क्षतिग्रस्त दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत 

क्षतिग्रस्त दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत 

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • क्षतिग्रस्त दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत 

    काभ्रेपलाञ्चोक / इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्याएका काभ्रेपलाञ्चोकको दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम भइरहेको छ । 

    images
    images

    सिन्धुपाल्चोकको मेलम्ची हुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना र तेमाल बृहत् सुक्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पुर्याएको थियो ।

    लिफ्टिङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छन् । 

    यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदी किनार चुखाबेँसीमा कटान सुरु गरेको थियो । 

    त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएपछि मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए। उनका अनुसार मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई व्यवस्थित गरिँदैछ ।

    “यस वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको क्षति पु¥याएको थियो, हामी मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने काम गर्दैछौँ”, उनले भने । 

    उनका अनुसार बाढीले आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडौंका संरचनालाई जोखिम पु¥याएको थियो । 

    संरचनालाई जोखिममुक्त बनाउन सयौँ ग्यावियनमा ढुङ्गा भर्ने काम भइरहेको छ । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

    विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पु¥याउँदा केही धकेलिएको छ । 

    अध्यक्ष लामाका अनुसार तिहारपछि खानेपानी वितरणको पाइप लाइन बिछ्याइनेछ । “आउँदो चैतभित्र खानेपानी वितरण हुन्छ”, उनले भने । 

    भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।

    नेपाल सरकार खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करिब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । 

    उनका अनुसार सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।

    यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिका बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा रु दुई करोडभन्दा बढीको क्षति पुगेपछि हाल पुनःनिर्माण तथा सुरक्षित बनाउने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ ।

    भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेपछि हाल पुनःनिर्माणको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले जानकारी दिए । 

    उनका अनुसार मुहानको इन्टेक, २० वटा ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन पर्खालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको १०० टिपरभन्दा बढी बालुवा र केही मात्रामा सिमेन्ट बगाएको थियो ।

    “हामीले साउन महिनाभित्र मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्यका साथ लागिरहेका थियौँ, बाढीले मुहान क्षेत्रका रु दुई करोडभन्दा बढी संरचनामा क्षति पु¥याएको थियो, त्यसैको मर्मतको काम भइरहेको छ”, लामिछानेले भने । 

    आयोजनाका सहायक व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार निर्माणाधीन संरचना सुरक्षाका लागि बनाइएको तटबन्धको केहीबाहेकका सबै संरचना बाढीले बगाएको थियो । 

    यसअघि गत वर्षको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको पाँचखाल बृहत् सहरी खानेपानी आयोजनाको कामले तीव्रता पाउँदै आएको थियो ।

    पाँचखाल नगरका १० वटा वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ ।

    आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले एक वर्षअघि खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका छन् ।

    परियोजनाको विसं २०७६ भदौ १२ गते त्रिपक्षीय सम्झौता भएको हो । रु दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको उक्त आयोजना हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोसी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो मानिएको छ ।

    साताको लोकप्रीय