स्पेनिस ला लिगा : रियल म्याड्रिडको पूनरागमन जित

स्पेनिस ला लिगा : रियल म्याड्रिडको पूनरागमन जित

अर्थ डबली
सोमवार, मंसिर १३ २०७८
अर्थ डबली
सोमवार, मंसिर १३ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : रियल म्याड्रिडको पूनरागमन जित

    म्याड्रिड / स्ट्रईकरद्वय करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ ।

    images
    images

    घरेलु मैदानमा आइतबार राति भएको खेलमा शीर्षटोली रियलले बलियो प्रतिद्वन्द्वी सेभियालाई २–१ गोलले हरायो ।

    निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली सेभियाले १२औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । राफा मिरले मार्काेस एकुनाको पासमा गोल गर्दै सेभियालाई अग्रता दिलाए ।

    सेभियाको गोलपछि आक्रामक बनेको रियलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो ।

    कप्तान करिम बेन्जेमाले रिवाउन्ड बलमा गोल गर्दै रियललाई खेलमा फर्काए । इडर मिलिटाओको लामो प्रहारलाई सेभियाका गोलरक्षक यासिन बोनोउले नियन्त्रण गर्न नसकेको बललाई बेन्जेमाले गोल गरेका थिए ।

    जारी सिजन उच्च लयमा रहेका बेन्जेमाको यो ११औं गोल हो । सर्वाधिक गोलकर्ताको शीर्षसूचीमा रहेका उनले सातवटा असिस्ट पनि दिएका छन् । 

    ५३ प्रतिशत बल पोसेसन राखेको रियलका लागि भिनिसियसले ८७औं मिनेटमा निर्णायक गोल गरे । उनले इडर मिलिटाओको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए ।

    भिनिसियसको जारी लिगमा यो नवौं गोल हो । सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका भिनिसियस ‘म्यान अफ दी म्याच’ बने । सुरुवातमै गोल गरेको सेभियाले दोस्रो हाफमा राम्रा अवसर गुुमाउँदा हार खेप्न बाध्य बन्यो ।

    जितसँगै शीर्षस्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक पुगेको छ । हारपछि २८ अंक बनाएको सेभिया चौथो स्थानमा झरेको छ । २९ अंक बनाएको एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । 

    आइतबार राति नै भएको खेलमा एट्लेटिकोले काडिजलाई उसैको मैदानमा ४–१ गोलले पराजित गरेको थियो । पराजित काडिज १२ अंक सहित १७औं स्थानमा छ ।

    यसैगरी अर्को खेलमा स्पान्योलसँग १–० गोलले पराजित भएपछि रियल सोसिडाड तेस्रो स्थानमा झरेको छ । 

    सोसिडाडको १५ खेलबाट २९ अंक छ । जितसँगै नवौं स्थानमा उक्लिएको स्पान्योलको २० अंक छ । अर्को खेलमा रियल बेटिसले लिभान्तेलाई ३–१ गोलले पराजित गरेको छ ।

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरू एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ । 

    साताको लोकप्रीय