काठमाडौँ / उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आरोपै आरोप लगाएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सबै प्रतिपक्षी दलहरूका तर्फबाट भन्दै घिसिङमाथि ऊर्जा मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको र शून्य नम्बर दिएकोबारे सरकारको जवाफ माग गर्दै रुलिङ मागेपछि सभामुख देवराज घिमिरेले रुलिङ गरेका थिए।
त्यसपछि जवाफ दिन सुरु गररेका उर्जामन्त्री खड्काले २५ मिनेट लगाएर विद्युत प्राधिकरण र निर्देशक घिसिङको विषयम प्रष्ट पार्ने कोशिश गरेका थिए । सो, क्रममा उनले घिसिङलाई आरोपै आरोप लगाएका छन् ।
सो क्रममा मन्त्री खड्काले कुलमान घिसिङले प्राधिकरणको नक्कली नाफा देखाएर जनतालाई भ्रमित पारेको बताए । उनले प्राधिकरणले उठाउन नसकेको बक्यौतालाई आधार मानेर नाफा देखाएको तर्क गरे । प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक पटक निर्णय भए पनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलब्ध नगराएको उनको आरोप छ ।
त्यस्तै, मन्त्री खड्काले लोडसेडिङ अन्त्य गरेको भनेर नायकको उपाधि पाएको भन्दै त्यसमा सत्यता नरहेको बताएका छन् । लोडसेडिङ अन्त्यको श्रेय छिमेकी मुलुक भारतलाई दिनुपर्ने खड्काले बताए । मन्त्री खड्काले एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने उनको भनाई छ ।
“चार सय मेगावाट उहाँहरू (भारत)लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो । त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ,” उनले भने । केपी ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय उनको दावी छ ।
उनले थपे, “उहाँ एक जना (घिसिङ) व्यक्तिले मात्रै गरेको होइन । कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौँ । उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौँ भनेको छ र । उहाँलाई धन्यवादै दिन सकिन्छ । यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ । त्यस्तो होइन है माननीयज्यूहरू । यो भ्रममा नपालौं भन्न चाहेको हुँ ।”
घिसिङ अटेरी र एकलकाँटे भएको उनको आरोप छ । मन्त्री खड्काले काँग्रेस र माओवादी मिलेरै चुनाव लडेकाले कुलमानको बारेमा विभाजित हुन आवश्यक नरहेको बताए ।
खड्काले भने, “सरकार फेरिएर गठबन्धन फेरिएर भन्ने होइन । म पनि सङ्खुवासभामा काँग्रेसका जिल्ला सभापति थिएँ । तपाईँहरू र हामी मिलेर चुनाव लडेका हौँ । हामीलाई जिताउँदा तपाईँहरूका पनि हात गले होलान् । तर हाम्रो त तपाईँहरूलाई जिताउन भनेर बोक्दा बोक्दा गलेको ढाड सोझिएकै छैन । त्यसैले तपाईँहरू र हामीबीच कता कता माया छ ।”
मन्त्री खड्काले कुलमानले सरकारलाई अटेर गरेको, कुनै पनि आयोजनाको पारदर्शी हिसाब नदेखाएको र जे पनि गर्छु भन्ने दम्भ देखाएको बताए ।
उनले नेपालमा लोडसेडिङ अन्त्य कुलमानले गरेको नभई भारतसँग बिजुली किन्ने सम्झौता गर्ने तत्कालीन केपी शर्मा ओली सरकार र बिजुली दिने भारत सरकारले लोडसेडिङ अन्त गरेको बताए ।
उनले भने, “कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाएका कारण शून्य अंक दिइएको हो । हामीले पटक–- माग्दा बेवास्ता गरिएको थियो, एकैपटक पुसमा उहाँ आफैँले ९८.९९ प्रतिशत आएको छ भनेर मन्त्रालयलाई दिनुभयो । यहाँ धेरै शिक्षक साथीहरू हुनहुन्छ, विद्यार्थी भएर आएकाहरू पनि हुनुहुन्छ, यदि विद्यार्थी परीक्षामा सहभागी हुँदैन भने कति नम्बर प्राप्त गर्नुहुन्छ ?”
उनले घिसिङ कानुनभन्दा माथि छन्, कानुन लाग्दैन भन्ने हो भने संविधान लेख्नुपर्यो भन्दै उनले घिसिङलाई काँधमा बोकेर नहिँड्न पनि विपक्षी साँसदहरूलाई सुझाव दिए।
खड्काले भने, “एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा गाउँघरतिर भने जस्तै बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ भन्छन् । त्यस्तो नहोस् ।” मन्त्री खड्काले कुलमानको विषयमा जति खोतल्यो उति नै भ्वाङ परेको बताए ।
उनले भने, “सबैले राम्रो काम गर्नुभएको छ भन्नुभयो, होला भनेर म पनि उहाँसँग खुसी नै थिएँ, उत्साहित नै थिएँ । तर, जति खोतल्यो उति भ्वाङ पर्छ ।”
मन्त्री खड्काले राम्रो कामका लागि पुरस्कृत गर्न पनि आफू तयार भएको बताए ।