images
images

मानिसले किन गर्छन् आत्महत्या ? कसरी रोकथाम गर्न सकिन्छ ?

मानिसले किन गर्छन् आत्महत्या ? कसरी रोकथाम गर्न सकिन्छ ?

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • मानिसले किन गर्छन् आत्महत्या ? कसरी रोकथाम गर्न सकिन्छ ?
    images
    images

    प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर आत्महत्या रोकथाम विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाउँदै आइएको छ । 

    यसको सुरुवात सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तराष्ट्रिय संगठन (International Association for suicide Prevention (IASP) ले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरुवात गरेको थियो । 

    यस दिवसको मुख्य उदेश्य आत्महत्या रोकथामका लागि सचेतना अभिवृद्धि, यससँग सम्बन्धित लाञ्छाना न्यूनिकरण र विश्वव्यापि रुपमा आत्महत्या रोकथामका लागि भएका कार्यहरुलाई प्रोत्साहन गर्न रहेको छ । 

    नेपालमा पनि हरेक वर्ष आत्महत्या रोकथाम दिवस मनाउदै आइएको छ । यस वर्ष “आत्महत्या बारे संवाद सुरु गरौ; दृष्टिकोण बदलौ” भन्ने नारा सहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

    विश्वमा मृत्युको २० प्रमुख कारणहरु मध्ये आत्महत्या पनि एक मुख्य कारण हो । विश्वमा हरेक वर्ष करिव ७ लाख व्यक्तिहरुले आत्महत्याको कारणले ज्यान गुमाउने गरेका छन् । 

    हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्याको कारणले मृत्यू हुने गरेको छ । प्रत्येक आत्महत्याबाट आत्महत्या गर्ने मानिसको ज्यान गुम्ने मात्र नभइ सो व्यक्तिसँग सम्बन्धित १३५ जनालाई पनि आघात पुग्ने तथ्यांक अध्ययनमा पाईएको छ । 

    नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा हरेक वर्ष आत्महत्याको दर बढ्दै गरेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ७२२३ जनाले आत्महत्याको कारणले ज्यान गुमाएको देखिएको छ । 

    जसअनुसार नेपालमा हरेक दिन लगभग २० जना व्यक्तिहरुले आत्महत्याको कारणले ज्यान गुमाइरहेको देखिएको छ । दिगो बिकास लक्ष्यमा आत्महत्याको दरलाई न्यूनीकरण गरी सुस्वास्थ्य प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । 

    तत्कालिन समय सन् २०१५ मा १६.५ जना प्रति १००,००० नेपालीमा रहेको आत्महत्याको दरलाई सन् २०२२ मा ९.७ मा घटाउदै सन् २०३० सम्ममा ४.७ प्रति १००,००० नेपालीमा झार्ने महत्वकांक्षी लक्ष्य लिईएको छ । हालको तथ्यांकमा सुधार ल्याउन बहुपक्षीय सहकार्य अनिवार्य देखिएको छ ।

    आत्महत्याको कारण बहुआयामिक हुन्छ । यद्यपी आत्महत्याको सम्बन्ध मानसिक स्वास्थ्य समस्यासँग रहेको पाइन्छ । 

    आत्महत्या गर्ने ६८% य्वाक्तिमा मानसिक स्वास्थ्य समस्या भएको तथ्य अनुसन्धानले देखाएको छ । मानसिक रोगमा जस्तै उदासिनताको रोग (डिप्रेसन) सबै भन्दा प्रमुख कारण हो । 

    विगतमा आत्महत्याको प्रयास गरेको मानिसहरुले आत्महत्या दोहोर्याउने सम्भावना अन्य व्यक्तिहरुको तुलनामा धेरै हुन्छ । 

    साथै लगातार जीवनप्रति नैराश्यता अनुभव गर्ने मानिसहरु र युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेको व्यक्तिहरुमा आत्महत्या गर्ने सम्भावना बढि छ । 

    बहुपक्षिय निकायहरुको संयुक्त प्रयत्नबाट आत्महत्याका घटनाहरु न्यूनिकरण गर्न सम्भव हुन्छ । मानसिक रोगको उपचार गर्नाले पनि धेरै मात्रामा आत्महत्या रोकथाम हुन्छ । 

    नेपाल सरकारले आत्महत्या न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । आत्महत्या रोकथामका लागि २४ सै घण्टा नि:शुल्क परामर्श दिन राष्ट्रिय हेल्पलाईन ११६६ सञ्चालनमा रहेको छ । 

    राष्ट्रिय मानसिक स्वास्थ्य रणनिती तथा कार्ययोजना २०७७ ले पनि मानसिक स्वास्थ्यका लागि तिनै तहका सरकारहरुको भूमिकालाई स्पष्ट पारेको छ । मानसिक स्वास्थ्य सेवाको कार्यक्रमहरुलाई विस्तार गर्न सरकारले महत्वपूर्ण कदम लिरहेको छ।

    आत्महत्याको लागि प्रयोग हुनसक्ने हानीकारक विषादीको पैठारी र प्रयोगमा प्रतिबन्ध लगाउने, आत्महत्या सम्बन्धी घटनाको जिम्मेवार समाचार सम्प्रेक्षण निर्देशिका जारी गर्ने साथै बालबालिका तथा किशोर किशोरीको सामाजिक-भावनात्मक सिकाईका मोड्युलहरु तयार गरी कार्यान्वयन गरिएका छन्।  

    आत्महत्या रोकथाम हामी सवै दायित्व हो  त्यसैले आत्महत्या रोकथामको लागि हामी सवैको भूमिका धेरै महत्वपूर्ण हुन्छ । 

    आत्महत्या रोकथाममा साथीको भूमिका

    – साथीलाई एकलै नछाड्ने र आवश्यक सहयोग गर्ने ।
    – उदासी व्यवहार बारेमा सोध्ने | 
    – साथीले सहयोग लिन नमानेको खण्डमा उसले कुरा सुन्ने अथवा सहयोग लिन चाहने आफन्त, दाजुभाई, साथिभाई वा अभिभावकलाई जानकारी दिने |
    – साथीका कुराहरुलाई गोपनियता राख्दै समानुभूतिका साथ कुराकानी गर्ने र साथीको आत्महत्याको सोच या योजना भएको बताएमा आफू भन्दा ठूलो मान्छे, अभिभाबक, शिक्षकको सहयोग लिने 

    विद्यालय तथा विद्यालयको शिक्षकको भूमिका

    – विद्यार्थीहरुलाई निर्धक्क संग भावना ब्यक्त गर्ने वातावरण बनाउने |
    – आत्महत्याको जोखिम देखिएका विद्यार्थीलाइ एक्लै  नछोड्ने |
    – विद्यार्थीको नाम ठेगाना र अभिभावकलाई सम्पर्क गर्न सकिने सम्पर्क नम्बर थाहापाई राख्ने | 
    – विद्यार्थीले व्यक्त गरेको कुरालाई वेवास्ता नगर्ने |
    – तालिम प्राप्त मनोविमर्शकर्तासंग सम्पर्क राख्ने |
    – विद्यार्थीहरुलाई समयसमयमा मनोसामाजिक समस्या र यसको व्यवस्थापन सम्बन्धि चेतना मुलक कार्यक्रम संचालन गर्ने |

    आत्महत्या रोकथाममा समुदायको भूमिका

    – सम्मानपूर्वक व्यवहार गर्ने ।
    – उपनाम वा मानसिक रोगीको संज्ञा नदिने ।
    – सहयोगी भावना विकास गर्ने र – आत्मसम्मानको भावना जगाउन सहयोग गर्ने ।
    – व्यक्तिको समास्याको बारेमा सम्बन्धित निकायमा खबर दिने

    आत्महत्या रोकथाममा मिडियाको भूमिका

    – सहयोग पाउन सकिने ठाउँ बारे सही सूचना दिने आत्महत्या र आत्महत्या रोकथामको बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउने
    – जीवनका तनावहरू वा आत्महत्याका सोचाइसँग कसरी सामना गर्ने र सहयोग कसरी लिन सकिन्छ भन्ने जस्ता कथाहरू सम्प्रेषण
    – प्रख्यात व्यक्तित्वहरूको आत्महत्या बारे समाचार सम्पे्रषण गर्दा सावधानी अपनाउने
    – शोकाकुल परिवारजन तथा साथीसँग अन्तर्वार्ता लिँदा सावधानी अपनाउने
    – आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिन्दु नबनाउने र अनावश्यक रुपमा नदोहोराउने  
    – आत्महत्यालाई सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने र त्यसलाई एक मात्र सही सामाधानको रुपमा चित्रण नगर्ने 
    – आत्महत्याको साधन र तरिकालाई व्याख्या नगर्ने 
    – आत्महत्या भएको स्थान बारे विस्तृत जानकारी नदिने 
    – सनसनीपूर्ण शीर्षक प्रयोग नगर्ने 
    – फोटो, भिडियो वा डिजिटल लिंकको प्रयोग नगर्ने 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार