काठमाडौँ / काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको चर्को आलोचना गरेकी छन् । उनले आफू हरेक घटनाक्रमबारे जानकार रहेको भन्दै मेयर शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी पनि दिएकी छन् ।
उनले भनिन्, “यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन ।”
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ साढे तीन महिनापछि आज जिम्मेवारी सम्हाल्न पुगेका थिए । मेयर शाह भने उनको कार्यकक्षमा ताला लगाएर चाबी बोकेर बेपत्ता भएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिना अघि पत्र पठाएको थियो । मन्त्रालयको पत्रपछि गुरागाईँ बिहीबार महानगरपालिका पुगेका थिए ।
मेयर शाहले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं उपमेयर डंगाललगायत जनप्रतिनिधहरूको सहययायो कार्यालय प्रवेश गरेका थिए ।
उनलाई उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत समेत गरेका थिए ।
तर, कार्यकक्षको चाबी नभएपछि उनी केही बेर बाहिर बसेका थिए ।
बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू, महानगरका प्रवक्ता नवीन मानन्धरले पनि मेयर वालेनको कार्यशैलीको आलोचना गरे । उपमेयर डंगोलले भनिन्, “मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ । उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबिच लडाइँ हुनु पनि राम्रो होइन ।”
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ दोषी प्रमाणित भएमा आफू कारवाही गर्न तयार रहेको उनको भनाइ छ ।
गुरागाईँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले थपिन, “हजारौँ कर्मचारी र लाखौँ काठमाडौँवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।”
महानगरवासीको हित चाहने सबै एकजुट हुनुपर्ने उनले बताइन् ।
नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयर शाहको आदेशमा ताला लगाएको जवाफ दिएका थिए । गुरागाईँ भने ताला फोडेर कार्यकक्षमा पुगेका छन् । उनले नयाँ हाजिरी रजिष्टर खडा गरेर हाजिरीसमेत गरे ।
कार्यकक्षमा पुगे पनि महानगरको हाजिरी रजिष्ट्रर मेयर बालेन शाहले राखेपछि उनले नयाँ हाजिरी रजिष्टर खडा गरेर हाजिरी गरेका हुन् ।
यसअघि मेयर शाहले पुरानो बसपार्कको काठमाडौँ टावर निर्माण अनुमति दिँदा अनियमितता गरेको भन्दै गुरागाईंलाई निलम्बन गरेका थिए ।