images
images

सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन हुने, कुन सामानमा कति पाइएला छुट ?

सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन हुने, कुन सामानमा कति पाइएला छुट ?

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन हुने, कुन सामानमा कति पाइएला छुट ?

    काठमाडौँ / सरकारले हिन्दुहरूको प्रमुख चाडपर्व नजिकिएसँगै सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोजको पहिलो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले असोज ७ गतेसम्म सहुलियत पसलहरू सञ्चालनमा आउने जानकारी दिएका हुन् । 

    यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवंम् अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्थापन मिलाइरहेको उनले बताएका थिए ।  

    उनले भने, “चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्थापन मिलाइरहेको छ । साथै चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्न तयारी भइरहेको छ । उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको छ ।” 

    उनले बजारमा उच्च मागहरू हुने समयमा मूल्य अस्वभाविक रूपमा वृद्धि गर्न सक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रूपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको बताए । 

    उनले भने, “साथै बजारमा उच्च मागहरू हुने समयमा मूल्य अस्वभाविक रूपमा वृद्धि गर्न सक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रूपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ । सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गरिनेछ ।” 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत स्थानीय तहहरूसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न ती वस्तुहरूको खरिद गर्ने व्यवस्था मिलाइएको उनले उल्लेख गरे । 

    सरकारले हरेक बर्ष चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । 
    प्रवक्ता अधिकारीका अनुसार सहुलियत पसल ढिला अवधि असोज ७ गतेसम्म सञ्चालनमा आइसक्नेछ । 

    सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा कममा आवश्यक खाद्यान्नलगायतका वस्तुहरू उपलब्ध हुनेछन् । 

    उपभोक्ताहरूको हितलाई ध्यानमा राखी उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरूको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य खाद्य वस्तुहरू उपलव्ध गराउने उद्देश्यले मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटे, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सुपथ मूल्य पसल सञ्चालन हुन्छ ।

    के भन्छन् सरोकारवालाहरू ?

    नेपालीहरूको मुख्य चाडपर्वको अवसरमा सर्वसाधारण उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्न दाल, चामल, नुन तेलसहित आवश्यकीय उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यसहित सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको सरोकारवाला निकायहरू बताउछन् ।

    ४२ जिल्लामा ६१ वटा सहुलियत पसल

    यस बर्ष ४२ जिल्लाका ६१ भन्दा बढी स्थानमा सुपथ पसल सञ्चालन गरिने भएको छ । हाल ४२ ओटा जिल्लाको ६१ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने तयारी भए पनि स्रोत साधन उपलब्ध भएमा थप गर्न सकिने प्रवक्त अधिकारीले बताए । 

    गत वर्ष भने ४२ जिल्लाका ४८ स्थानमा सुपथ मल्य पसल सञ्चालन गरिएको थियो । यस्तै काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री भएको थियो ।

    राजधानी बाहिर पनि मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुङ्गा, सिराहा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रूकुम-पूर्व र रूकुम-पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ ।

    यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल सञ्चालन हुनेछ । गत वर्ष पनि यी जिल्लाका विभिन्न स्थालमा सहुलियत पसल सञ्चालन भएको थियो । 

    कुन खाद्यान्नमा कति छुट ? 

    सरकारले दाल, चामल, गेडागुडी, चिनीलगायतका सबै खाद्य पदार्थहरूमा ५ रुपैयाँदेखि १० रुपैयाँसम्म सस्तो पर्ने प्रवक्ता अधिकारीले जानकारी दिए । मासु र डिडिसीको घ्यू पनि १० रुपैयाँ सस्तो पर्ने उनले बताए । 

    प्रवक्ता अधिकारीले भने, “बजारमा चिनी, प्याजलगायतका अत्यावश्यक वस्तु चाडपर्वको समयमा अभाव नहोस् भनेर नेपाली उत्पादनलाई व्यवस्थित गर्ने र भारतबाट चिनी, चामललगायतका खाद्यपदार्थ अभाव नहोस् भनेर आयातमा प्राथमिकता दिइरहेका छौँ ।” 

    चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार्फत सहुलियत पसल सञ्चालन हुँदै आएको छ । प्रवक्ता अधिकारीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि सबैथरी सामानमा बजार मूल्यभन्दा ५ देखि १० रुपैयाँसम्म छुट पाइनेछ । 

    गत बर्ष कम्पनीहरूले सहुलियत पसलहरूबाट सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र सबै प्रकारका तेलमा प्रतिकिलो/प्रतिलिटर ७ रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो प्रतिकिलो १० रुपैयाँ छुट दिइएको थियो । गत वर्ष खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरेको थियो । 

    यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौँ उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गरेको थियो ।

    साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपैयाँ बजेट छुट्याएको थियो । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरेको थियो । 

    यस्तै नुनमा प्रतिकिलो २ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको थियो । दुग्ध विकास संस्थानले घियूमा प्रतिकिलो २० र प्रति २०० ग्राम पनिरमा २० रुपैयाँ छुट दिइएको थियो ।

    चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुटको सुविधा

    गत वर्षको चाडपर्वमा चिनीको निकै अभाव भएको थियो । उपभोक्ताले २ किलो चिनी किन्न घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता थियो । तर यो वर्ष अभाव हुन नदिन सरकारले चिनी आयातका लागि सहुलियत दिएको छ । 

    यस बर्षका लागि साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्ता तथा व्यापार कम्पनीले ५० प्रतिशत भन्सार महसुल छुटमा चिनी आयात गर्न पाउने भएका छन् ।

    सरकारले यस बर्ष चाडपर्वको अवसरमा चिनीको अभाव हुन नदिन भन्दै दुई संस्थालाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन आयात गर्न स्वीकृति दिएको हो । 

    १८ सय खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याइँदै 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी दशैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा काठमाडौँ उपत्यकामा ल्याउने तयारी गरेको छ । यो दशैँका लागि कम्पनीले १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । कम्पनीले गत वर्ष २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । 

    यस बर्षको दशैँको लागि ल्याइएको खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी गरिरहेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । अहिले नै कति मूल्यमा बिक्री गर्ने भन्नेबारे निर्णय नभएको र खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने उनको भनाइ छ ।

    यस्तै, यस बर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्षको तुलनामा यस बर्षका लागि कम्पनीले बजेट घटाइएको छ । अघिल्लो वर्ष खरिद गरिएका सबै च्याङ्ग्रा बिक्री नहुँदा ठूलो घाटा बेहोर्नु परेकाले यो वर्ष च्याङ्ग्राको परिमाण घटाइएको उनी बताउछिन् । 

    गत वर्ष ल्याइएका कुल च्याङग्रामध्ये ४९५ वटा बिक्री भएको थियो । बाँकी रहेका ४७ च्याङग्रा मध्ये २५ च्याङग्रा कुकुरको टोकाइबाट मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दशैँपछि बिक्री गरिएको थियो । 

    कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङग्राको मूल्य प्रतिकिलो १२ सय ५० रुपैयाँ तोकेको थियो ।  उक्त मूल्यमा बिक्री नभएपछि कम्पनीले मूल्य घटाएको थियो । गएको दशैँमा खसी प्रतिकिलो ६७० तोकिएकोमा २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङग्रा प्रतिकिलो १२ सय ५० तोकिएकोमा २५ रुपैयाँ सहुलियत दिँदै प्रतिकिलो १२ सय २५ रुपैयाँ कायम गरेको थियो । 

    यो वर्षपनि मूल्य निर्धारण गर्दा खसी र बोका दुबैको मूल्य उस्तैउस्तै पर्न सक्ने बताइएको छ । गत वर्ष च्याङ्ग्रा मुस्ताङबाट र खासी बोका, हेटौँडा र दाङबाट ल्याइएको थियो । यो वर्ष पनि सोही ठाउँबाट ल्याउने भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार