पछिल्लो समय नेपालमा फूल खेतीको माग बढ्दो छ जसको फलस्वरूप नेपालमा फूल खेती व्यवसायिक रूपमा सुरुवात हुँदैछ । नेपालमा हुने धेरै फूलहरू मध्येको सयपत्री एक सिजनल फूल हो ।
यो फूलको प्रयोग तिहारमा व्यापक रूपमा गरिन्छ भने विभिन्न धार्मिक, सांस्कृतिक कार्य, शुभकार्यका साथै सजावटका लागि पनि गरिन्छ । खुल्ला तथा बन्द वातावरणमा खेती गर्न सकिने, सजिलो, धेरै क्षेत्रमा अनुकूलन हुने, छोटो समयमा विभिन्न रङ्ग तथा आकारका, बजार मूल्य बढी र केही समयसम्म भण्डारण गरिने कारणले गर्दा सयपत्रीप्रति चासो बढेको छ ।
प्लाष्टिक घरभित्र गोलभेँडा खेती गर्दा घरको चारैतिर सयपत्री रोप्दा फूलको कारणबाट कीरालाई फसाउने र जराको कारणबाट निमाटोड व्यवस्थापनको लागि पनि सहयोग पु-याउँदछ ।
सिजनमा सानो क्षेत्रमा समेत खेती गर्न सकिने, हरियाली र सौन्दर्य दिने, पछिल्लो समयमा बढेका आकर्षण तथा लगानीको कारण फूल खेतीतर्फ आत्मनिर्भर बन्न सयपत्री खेती अभियान सञ्चालन गर्नुपर्दछ । यो कम्पोजिटी परिवारमा पर्ने जाति हो । यसका दुई जातिहरू अफ्रिकन र फ्रेन्च जातका छन् । अफ्रिकन जातमा पहेँलो, सुनौलो तथा सुन्तला रङ्गका जातहरू प्रख्यात छन् ।
माटो
सयपत्रीको धेरै प्रकारको माटोमा पनि खेती गर्न सकिन्छ । खासगरी यस फूल खेती गर्नका लागि पि एच ७ देखि ७.५ सम्म उपयुक्त पानी नजम्ने प्राङ्गगारिक पदार्थ प्रसस्त भएको लोमी माटो उपयुक्त हुन्छ ।
यसलाई बढी तथा कम तापक्रम उपयुक्त हुँदैन । सामान्यतयाः १४ देखि २८ डिग्री तापक्रममा यसको विकास राम्रो हुन्छ । राम्रो व्यवस्थापन गर्न सके बर्षैभरी नै यसको खेती गर्न सकिन्छ ।
सयपत्रीको जातीय गुण
- बोटको उचाइ : २२.७ सेन्टिमिटर (१ मिटर भन्दा कम)
- बोटको फैलावट : २३.४ सेन्टिमिटर (१ मिटर भन्दा कम)
- फूलको रङ्ग : सुन्तला रङ्गको
- हाँगाका सङ्ख्याहरू : ८–१० वटा
- ५० प्रतिशत फूल फुल्न सुरु : ४५ दिन (बेर्ना रोपेको दिनदेखि)
- पहिलो फूल टिपाइ : १०५ दिन (बेर्ना रोपेको दिनदेखि)
- अन्तिम फूल ठिपाइ २२५ दिन (बेर्ना रोपेको दिनदेखि)
- फूल फुल्ने अवधि : १२० दिन (बेर्ना रोपेको दिनदेखि)
- फूलको एउठा थुङ्गाको तौलः ५० ग्राम
- फूलको सङ्ख्या प्रतिबोट २६५.५
- फूलको उत्पादन र बोट : १.५१ किलोग्राम (४ माला)
प्रसारण विधि
यसलाई दुई तरिकाबाट प्रसारण गर्न सकिन्छ । बिउबाट - बिरुवा अग्ला, बलिया तथा धेरै फूल लाग्ने) कटिङ्गबाट (बिउ महङ्गो भएकोले कटिङ्ग गरी हुर्काउने, होचा तथा गुणस्तरीय फूल फुल्ने) गर्न सकिन्छ ।
