सात वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ? 

सात वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ? 

अर्थ डबली
बिहिवार, असोज २१ २०७८
अर्थ डबली
बिहिवार, असोज २१ २०७८ (अर्काइभ बाट)
  • सात वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ? 

    काठमाडौँ / हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । 

    images
    images

    आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ । 

    लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । 

    बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्ने छ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दसैँपछाडी मात्र लाभांश पाउने भएका छन् । 

    विगतका वर्षमा केही वाणिज्य बैंकले दसैँअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।

    कुन बैंकको कति ?

    गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७.८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ । 

    यस्तैगरी, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन् । 

    दसैँमा लाभांश नपाउने

    बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दसैँपछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दसैँ अघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।

    नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तिय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो । “यसवर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो”, उनले भने, “नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि ग¥र्यो । यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यसवर्ष दसैँ आगाडि शेयरधनीलाई लाभांश दिन सकिएन ।” दिपावली आसपासमा शेयरधनीले लाभांश पाउन सक्ने उनको भनाइ छ । 

    हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन् । साधारणसभाले लाभांश पारित गरेपछि मात्र बैंकका शेयरधनीले लाभांश पाउनेछन् । 

    विकास बैंकमा कामना पहिलो

    सात वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो । 

    त्यस्तै, सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले बोनस शेयर तथा नगद लाभांश घोषणा गरेको छ ।

    बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको २७७ औं बैठकले बैंकका शेयरधनीहरूलाई आ.व. ०७७÷०७८ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । 

     

     

    साताको लोकप्रीय