सियोल / उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार बताएको छ ।
उत्तर कोरियाको कुमगाङ पर्वतमा सन् २०१८ मा अन्तिम पटक भएको पुनर्मिलन कोरियाली प्रायद्वीपको विभाजनको विनाशकारी मानवीय मूल्यको प्रमाण थियो ।
तर यी भेटघाटहरू अन्तर–कोरियाली राजनीतिको अधीनमा थिए र प्योङयाङद्वारा प्रायः वार्ताको साधनका रूपमा प्रयोग गरिन्थे । “माउन्ट कुमगाङ पुनर्मिलन केन्द्रको विध्वंस छुट्टिएका परिवारहरूको हार्दिक इच्छालाई कुल्चने अमानवीय कार्य हो”, सियोलको एकीकरण मन्त्रालयका प्रवक्ताले भने, “दक्षिण कोरियाले यस्ता कार्यहरू तत्काल रोक्न कडा आग्रह गर्दछ र कडा खेद व्यक्त गर्दछ, उत्तर कोरियाको एकपक्षीय विध्वंस कुनै पनि बहानाअन्तर्गत उचित हुन सक्दैन र उत्तर कोरियाली अधिकारीहरूले यस अवस्थाको लागि पूर्ण जिम्मेवारी लिनुपर्छ ।”
सन् १९८८ देखि करिब एक लाख ३० हजार दक्षिण कोरियालीले आफूलाई ‘छुट्टिएका परिवार’ का रूपमा दर्ता गराएका छन् । सन् २०२५ सम्म आधिकारिक तथ्याङ्क अनुसार ती व्यक्तिहरूमध्ये करिब ३६ हजार जना अझै जीवित छन् ।
पचहत्तर प्रतिशतले आफ्ना आफन्तहरू जीवित छन् वा मृत छन् भन्ने थाहा नभएको बताएका छन् । केही भाग्यमानीलाई माउन्ट कुमगाङ रिसोर्टमा आयोजना गरिने सीमापार पुनर्मिलनमा भाग लिन छनोट गरिएको थियो ।
जीवनभरका लागि विछोड
उत्तर र दक्षिण कोरियाले पहिलो यस्तो पुनर्मिलन सन् १९८५ मा गरेका थिए, तर त्यस वर्षको पहिलो अन्तर–कोरियाली शिखर सम्मेलनपछि सन् २००० मा मात्र तिनीहरू नियमित कार्यक्रम बने ।
पुनर्मिलनहरू परिवारहरू रुँदै पुनर्मिलन हुने र छोटो दिनको भेटघाटपछि बिछोड हुने भावनात्मक दृश्यहरूले चिनिन्थे ।
उत्तर कोरियाले गत वर्ष संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि दुई कोरियाबिचको सम्बन्ध अहिले सबैभन्दा तल्लो विन्दुमा पुगेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्ष सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गर्नुभयो र आफ्नो सरकारको लामो समयदेखि रहेको पुनः एकीकरणको लक्ष्यलाई त्यागे ।
प्योङयाङले कार्यकर्ताहरूद्वारा उत्तरतर्फ पठाइएका प्योङयाङ–विरोधी प्रचार पत्रहरूको बदलामा भन्दै फोहोर बोकेका बेलुनहरू दक्षिणतर्फ पठाएको छ ।
पुनर्मिलन कार्यक्रम प्रभावकारी रूपमा रोकिइसकेको छ जसले गर्दा हजारौँ छुट्टिएका परिवारलाई आफ्ना प्रियजनहरूलाई फेरि भेट्ने आशा क्रमशः कम हुँदै गएको छ ।