१. बिउबाट
सयपत्री फूललाई सजीलैसँग बिउबाट प्रसारण गर्न सकिन्छ । सयपत्रीको बिउ १८ देखी ३० डिग्री सेल्सियसको तापक्रम भएको अवस्थामा राम्रो हुन्छ ।
यदी बर्खाको समयमा नर्सरी व्याड बनाउने हो भने नर्सरीलाई १५ से. मी. उचाइ गरेर बनाउनु पर्दछ । जसले गर्दा धेरै भएको पानी तर्किएर जान सकोस् । बिउ रोप्दा धेरै बाक्लो गरेर लगाउनु हुँदैन जसले बिरुवामा बेर्ना कुहिने रोग लाग्न सक्दछ । बिउ रोपेको २५ देखि ३० दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुन्छ ।
२. कटिङ्ग
पत्रिवारका लागि तयार सयपत्रीमा कटिङ्ग धेरै प्रकारले गर्न सकिन्छ, जस्तै : हाँगाको कटिङ्ग, कमलो डाँठको, मध्यम डाँठको कटिङ्ग लिन सकिन्छ ।
बिउ छर्ने : १ भाग बालुवा, १ भाग वनको माटो र १ भाग कुहिएको कम्पोष्ट निर्मलीकरण गरिएको १ मिटर चौडा र १५ से. मी उठेको नर्सरीमा लाइनमा बिउ छर्नुपर्दछ र चिस्यान दिनुपर्दछ । बिरुवा ‘ट्रे’मा तयार गर्न सकिन्छ । कटिङ्ग गर्दा १० से.मी लामो फूल नफुलेका टुप्पा लिने र बलौटे माटोमा गाडिदिने मलजल गरी सेट भएपछि लाइनमा वा ब्याडमा रोप्ने ।
जग्गा तयारी : जमिनलाई गहिरोसँग २, ३ पटक खनजोत गर्नुपर्दछ र सो जग्गामा राम्रो कुहिएको गोबर मल २ टन प्रतिरोपनी मिसाउनुपर्दछ ।
कुन समयमा कुन प्रजातिको विरुवा रोप्ने ?
अफ्रिकन सयपत्री
जाडो समय : कलकत्तिया ओरेन्ज, अफ्रिकन जायन्ट, टाइगर, अफ्रिकन जायन्ट डवल ओरेन्ज, पुसा बसन्ती गेन्दा, पुसा नारन्गीनी गेन्दा ।
गर्मी समय : क्रेक ज्याक र स्थानीय ।
बर्खे समय : अफ्रिकन जायन्ट टप एलो, अफ्रिकन जायन्ट टप ओरेन्ज, जाफ्री, लड्डु गेन्दा, अफ्रिकन एलो, क्लाइमेक्स, गोल्डेन एज (फ्रेन्च सयपत्री पुसा अरपिता, भ्यालेन्सीया, रस्टी रेड, वटर स्कोच) ।
रोप्ने समय : वर्षभरी माग अनुसार उत्पादन गर्न सकिन्छ । यो फूलको माग विशेष गरी तिहारमा बढी हुने भएकोले सोलाई लक्षित गरी कम्तिमा ६५ देखि ७० लिन पहिला फिल्डमा बिरुवा रोप्नु पर्दछ ।
सिजन : बर्षा, हिउँदे, गर्मी
बिउ रोप्ने समय
बर्षा : असार साउन, हिउँदे : भदौ/असोज, गर्मी : पुस (प्लाष्टिक घरभित्र रोप्ने) ।
विरुवा सार्ने समय
बर्षा : श्रावण , हिउँद : आश्विन, गर्मी : माघ २०
विरुवा रोपण
- सजिलै सर्न सकिने र सरिहाल्ने ।
- ३, ४ पाते अवस्थामा सार्न सकिने ।
- धेरै बुढो विरुवा नरोप्ने ।
- राम्रोसँग तयार गरेको जग्गामा बेलुकीपख विरुवा सार्ने र सारेपछि तुरुन्तै सिँचाइ दिने ।
