दसैं पर्वको विगत र वर्तमान

दसैं पर्वको विगत र वर्तमान

अहिलेको दसैंको अवस्था भनेको असाधारण अवस्था हो, मान्छेसँग मान्छेले डराउनुपर्ने, मान्छेलाई मुख देखाउन नहुने वा नसक्ने अवस्था हो । आफ्नै कारणले आफु र आफ्ना मान्यजन जोखिममा परेको कसैलाई पनि मन पर्ने कुरा होइन । त्यसैले जो जहाँ छौं त्यही बसेर दसैं मनाऔं ।

अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७ (अर्काइभ बाट)
  • दसैं पर्वको विगत र वर्तमान

    दसैं नेपालीहरूको विशिष्टतम चाड हो । हरेक वर्ष असोज शुक्ल प्रदादेखि सुरु हुने यो पर्व दसमीसम्म मनाइन्छ । कतैकतै पूर्णिमासम्म मनाउने गरिएको पनि पाइन्छ ।

    images
    images

    नौँ दिनसम्म दुर्गा अर्थात् शक्तिस्वरूपिणी माता भगवतीको पूजा तथा उपासना गरी प्रसादको रूपमा मान्यजनका हातबाट टीका र जमरा लगाएपछि वर्षभरि सुख, शान्ति र आनन्द पाइन्छ भन्ने परम्परागत मान्यता छ । 

    दुर्गा पूजाको परम्परा भारतीय भूभागमा पनि पाइन्छ । बङ्गालीहरूको दुर्गा पूजाले देशविदेशमा चर्चा पाएको छ तर नौ दिनसम्म दुर्गा पूजा गरी प्रसादको रूपमा टीका र जमारा लगाउने चलन भने नेपालको विशुद्ध मौलिक परम्परा हो ।  

    दसैं भन्ने बित्तिकै प्रायः राम्रो लगाउने र मीठो खाने पर्वको रूपमा लिने गरिएको पाइन्छ । शहरबजारतिर यसको खासै महत्व नहोला यसको । 

    dahsai corona.JPG

    वर्षभरि राम्रो लगाउन र मीठो खान पुगेको हुन्छ विशेष गरी हुने खानेका लागि तर गाउँघरतिर र शहरबजारमै पनि हुँदा खानेका लागि यसको महत्व ठूलै हुन्छ ।

    कम्तीमा दसैंमा एकपटक भए पनि नयाँ लुगा सिलाउनै पर्छ भन्ने मान्यता अझै कायमै छ कतिपय ग्रामीण परिवेशमा ।

    आफूहरूका लागि त के छ र पोहोर साल सिलाएको कपडा छ, यसैले चलाउनु पर्ला तर बालबालिकाहरू मान्दैनन्, उनीहरूका लागि भए पनि नयाँ लुगा सिलाइउनै पर्छ भन्ने आमा बाबुहरू पनि नभेटिने होइनन् खोजिपसे गाउँघरतिर । 


    मासु खाने दसैंको अर्को विशेषता हो । सँधैभरि खान पाउने भाग्यमानीहरू पनि दसैं भनेपछि बढी मासु खानुपर्छ भन्ने मान्यता राख्छन्, खान्छन् । अघिपछि खासै पहुँच नहुनेहरूका लागि पनि दसैंका लागि बढी नै मासुको व्यवस्था गर्नुपर्ने हुन्छ । दसैंमा नखाएको मासु कहिले खाने भन्नेहरूको सायद अझै कमी छैन गाउँघरमा । 

    दसैंका लागि भनेर पहिले पहिले गाउँघरमा ठूला ठूला खसी पाल्ने गरिन्थ्यो । चार धार्नी त बोसो नै आयो भन्नेहरू पनि भेटिन्थे । अहिले पनि कतैकतै यस्तो चलन कायमै रहेको पाइन्छ । गाउँघरमा चाहिने मासु घरगाउँमै उत्पादन हुन्छ । शहर बजारतिरका लागि चाहिने मासु पनि गाउँघरमै निर्भर गर्छ ।

    दसैंका लागि भनेर बजारमा विभिन्न ब्रान्डका कपडा ल्याएका हुन्छन् व्यपारीहरूले । ठूला ठूला कर्पोरेट हाउसहरूले विभिन्न डिजाइनका मोटर, कार, गाडी तथा मोटर साइकल ल्याएर विभिन्न पुरस्कारको माध्यमबाट ग्राहकहरू आकर्षित गर्र्ने गर्छन् ।

    त्यस्तै हिजोआज ठूलठूला प्रकाशन गृहहरूबाट विभिन्न किसिमका पुस्तक प्रकाशित गर्ने गरेका छन् । कपडा तथा किराना पसलहरूमा लाग्ने भीड भनिसाध्ये हुने थिएन पोहोर परारतिर ।

    तीन दिन भयो कपडा च्यत्दा च्यात्दा समयमा खानसमेत पाइएको छैन भन्ने साहुजीहरू पनि त्यत्तिकै भेटिन्थे तर कोरोना कहरको कारण यस वर्ष खासै रौनक छैन । व्यपारमा मन्दी छाएको छ । महङ्गीले आकाश छोएको छ, आम्दानी छैन । कसले किन्ने कसरी किन्ने । किन्ने मानिस नभएपछि मन्दी आउने नै भयो ।

    economy - corona -loss.JPG
    बाटो घाटो सरसफाइ र घर सिंगार्ने वा रङ्गाउने चटारो अर्को विशेषता हो दसैं पर्वको । सोह्र श्राद्ध सकिन भ्याएको हुन्न रातो माटो, कमेरो तथा काली लगाउने चीजको खोजी हुन थाल्थ्यो ।

    बालबालिकाका लागि चङ्गा र पिङ अर्को अकर्षणको वस्तु हो दसैंको । चङ्गाको चलन प्रायः शहरबजारतिर देखिए पनि पिङले भने के गाउँघर के शहरबाजर सर्वत्र स्थान पाएको हुन्छ । 

    बालबालिकाका लागि पिङ नभई हुन्न दसैंमा । टीकाको दिन त प्रौढहरू समेत पिङमा झुण्डिन चाहन्छन् । टीकाको दिन एकपटक धर्ती छाड्नुपर्छ भन्ने हजुरआमाहरू अझै भेटिनु हुन्छ सायद खोज्दै जाने हो भने ।

    आपसी प्रेम, सद्भाव र पारिवारिक जमघट अर्को विशेषता हो यस पर्वको । काम विशेषले दुरदराज पुगेकाहरू पनि दसैं मनाउन भनेर घर आउन चाहन्छन्, आउने गर्छन्, आएका हुन्छन् ।

    गाउँघर तथा टोलछिमेकमा कुनै मनमुटाव तथा वैमनस्यता भए त्यसलाई समेत मेटाउँछ दसैं पर्वले । अघिपछि मुख नबोल्नेहरू पनि दसैंमा अग्रज पृुस्ताबाट टीका र जमरा लगाएर आसीर्वाद लिन ललायित देखिन्छन् । 

    चेलीबेटीहरूका लागि माइती मावली गराउने काममा पनि यस पर्वको स्थान एक पाइलो अगाडि नै रहिआएको छ ।

    फुर्सद नहुने एकलसरो परिवारमा पनि घर कुर्ने मानिस खोजेर भए पनि लालबाला बोकेर माइती घर पुगेका हुन्छन् छोरी चेलीहरू ।

    भान्जाभान्जीका लागि मामाघरको महत्व अर्कै किसिमको हुने गर्छ तर कोरोना कहरका कारण यस वर्षको अवस्था भिन्दै हुन पुगेको छ । 


    यस वर्ष दसैं पर्व सदाभन्दा अलि फरक ढङ्गले मनाउनुपर्ने अवस्था छ । कोरोना महामारीबाट अग्रज पुस्ता बढी जोखिममा पर्ने गरेका छन् । उनीहरूलाई सम्मान गर्ने नाममा उनीहरूलाई नै बढी जोखिममा पार्नु कसैका लागि पनि राम्रो होइन ।

    त्यसैले जमघट नगरी जो जाहा छौं त्यहीं बसेर दसै मनाउनु पर्ने अवस्था छ यसपाली । दुर्गा पूजा घरमै बसेर पनि गर्न सकिन्छ । मठ मन्दिर धाउनैपर्छ भन्ने छैन । त्यस्तै जेष्ठ नागरिकबाट आसीर्वाद लिन भेट्नैपर्छ भन्ने पनि छैन । उहाँहरूबाट टाडैबाट पनि जतिभनी पनि आसीर्वाद लिन सकिन्छ ।

    सरकारले पनि जो जहाँ छ त्यही बसेर दसैं मनाउन आग्रह गरेको छ । आफू र आफ्नै मान्यजनका हितखातिरको आग्रह भएकाले सबैले यसलाई पूर्णतः अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

    आपसी भेटघाट तथा क्षेमकुशलको आदान प्रदान ज्यान बचे फेरि पनि गर्न सकिन्छ । मठ मन्दिर जान पनि पाइन्छ । पिङ खेल्न पनि पाइन्छ । शहर बजार घुम्न र किनमेल गर्न पनि पाइन्छ । ज्यानै नबचे के गर्ने ? 

    अहिलेको अवस्था भनेको असाधारण अवस्था हो, मान्छेसँग मान्छेले डराउनुपर्ने अवस्था हो, मान्छेले मान्छेलाई मुख देखाउन नहुने वा नसक्ने अवस्था हो । यसबारे सबैले समयमै होस पु¥याउनु जरुरी छ ।

    आफ्नै कारणले आफैलाई र आफ्ना मान्यजन जोखिममा परेको कसैलाई पनि मन पर्ने कुरा होइन । त्यसैले जो जहाँ छौं त्यही बसेर दसैं मनाइ आफू पनि बचौ र अरुलाई पनि बचाउने काम गरौं । यसैमा सबैको भलाइ छ । अस्तु अहिलेलाई यति नै ।

    विजया दसमीको सबैलाई शुभकामना । 


    लेखक कमल रिजाल अर्थ डबलीका लागि नियमित लेखक हुन् ।

     

    साताको लोकप्रीय