काठमाडौँ / सरकारले नियुक्तिमा ढिलाइ गर्दा नेपाल राष्ट्र बैंकले अहिलेसम्म १८औँ गभर्नर पाउन सकेको छैन । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि आइबारदेखि सकिएपछि राष्ट्र बैंकको गभर्नर पद खाली भएको हो ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेपछि अधिकारी शुक्रबारदेखि नै राष्ट्र बैंकबाट बिदा भएका हुन् । सरकारले ढिलागरी सोमबार मात्रै कायममुकायम गभर्नर बरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानालाई तोकेको छ ।
संसद्को ठुला दुई दल मिलेर बनेको सरकारको अलमलका कारण गभर्नर नियुक्तिमा ढिलाइ हुन पुगेको हो । जबकि राष्ट्र बैंकको ऐनमा ‘पद रिक्त हुनु एक महिनाअघि’ नै गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
तर, सरकारले गभर्नर नियुक्तिका लागि अहिलेसम्म समिति गठन गर्नेबाहेकको प्रकृया सुरु गरेको छैन । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थपूर्ण निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।
किन नियुक्त हुन सकेन राष्ट्र बैंकको १८औँ गभर्नर ?
निवर्तमान गभर्नर अधिकारीले अवकाश पाइसकेपछि पनि राष्ट्र बैंकले नयाँ गभर्नर नपाउनुले सरकारको कमजोरी छताछुल्ल भएको छ । संसदको ठुला दुई दलको सरकार यतिबेला गभर्नर पद तानातानको स्थितीमा छन् ।
यस विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सार्वजनिक कार्यक्रममै सरकारको नेतृत्वबारे असन्तुष्टि पोखेका छन् । त्यस्तै, प्रधामन्त्री ओली भने कायममुकायम गभर्नर ढुङ्गानालाई नियुक्ति दिने पक्षमा देखिन्छन् ।
अतः दुई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भागबण्डा नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको पुष्टि हुन्छ ।
के गर्दैछ सिफारिस समिति ?
नेपाल राष्ट्र बैंक ऐनको दफा १५ मा गभर्नर नियुक्तिसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार गभर्नर नियुक्तीका लागि सरकारले अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति बनाउनु पर्छ।
सोही बमोजिम सरकारले गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउँदै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिका सदस्यमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन् । नेपाल राष्ट्र बैंकले उक्त समितिमा रहने सदस्यहरूको योग्यता पनि तोकेको छ ।
समितिमा एकजना पूर्वगभर्नर हुनैपर्छ भने अर्थ, वाणिज्य, वित्तलगायतका क्षेत्रमा विज्ञता भएको अर्को एक जना व्यक्तिलाई सरकारले सदस्य तोक्न सक्ने व्यवस्था भए बमोजिम सरकारले सिफारिस समिति बनाएको हो ।
तर, दुई साता नाघिसक्दा पनि समितिको बैठक बस्न सकेको छैन । समितिले गभर्नका लागि तीन जना सम्भावित नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गर्नुपर्नेछ ।
दफा १५ को उपदफा (३) मा भनिएको छ, “...समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, ब्याङ्किङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।”
“नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एकजनालाई गभर्नर पदमा नियुक्त गर्नेछ।” ऐनले नै डेपुटी गभर्नरसहित तीन जनालाई सिफारिस गर्नेपर्ने व्यवस्था गरिएको छ ।
गभर्नर नियुक्तिमा सरकारले ऐन मिचेको हो ?
राष्ट्र बैंकको ऐनको दफा २५ मा ‘गभर्नर नियुक्तिको सार्वजनिक सूचना’सम्बन्धी व्यवस्थामा गभर्नर नियुक्त गर्नुपर्ने समयबारे उल्लेख गरिएको छ । जहाँ भनिएको छ, “नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ।”
सरकारले राष्ट्र बैंकको ऐनअनुसार गभर्नर नियुक्ति प्रक्रिया सुरु गरेको छैन । निवर्तमान गभर्नर अधिकारीको पदावधि सकिदासमेत सरकारले बनाएको समितिले समेत काम सुरु गरेको देखिदैन ।
राष्ट्र बैंक गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुका अतिरिक्त आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनका क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने ऐनमा उल्लेख छ ।
त्यस्तै, राष्ट्र बैंक ऐनले गभर्नर तथा सञ्चालकबारे ब्याख्या गर्दै उल्लेख गरेको छ, “‘कार्य अनुभव भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा ‘क’ श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघसंस्थाको कार्यकारी तहको पद वा सोसरह पद वा मर्यादाक्रम हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनुपर्छ ।”
राष्ट्र बैंक ऐनमा कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर वा सञ्चालकका लागि अयोग्य हुने व्यवस्था भए पनि सत्तारुढ राजनीतिके कोटामै गभर्नर नियक्ति हुने गरेको छ ।
को बन्ला १८औँ गभर्नर ?
गभर्नर बन्ने दौडमा अहिले राष्ट्र बैंकका डेपुटी गभर्नर, पूर्व बैंङ्कर, पर्वूमूख्यसचिव, पूर्वकर्मचारीहरू रहेका छन् । गभर्नरको बन्ने पहिलो नम्बरमा बरिष्ठ डेपुटी गभर्नर हाल कायम मुकायम गभर्नर डा. ढुङ्गानाको नाम रहने सक्ने सम्भावना छ ।
ढुङ्गानाका नेपालको पहिलो महिला गभर्नर बन्ने दौडमा छिन् । त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उनलाई प्राप्त भएको हो।
नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उनी भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुन् ।
केही दिनयता प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममै राष्ट्र बैंकको १८औँ गभर्नरमा महिलालाई नियुक्ति दिएर इतिहास रच्नेतर्फ सङ्केत गरेका छन् ।