धुस्कुनमा वडाको अनुदानमा कृषि सहकारीलाई गाडी

धुस्कुनमा वडाको अनुदानमा कृषि सहकारीलाई गाडी

अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७
अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७ (अर्काइभ बाट)
  • धुस्कुनमा वडाको अनुदानमा कृषि सहकारीलाई गाडी

    सिन्धुपाल्चोक / त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित धुस्कुनमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले वडाको आर्थिक अनुदानमा गाडी खरिद गरी कृषि सहकारीलाई प्रदान गरिएको छ । 

    images
    images

    कृषि तथा पशुजन्य उत्पादनको  ढुवानीका लागी वडाको रु १३ लाख अनुदानमा धुस्कुन कृषि सहकारीलाई गाडी खरिद गरी उपलब्ध गराइएको हो । 

    सरकारी अनुदानमा गाडी आएपछि धुस्कुनका कृषक खुशी भएका छन् । “गाउँको उत्पादन अब बजारसम्म लैजान सजिलो हुनेभयो”, कृषि सहकारीका लागि गाडी आएपछि स्थानीय कृषकले खुशी व्यक्त गरे ।

    वडाको रु १३ लाख अनुदान र अपुग रकम सहकारीले नै व्यवस्थापन गरी कृषिजन्य उत्पादन ढुवानीका लागि गाडी खरिद गरी ल्याइएको धुस्कुन  कृषि सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताए । 

    “अब गाउँका  उत्पादनको बजारीकरण र ढुवानीका लागि सजिलो भएको छ, वडाको सहयोगमा सहकारीले गाडी प्राप्त गरेको छ”, अध्यक्ष न्यौपानेले भने । 

    कृषि क्षेत्रलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरी वडाले कार्यक्रम सञ्चालन गरिरहेको वडाध्यक्ष सुकदेव रिसाल बताउछन्। 

    आर्थिक वर्ष २०७७÷७८ का लागि पनि वडाले  गाईभैँसी अनुदान र कुखुरापालन व्यवसाय बीमा कोष स्थापना गरेको छ । बीमा कोष रु पाँच लाखबाट शुरु गरिएको र यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताइएको छ । 

    गाईभैँसी अनुदानअन्तर्गत धुस्कुन कृषि सहकारीसँग समन्वय गर्दै गाईभैँसी पाल्ने कृषकका लागि अनुदान उपलब्ध गराइने वडाध्यक्ष रिसालले बताए। 

    “पशुपालन गरी आयआर्जन गर्छु भन्नेका लागि बजेटको अभाव हुन दिइने छैन”, रिसालले भने। 

    यसअघि धुस्कुन कृषि सहकारीमार्फत वडाकै अनुदानमा दुग्ध चिस्यान केन्द्रका लागि आवश्यक उपकरण खरिद गरी ल्याइएको  थियो ।

    साताको लोकप्रीय