रोल्पाकोे १४  खोलामा पक्की पुल बन्दै, कुन कुनमा बन्दै छ ?

रोल्पाकोे १४  खोलामा पक्की पुल बन्दै, कुन कुनमा बन्दै छ ?

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • रोल्पाकोे १४  खोलामा पक्की पुल बन्दै, कुन कुनमा बन्दै छ ?

    रोल्पा / रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा  पक्की पुल निर्माण सुरु भएकोे छ । 

    images
    images

     खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महिना सवारी साधन सञ्चालन गर्न विभिन्न १४ वटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो ।

      सङ्घ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माणसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुने देखिएको छ । 

     लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गत वर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो ।

      अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुई वटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ वटा निर्माणको चरणमा छन् । 

     चालू आर्थिक वर्षमा सङ्घीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँचसमेत थप छ वटा पक्की पुल स्वीकृत भएका छन् । 

     चालु आव र अघिल्लो आवसमेत गरी जिल्लामा १४ वटामध्ये दुई वटा पुल निर्माण सम्पन्न भएको र बाँकी १२ वटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

     प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले  कार्यान्वयन गर्दै आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा पुल निर्माण कार्य भइरहेको छ ।

     आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने आशा पलाएको छ । 

     परिवर्तन गाउँपालिकाको माडीचौर खोलामा निर्माणाधीन पुल असार मसान्तसम्म सकिने गरी काम अघि बढेको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ ।

      उनि जस्तै अन्य स्थानीय निकायले पनि पुल निर्माणका लागि निरन्तर चासो दिएका कारण निर्माण व्यवसायी समयमै काम गर्न बाध्य भएको बताइन्छ ।

     अघिल्लो वर्ष स्वीकृत योजनामध्ये लुङ्ग्री खोला र जीवे खोला पुल निर्माण भई उद्घाटनसमेत भइसकेका छन् ।

      अघिल्लो वर्ष स्वीकृत भई निर्माणका क्रममा रहेका धाँसीखोला, माडीचौरखोला, घोडाचौरखोला र उवाखोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेका छन् ।

      यस वर्ष स्वीकृत पाछावाङ खोला, बाजाबाङ खोला, जुतुङखोला, माडीखोला, तार्केवाङ, लोटचौर खोला र पैसी खोलामा पुल निर्माणको प्रारम्भिक चरणमा रहेको कार्यालयका प्रमुख दीपक डाँगीले बताए  ।

     सुनछहरी गाउँपालिकाको फुलिवन पहिराका कारण उवाखोला पुल निर्माणमा समस्या देखिए पनि अरु योजनामा भने कुनै समस्या छैन कार्यालय प्रमुख डाँगीले भने । 

     उक्त खोला जाने बाटो पहिराले अवरुद्ध पारेका कारण पहिरो आउनुअघि भएको काम पूरा गर्न तत्काल गर्न नसकिएको उनको भनाइ छ  । 

    साताको लोकप्रीय