- विरुवालाई पानी बोटको वृद्धि अवस्था र फूल फुल्ने बेलामा पनि चाहिने भएकोले निरन्तण ४÷५ दिनको फरकमा सिँचाइ गर्ने ।
- पानी जम्न नदिने ।
- बर्षा समयमा भार बढी पलाउने भएकोले नियमित सरसफाई गर्ने ।
दुरी : ४० से. मी लाइनदेखि लाइन र ३० से.मी बोटदेखि बोट ।
विरुवाको टुप्पा चुँड्ने
विरुवा रोपेको ४० दिनपछि टुप्पोभित्र विरुवाको टुप्पा चिम्टेर हटाउनुपर्दछ । विरुवाको माथिल्लो भाग चुँडेर फाल्ने जसले गर्दा झाँगिएको बोट बन्छ र धेरै फूलहरू फुल्दछन् र गुणस्तरीय उत्पादन हुन्छ ।
मलखाद
प्रतिहेक्टर २५ मे. टन गोबर मल वा कम्पोष्ट मल विरुवा रोप्ने जग्गामा अन्तिम तयारीको समयमा छर्नुपर्दछ । ४५ः९०ः७५ के.जी ना, फ, पो जग्गा तयारीको लामा र ४५ केजी नाइट्रोजन विरुवा रोपेको ४५ दिनपछि दिनुपर्दछ (टुप्पा हटाउने समयमा) सुक्ष्म तत्त्वको मिश्रण ३०/४५ दिनपछि स्प्रे गर्नुपर्दछ ।
फूल टिप्ने
फूलको टिप्ने समय जात तथा सिजनमा भर पर्दछ । विरुवा रोपेको ६०, ७० दिनपछि फूल फुल्न थाल्दछ । फूल बिहान वा बेलुकीपख टिप्नुपर्दछ । टिप्नुभन्दा पहिले सिँचाइ गरेमा फूललाई लामो समयसम्म राख्न सकिन्छ । सुकिसकेका फूल टिपेर हटाउनुपर्दछ । माला बनाउनको लागि अलि राम्रोसँग नफुलेको र अन्य प्रयोजनको लागि राम्रोसँग फुलेको फूल टिप्नुपर्दछ ।
उत्पादन : फूलको उत्पादन जात, खेती प्रविधि तथा सिजनमा भर पर्दछ । प्रतिहेक्टर बर्षा सिजनामा २० टन, हिउँद सिजनमा १५ टन र गर्मी सिजनमा १० टन फूल उत्पादन हुन्छ ।
बिउ उत्पादन : यो परसेचित बाली हो त्यस कारण शुद्ध बिउ तयार गर्नको लागि १.५ कि.मि. वरिपरी अन्य जातको सयपत्री हुनु हुँदैन । बिउको लागि फूल ६ महिनामा तयार हुन्छ भने प्रतिहेक्टर ३ सय केजी बिउ उत्पादन गर्न सकिन्छ ।
किराहरू
पातमा सुरुङ्ग बनाउने कीरा
यो सयपत्रीको एक मुख्य हानिकारक कीरा हो । वयस्क अवस्थाको पोथी कीरा÷भिँगाहरूले पातमा छिद्र र प्वाल पारी रस चुस्दछ साथै फुल पनि पार्दछ । ती फुलहरूबाट मसिना औसा निस्की पातको माथिल्लो भागमा नागवेली सुरुङ्गहरू बनाउदछ, जुन पातमा लेखेको जस्तो देखिन्छ । पुरानो पातहरूमा पहिले आक्रमण गर्दछ । भिँगा लागेको पातहरू रोगाउँदछन् ।
व्यवस्थापन
- स्वस्थ बिरुवा हुर्काउने ।
- उचित सिँचाइ व्यवस्थापन गर्ने ।
- क्षति भएका पातहरू टिपेर हटाउने ।
- कीराको क्षति सहन सक्ने जात लगाउने ।
- कीटनाशक विषादीहरू : ट्रायजोफस वा कार्टप हाइड्रोक्लोराइड छर्ने ।
रातो सुलसुले
