कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक

कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक

    परासी / कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जिल्लामा यस वर्ष सञ्चालन गरिने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ ।

    images
    images

    आव २०७८/०७९ का लागि स्वीकृत वार्षिक कार्यक्रममा बाढी प्रभावित क्षेत्रमा अनुदानमा बीउ उपलब्ध गराउनेदेखि प्रदेशस्तरकै पुष्प स्रोत केन्द्र स्थापना गर्नेसम्मका योजना समावेश गरिएको छ ।  

    चालू आवमा ज्ञानकेन्द्रमा सङ्घीय कार्यक्रम र प्रादेशिक कार्यक्रम सञ्चालनका लागि चालूतर्फ रु नौ करोड तीन लाख ३९ हजार र पूँजीगततर्फ रु ९१ लख ६० हजार गरी कूल रु नौ करोड ९४ लाख ९९ हजार बजेट प्राप्त भएको कार्यालय प्रमुख देवेशकुमार मिश्रले जानकारी दिए । 

    प्रदेश सरकारअन्तर्गतको कृषि उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष जिल्लामा प्रदेशस्तरको पुष्प स्रोत केन्द्र स्थापना गरिने भएको छ । सुनवल नगरपालिका–१० मा स्थापना हुने स्रोत केन्द्रका लागि पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।

    कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमअन्तर्गत जिल्लामा बाली शिविर, बाली कटानी, कृषि प्रविधि प्रदर्शनी, फलफूल बगैँचा सुदृढीकरण, साना सिँचाइ सहयोगसहित कृृषि उत्पादन, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, खाद्यान्न दलहन तेलहनमा बीउ आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने प्रमुख मिश्रले बताए । 

    सोही कार्यक्रमअन्तर्गत नै तरकारी, पुष्प तथा फलफूल नर्सरी स्थापना÷सुदृढीकरण, भूमिहीन कृषकका लागि करारखेती, सिञ्चित क्षेत्र लक्षित कृषि विकास, बगर खेती प्रवर्द्धन, उखु उत्पादन, प्रशोधन, ढुवानी र बजारीकरण प्रवद्र्धन, अदुवा, बेसार प्रवद्र्धन र डुबान क्षेत्र लक्षित कृषि उत्पादन कार्यक्रम यस वर्ष सञ्चालन हुनेछन् । 

    उखु, केरा, अदुवा, बदामका लागि जिल्लाको पूर्वीदक्षिणी क्षेत्र प्रख्यात छ । डुबान क्षेत्रअन्तर्गत पाल्हीनन्दन र सरावल गाउँपालिकाको बाढी प्रभावित क्षेत्रमा हिउँदे बाली प्रवद्र्धन गर्न गहुँ, मसुरो, तोरीलगायतमा ८५ प्रतिशत अनुदानमा बीउ वितरण गरिने कृषि ज्ञान केन्द्रका प्रमुख मिश्र बताउछन् ।

    उनका अनुसार अभियानमुखी मिसन कृषि विकास कार्यक्रमतर्फ यस वर्ष मकै र आलु मिसन कार्यक्रम थप गरिने भएको छ । 

    दलहन मिसन कार्यक्रम र फलफूल बिरुवा रोपन अभियान पनि चलाइने भएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ बर्दघाट, रामग्राम, पाल्हीनन्दन र सुस्तामा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

    कृषि स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रमतर्फ विषयगत कृषक सञ्जाल गठन, सुलभकर्जा सहजकर्ता प्रोत्साहन, हरित स्वयं सेवकलाई क्षमता विकास तथा प्रविधि सिकाइ, बीमा अभिकर्ता, कृषि मेशिनरी मर्मत, विषादी खुद्रा बिक्रेता, स्थानीय तहका कृषि प्राविधिकलाई माटो परीक्षण तालीम र माटो परीक्षण शिविर छन् । 

    कृषि पढेका युवालाई उद्यमशीलता अनुदान, सामाजिक परिचालनका लागि सङ्घसंस्था परिचालन कार्यक्रम, नमूना फार्म स्थापनाका लागि सहयोगलगायत कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख मिश्रले जानकारी दिए । 

    युवा लक्षित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषिकर्मी रोजगारी कार्यक्रम सञ्चालन हुने ज्ञान केन्द्रले जनाएको छ । 

    सङ्घीय सरकारको कार्यक्रमतर्फ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रम सञ्चालन हुनेछन् । यस कार्यक्रमतर्फ गहुँ र केराको ब्लक विकास कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

    वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले योजना शीघ्र कार्यान्वयन गर्न जोड दिए । 

    कृषि विकासबाट आर्थिक समृद्धि सम्भव भएकाले प्रदेश सरकारले कृषि विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री चौधरीले यस वर्ष कृषकलाई प्रत्यक्ष प्राविधिक सहयोग गर्न लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका ९८३ वटै वडामा जेटिए भर्ना गर्न लागिएको जानकारी दिए । 

    अन्य सरोकारवालाले स्वीकृत वार्षिक कार्यक्रम समयमै कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    साताको लोकप्रीय