काठमाडौँ / ‘छड्के २’का निर्माता प्रशान्त गिरीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस्ले नयाँ फिल्म ‘जवाफ’ निर्माणको घोषणा गरेको हो ।
पोस्टरमा ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरूको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले फिल्म डार्क एक्सन थ्रीलर रहेको सङ्केत गर्छ ।
यो फिल्मलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने छन् । सम्पूर्ण छायाङ्कन भारतमा नै हुने बताइएको फिल्मको अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केही जानकारी गराएको छैन । कार्याकारी निर्माताको रूपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । दशक लामो रंग पत्रकारिताको अनुभवलाई उनले फिल्म निर्माणमा प्रयोग गर्ने छन् ।
निर्माता प्रशान्त गिरी अभिनेता समेत हुन् । यो फिल्मलाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण कम्पनिले घोषणा गरेको छ ।