दाजुभाइको लोभलाग्दो उद्यम :  फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लगानी 

दाजुभाइको लोभलाग्दो उद्यम :  फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लगानी 

अर्थ डबली
बुधवार, साउन २० २०७८
अर्थ डबली
बुधवार, साउन २० २०७८ (अर्काइभ बाट)
  • दाजुभाइको लोभलाग्दो उद्यम :  फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लगानी 

    काठमाडौँ / बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । 

    images
    images

    यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्किएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए । 

    मीन रेश नुन्थला माविमा अध्यापन गराउँदै व्यवसायलाई पनि अघि बढाउने दाइको उद्देश्यमा साथ दिन तयार भए । 

    विसं २०६८ मा दुई भाइ मिलेर फर्निचर उद्योग सञ्चालन गरे। फर्निचर उद्योग स्थापना गरेको १० वर्ष भइसक्यो । अहिले थापा दाजुभाइकहाँ सामूहिक प्रयासमा बाख्रा, लोकल कुखुरा, बङ्गुर, बँदेलपालन तथा व्यावसायिक तरकारी खेती छ । कुटानी–पिसानी मिलसमेत छ । 

    दाइले विदेशबाट फर्केपछि गाउँमै व्यवसाय गर्ने सोच बनाएको र त्यसमा आफूले साथ दिएको मीन बताउछन् ।

    “सुरुमा हामी दुवै शिक्षक थियौँ, दाइ छोडेर विदेश जानुभयो, मैले निरन्तर शिक्षण पेसा गर्दै आए, उहाँ गाउँ फर्केर आएपछि आफ्नै व्यवसाय गरौँ भन्नु भो र सुरु गरियो, दाइले दिनभर व्यवसायलाई समय दिनुहुन्छ, म बिहान–बेलुका समय दिन्छु”, उनले भने, “बँदेलका र बङ्गुरका पाठापाठी बिक्रीलाई बढी जोड दिएका छौँ, बाख्रा र कुखुरामा भर्खर लागानी गरेका हौँ ।” 

    अहिले तीनवटा माउ बँदेल र ४० वटा बङ्गुर छन् । अहिले ३० वटा बङ्गुरबाट पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छ । बङ्गुरका पाठापाठी मात्रै बेचेर वार्षिक रु तीनदेखि चार लाख कमाउने गरेको गिरीले बताए । 

    “फर्निचर उद्योगबाट निस्केका काठ सदुपयोग गर्न बङ्गुरको खोर निर्माण गरेका थियौँ तर अहिले बँदेल र बङ्गुर व्यावसायिकरूपमा पालेका छौँ”, उनले भने, “विदेशमा भन्दा स्वदेशमा राम्रो कमाइ हुँदो रहेछ, अहिले थोरै भए पनि वार्षिक १०÷१२ लाखको कारोबार हुँदै आएको छ ।” 

    दुई भाइले पीपलडाँडा ताजा तरकारी तथा पशुपालन फार्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारीसमेत उत्पादन गर्दै आएका छन् । 

    अहिले दर्जनभन्दा बढी बाख्रा मासुका लागि बागलुङ बजारमा बिक्री भएको छ । फार्ममा आठ बाख्रा, सय लोकल कुखुरा छन् भने दुई रोपनी बारीमा लटरम्म सिमी फलेको छ । 

    मौसमी तरकारी मात्रै उत्पादन गर्दै आएका दाजुभाइले बेमौसमी तरकारी उत्पादनलाई समेत जोड दिने योजना बनाएको थापाद्वय बताउछन्। उत्पादन गर्न सके खसी, बोका, बँदेल, बङ्गुर, कुखुरा र फर्निचरका सामग्रीको बजारीकरणको कुनै समस्या नभएको उनीहरुको भनाइ छ ।  

    कुटानी–पिसानी, बाख्रापालन तथा कुखुरापालनमा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गर्दै आएको दाजुभाइको भनाइ छ । त्यसबाहेक फर्निचरमा दुईजना युवाले रोजगारीसमेत पाएका छन् । 

    बङ्गुरको मासुका लागि रु ४०० प्रतिकेजी र पाठापाठीलाई रु पाँच हजारमा बिक्री गर्दै आएका उनीहरुले २०७२ सालमा पोखराबाट बँदेल प्रजातिको बङ्गुर लिएर पाल्दै आएका छन् । 

    बङ्गुरको भन्दा बँदेलको मासु निकै स्वादिष्ट भएकाले राम्रै मूल्यमा बिक्री गर्ने गरेको गिरीको भनाइ छ । बँदेलको मासु प्रतिकेजी रु ६०० मा बिक्री गर्दै आएको र पाठापाठीलाई रु छ हजारमा बिक्री गर्दै आएका छन् ।  
     
    दुई भाइ मिलेर गाउँमै जागिर खाँदै व्यावसायिक फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लाग्नु अन्यलाई समेत उदाहरणीय कार्य भएको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए।  

    साताको लोकप्रीय