पोखरा / पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ । फाइनान्सका एक उच्च अधिकारीका अनुसार संस्थाले आफ्ना ग्राहकहरूलाई अधिकतम् वित्तीय सेवा प्रदान गर्न र सेयरधनीहरूलाई उच्च प्रतिफल दिने लक्ष्यका साथ मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा फाइनान्सले छलफल सुरु गरिसकेको छ ।
स्रोतका अनुसार पोखरा फाइनान्स लिमिटेडको वर्तमान सञ्चालक समितिले वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा छलफल गरेर प्रक्रिया अगाडि बढाइसकेको छ । तर कुन बैंकसँग मर्जमा जाने भन्ने बिषयमा भने फाइनान्सले खुलाएको छैन ।
वि.सं २०५३ सालदेखि सञ्चालनमा आएको यस पोखरा फाइनान्स लिमिटेड पोखरा क्षेत्रको एक स्थापित र पुरानो वित्तीय संस्थाका रूपमा परिचित छ ।
यस बितिय संस्थाले हाल मुख्य कार्यालयसहित कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाडौँ, ललितपुर, रूपन्देही र बाँके समेत गरी २५ वटा शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
हाल यस संस्थाको चुक्तापुँजी १ अर्ब ८ करोड, निक्षेप ११ अर्व र कर्जा ८ अर्ब माथि रहेको बताइएको छ ।