरीलाई कसरि कम गर्न सकिन्छ भन्ने सम्बन्धमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    त्यस्तै, क्षेत्रगत सिप समिति, सीटीईभिटी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित प्यानल छलफल गरिएको थियो ।

    होटेल व्यवस्थापन तथा अटोमोबाइल औद्योगिक प्रशिक्षण प्रि–डिप्लोमा कार्यक्रमका प्रशिक्षार्थीहरू बिचको सिप प्रतिस्पर्धासमेत आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागी प्रशिक्षार्थीहरूले सवारी साधन मर्मत र खाना पकाउने कला प्रदर्शन गरेका थिए । 

    कार्यक्रममा पन्चकन्या ग्रुप प्रा.लि, नेपाल इकरात इन्जीनियरिंग प्रा.लि., अरिहान्त मल्टी फाइबर्स लि., सिजी मोटो कर्पोरेसन र एयरपोर्ट होटेल अप्रेन्टीसशिप च्याम्पियन अवार्डबाट सम्मानित भए ।

    औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रममा संलग्न भई बिपन्न बर्गका युवा तथा महिलालाई प्राथमिकता दिई आफ्नो उद्योगमा धेरै संख्यामा प्रशिक्षार्थीहरूलाई प्रशिक्षणको लागि स्थान दिई कार्यक्रमलाई सक्रिय रूपमा सहयोग गर्ने उद्योगहरुलाई सम्मानस्वरूप पुरस्कृत गरिएको हो ।

    यसका साथै सिप प्रतिस्पर्धाका बिजयी प्रशिक्षार्थीहरू बसन्त कुमार चौधारी, रबिना राई र रश्मि मुखियालाई पनि पुरस्कृत गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार