काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।
विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ ।
जसले मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्न सक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ । यसैगरी, शनिबार पनि देशका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।
मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्नसक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ। आइतबारदेखि भने मौसममा सामान्य सुधार आउने महाशाखाले उल्लेख गरेको छ ।
वर्षा, हिमपात तथा चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ ।