काठमाडौँँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो ? जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै आक्रोशित भए ।
उनले सांसद शाहले आफ्नो प्रश्नमा नै सबै उत्तर बोकेर आएको भन्दै उत्तर समेत दिएनन् । उनले भने, “उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन् । संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन ?, युवा विदेश पठाएर जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो ? तपाईले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो ? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन । प्रश्नमा उत्तर बोकेर आउनु भएको छ । यहाँलाई धन्यवाद छ ।”
सांसद साहले नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाई किन मौन बस्नुभयो ? विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता किन गर्नुभयो ? अहिलेको शताब्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो ? जस्ता प्रश्नहरू प्रधानमन्त्रीलाई गरेका थिए ।
“नेपाली नागरिकता परित्याग गरी विदेश नागरिकता लिनेहरुको संख्या कति छ ? उनीहरुको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कति छ ? ती अवैध सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के–के गर्नुभयो ? खुलेआम अवैध सम्पत्तिलाई विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने ? सक्षम कि असक्षम ? झण्डै ७० लाख भन्दा नेपाली युवा अहिले वैदेशीक रोजगारीमा छन् । श्रम सम्झौताअनुसार वर्षमा झण्डै ४० खर्ब रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेको रिपोर्ट बुझ्दा यो वर्ष १३ देखि १४ खर्ब मात्र आउने सम्भावना छ । मेरो प्रश्न छ । नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाईं किन मौन बस्नुभयो । संख्याको अनुपातमा ती रेमिटेन्स सबै किन नेपाल आएन ? विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलको शताव्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो ?” उनको प्रश्न छ ।