फिल्म निर्माणको अनुभव थिएन तर इच्छा बच्चादेखिकै हो । अहिले ‘रंगी’ निर्माण गरेपछि भने उत्साह थपेको छ । फागुन २ गतेबाट हलमा आउन लागेको रंगीकै प्रमोसनको दौडधुपका क्रममा सकारात्मक प्रतिक्रिया पनि आइरहेको छ । सकेसम्म धेरै भन्दा धेरै अडियन्सहरूकोे नजिक पुग्ने कोशिस गरिरहेको छु ।
हाम्रो परिवारमा ड्याडी फिल्म मेकर नै हुनुहुन्छ । उहाँबाटै धेरै कुरा सिक्ने मौकापनि पाएँ । अलिअलि अभ्यास त पहिल्यैदेखि नै गरिरहेको थिएँ । यसैक्रममा मेरो घरमा छोरीको जन्म भएपछि केही फरक तरिकाले काम गर्न सुरू गरेको हुँ । निर्माण क्षेत्रमा पनि भूमिका देखाउन थालेको हुँ । अभिनयले मात्र नहुने रहेछ फरक तरिकाले अगाडि बढ्ने सोचले अघि बढिरहेको हुँ ।
अभिनय गरिरहेको मान्छे मेरो अगाडि भविष्य भनेको कि निर्देशक कि निर्माता बन्ने भन्ने नै थियो । मलाई निर्देशनमा त्यति धेरै आँट छैन । अहिले नै सक्षम भइसकेको छु जस्तो लाग्दैन । निर्माताका रूपमाचाहिँ सुरु गरौँ न भनेर अघि बढेको हुँ । घरमा छोरीको आगमन भएसँगै आफूलाई इच्छा लागेको भनेको बाबा–छोरीकै कथाबस्तुमा फिल्म बनाउने इच्छा अनुसार ‘रंगी’ काम अघि बढेको हो ।
यस्तो कथाबस्तुमा फिल्म बनाउन हिम्मत मात्र नभइ अनुभूति गरेरै अघि बढेको हुँ । सधैँ अरु प्रोडक्सन हाउसको सिनेमा खेलेर मात्र पनि हुँदैन, आफ्नो पनि हुनुपर्छ भनेर भविष्यलाई सम्झेर नै सुरु गरेको हुँ ।
सोही अनुसार रंगीमा बाबा छोरीको स्टोरी समेट्ने प्रयास गरिएको छ । त्योसँगसँगै काठमाडौँको लोकल स्टोरी पनि हो । यसमा एउटा समाजलाई चित्रण गर्ने कोशिस गरेका छौँ । समाजमा देखिने हरेक किसिमका व्यक्तिहरूलाई रंगीमा समावेश गरेको छु । रंगीचाँही मायाको कथा पनि भएकाले भ्यालेन्टाइनस डे को दिनलाई रिलिज गर्ने सोच बनाएका हौँ । तर मायाका धेरै रूपहरूमध्ये नेपाली फिल्ममा नदेखाइएको छुट्टै मायाको कथा यसमा छ । दर्शकहरूले रूचाइदिनुहुन्छ जस्तो लाग्छ ।
फिल्ममा धेरै कुराहरू सरप्राइजकै रूपमा आउने छ । ति सबै कुराहरू यहाँ नभनौं, हलमै पुगेपछि सबै थाहा भइहाल्छ । छोरी सान्बिका नै यो फिल्ममा देखिने होइन उनी सानै पनि छिन । तर अरु दुईचार वटा आहा ! भन्ने किसिमका फ्याक्टरहरूचाहिँ समेटिएको छ । धेरै जनाले मेरो श्रीमती पनि फिल्ममा देखिनुहुन्छ कि भनेर सोधिरहनु भएको छ तर यसलाई मैले गोप्य नै राखेको छु । त्यसबारेमा पनि हलमै गएर हेर्नुहोला भन्न चाहन्छु ।
यतिबेला म निर्माताका रूपमा धेरै चुनौतिहरूको सामना गरिरहेको छु । कलाकार हुँदा अभिनय कस्तो भयो होला भन्ने मात्र हुन्थ्यो तर निर्माता बनेपछि अलग्गै जिम्मेवारी हुने रहेछ । पूरै टिमलाई पनि मैले बोकेर हिड्नपर्छ । सबैको बारेमा सोच्नुपर्छ । कसैको चित्त नदुखोस् कसैलाई नराम्रो नलागोस् भनेर काम गर्नुपर्ने रहेछ । साथै रिलिजको बेलामा पनि अलि धेरै प्रेसर हुँदो रहेछ । पुरै टिमलाई म्यानेज गरेर हिड्न कठिन भइरहेको छ । पोस्ट प्रोडक्सन एकतिर चलिराखेको छ भने प्रमोसन अर्कातिर चलिराखेको छ । सबैतिर ध्यान दिइराख्नुपरेको छ । ठूलो लगानी परेको छ, उठ्ने हो कि होइन भन्ने चिन्ता पनि थपिएको छ ।
अहिले हाम्रो ट्रेलर कन्टेन्ट दर्शकले मन पराउनु भएको छ । त्यो हेर्दा सायद सिनेमा रूचाइदिनुहुन्छ होला जस्तो लागिरहेको छ । एकदमै सकारात्मक छु । सामाजिक सञ्जालमा जसरी प्रतिक्रियाहरू दिनुभएको छ, प्रमोसनमा जाँदा पनि राम्रो प्रतिक्रिया पाइरहेको छु । नेपाली फिल्ममा काम गर्न थालेको २६ वर्ष भयो । फिल्म बाहेक अरु केही केहीमा पनि काम गरेको छैन । त्यसकारण पनि सबैले मन पराइदिनुहुन्छ होला ।
जतिपनि सिनेमामा मैले लिड भूमिकामा खेले तर व्यवसायिक रूपमा सफल भएनन् । त्यसले गर्दा म एउटा मेकर धेरै कुरामा लगानी गरेको छु । म बच्चा नै पनि भएकाले धेरै कुरालाई ध्यान नदिएको हुनसक्छ । मैले पनि भूमिका छान्दा ध्यान दिनुपर्छ । रंगीमा फुड डेलीभरीको भूमिकामा देखिएको छु ।
फिल्ममा भर्खरै रिलिज भएको ‘तिमीले रेट्यौ मनको तार’ गीत एकदमै चलिरहेको छ । ५० हजारमाथि टिकटक बनिसकेका छन् । यही गीतले गर्दा पनि भ्यालेन्टाइ डे हामीले रोजेका हौँ । प्रेम गीत अर्थात भ्यालेन्टाइनस् भन्ने वित्तिकै मायाको उत्सव जस्तो दिन भएकाले रिलिज मिति तोकेका हौँ । भ्यालेन्टाइन डे रंगीका लागि उपयुक्त समय हो जस्तो लागेको छ ।
अहिले नेपाली सिनेमाले जसरी व्यापार गरिरहेको छ, त्यो देख्दा मलाई उत्साह पनि थपिएको छ । किनभने भर्खरै ‘छक्का पन्जा’, ‘१२ गाँउ’, ‘ज्वाँइसाब’ एकै दिन आउँदा तीन वटाले नै एकदमै राम्रो व्यापार गरेका छन् । त्यसैले रंगीलाई पनि बजारमा त्यस्तो धेरै समस्या पर्छ जस्तो लाग्दैँन । पछिल्लो समय नेपाली फिल्मले एकदमै राम्रो काम गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास रचेको छ । राम्रो कामलाई दर्शकले रूचाइ दिनुहुन्छ ।
हलमा सिनेमा चलाउने कुरा सामान्य पनि होइन् । हलका फिल्म लगाउने विषयमा राजनीतिकीकरण हुन्छ भन्ने त लाग्दैन । म नयाँ निर्माता भएकाले पनि धेरै अनुभव गर्न पाएको छैन । त्यसकारण मैले बुझिसकेको भने छैन । हल सञ्चालकहरूले राम्रो साथ दिइरहनुभएको छ । तर सिनेमा प्रदर्शन गर्न एकदमै चुनौतीपूर्ण काम रहेछ एकदमै गाह्रो काम रहेछ । एउटा सानोतिनो लडाई नै रहेछ, म लड्दै छु ।
रंगी आफैंले देखेको भोगेको बुबाबाट प्रोत्साहित भएर बनाएको कथा हो । नेपाली समाजमा कस्तो छ भने बाबा भनेपछि एउटा बलियो मान्छे, उसलाई केही पनि हुदैँन् भन्ने खालको बन्नैपर्ने उदाहरण छ । बुबाभित्रको पीडा, संघर्ष र सबैको अगाडि बलियो बन्दा आफूभित्र के महशुस भइरहेको हुन्छ होला भन्ने यसले देखाउँछ । किनभने बुबाको दुखाई त भित्र हुन्छ नि ।
यसको साथै छोरीहरूको सम्बन्ध बाबाहरूसँग कस्तो हुन्छ, बाबा र छोरीको सम्बन्ध कस्तो हुन्छ यो कुरालाई पनि देखाउन खोजेका छौँ । मेरो आफ्नै पनि छोरी छ त्यसपछि झन मैले कतिवटा कुराहरू महशुस गरे त्यहाँबाट सुरु भएको हो रंगी । मैले विशेष रूपमा बाबा र छोरीको सम्बन्ध देखाउन खोजेको हुँ ।
काठमाडौँ उपत्यका भित्रै छायाङ्कन भएकाले छोरी पनि साथै हुन्थिन । छोरीको भूमिका खेल्नुभएको आयुषीले धेरै राम्रो भूमिका निर्वाह गर्नुभएको छ । सुटिङ्भरको समयमा आयुषी छोरी जस्तै लाग्छ । मैले भन्न पनि छोरी नै भन्छु, त्यो एउटा सम्बन्ध पनि बन्यो । मेरो आफ्नो छोरी पनि ठूलो भएर यस्तै हुन्छ होला जस्तो लाग्छ । आयुषी मनको लागि एउटा नयाँ परिवार थपिएको जस्तो पनि लाग्यो ।
यो फिल्म नेपालमा रिलिज भएपछि मिडिल इस्टभरी अर्थात युएइ, कतार, ओमान, कुबेत, मलेसिया, जापान, युरोपको माल्टा र अष्ट्रेलियामा फिल्म रिलिज हुने लगभग तय भइसकेको छ ।
यतिबेला भ्यालेल्टाइन डेको मौसम भएकाले यसको पनि राम्रो र नराम्रो दुवै पक्षहरू छन् । तर अब विस्तारै सुधार हुँदै जाने प्रयास गर्नुपर्छ । एकदमै नराम्रो मात्र हुन्छ भनेर पनि भन्दिन किनभने म आफँैले भ्यालेन्टाइन डे मनाइरहेको छु । यस दिनले माया अझ धेरै गाढा हुने र धेरै गहिरो बन्नसक्छ ।
रंगी लिएर दर्शकमाझ आउनु भनेको मेरो करियरको खुड्किलो पनि हो । मेरो पहिलो प्रयास हो । एकदमै राम्रो प्रयास गरेको छु । मन छुने सिनेमा बनाएको छु । मैले यति धेरै वर्षमा सिकेको कुरालाई यहाँ लगानी गरेको छु । सबैले सहयोग गरिदिनुहोला ।
[नेपाल न्यूज बैंककी आकांक्षा धामीसँगको कुराकानीमा आधारित]