सुलसुले सयपत्री खेतीको एक मुख्य शत्रु हो । सुलसुलेहरू ज्यादै साना प्राणी हुन् । यिनीहरू कीरासँग सम्वन्धित छन् तर कीरा हैनन् । सुलसुलेको शरीर गोलो वा लाम्चो हुन्छ । बयस्क अवस्थामा यिनका चार जोर (आठ वटा) खुट्टा हुन्छन् ।
यिनको मुख सियो जस्तो तिखो हुन्छ, जसको सहायताले जालो बनाउँदछ । यिनीहरूले विरुवाको पातबाट रस चुस्दछन् । यिनले खाएको ठाँउमा मसिना सेता खैरा दागहरू देखिन्छन । बोटको वृद्धि रोकिन्छ, उत्पादन कम वा शुन्य हुन्छ । सुख्खा मौसम भएमा यसको प्रकोप र क्षति बढ्दछ ।
व्यवस्थापन
- सिँचाइको राम्रो प्रवन्ध गर्ने ।
- नियन्त्रण गर्न प्रोर्पाजाइट वा डाइकोफोल वा स्पाइरोमेसिफेन वा एवामेक्टिनयुक्त सुलसुलेनासक बिषादी प्रयोग गर्ने ।
थ्रिप्स
थ्रिप्सले सयपत्रीको कलिला पातहरू चुस्दछन् । सयपत्रीको फूलले थ्रिप्सलाई आर्कषण गर्दछ । थ्रिप्सले फूलको पत्रदलहरूमा कोर्तदछन् र रस चुसी धर्का, दागहरू वा खैरो धब्बा बनाउदछ । फूलको कोपिला तथा फूल बिगार्दछ । थ्रिप्सले आक्रमण गरेको फूल राम्रोसँग खुल्न सक्दैन ।
पातमा आक्रमण भएमा विरुवाका पातहरू खुम्चन्छन वा बटारिन्छन् । यसका प्रकोपका कारण विरुवा बढ्न सक्दैन ।
व्यवस्थापन
- थ्रिप्स कीराको क्षति सहन सक्ने स्वस्थ विरुवा हुर्काउने ।
- एकीकृत शत्रूजीव व्यवस्थापन गर्ने ।
- वरपरका झारपात हटाउने ।
- सरसफाईमा ध्यान दिने ।
- निममा आधारित कीटनाशक पदार्थहरू प्रयोग गर्ने ।
- यसको नियन्त्रणको लागि इमिडाक्लोरोपिड वा एसिफेट इमिडाक्लोरोपिड वा थायामेथोक्साम प्रयोग गर्ने ।
रोगहरू
बेर्ना कुहिने रोग
सयपत्रीको नर्सरी ब्याडमा वा भखरै सारेको कलिलो बेर्ना कुहिने, गल्ने र मर्ने हुन्छ । नर्सरी ब्याडमा केही भर्खरका बेर्ना माटो बाहिर ननिस्कदै मर्दछन् भने केहीमा माटो बाहिर आइसकेको बेर्नाको माटोबाट छुट्टिने काण्डमा पानीले भिजेको जस्तो खैरो धब्वा देखिन्छ । त्यस भाग नरम हुन्छ । बोट कमजोर हुन्छ र रोगी बेर्ना लड्दछन् ।
व्यवस्थापन
- कार्बेन्डाजिम २ ग्राम प्रतिकेजी बिउका दरले बिउ उपचार गर्ने ।
- नर्सरीमा बिउ बाक्लो नछर्ने, पानीको निकासको व्यवस्था मिलाउने ।
- रोगरहित माध्यममा बेर्ना तयार गर्ने साथै नाइट्रोजनको धेरै प्रयोग नगर्ने ।
- बिउ छर्नु अगावै नर्सरी ब्याडको माटो फर्मालिन (२५) प्रयोग गरी निर्मलीकरण ब्याडमा रोगको लक्षण देखिनासाथ कार्बेन्डाजिम वा म्यानकोजेव पानीमा मिसाई ड्रेन्चिन गर्ने ।
- बेर्ना सार्ने बितिकै कार्बेन्डाजिमयुक्त ढुसीनासक विषादी प्रयोग गर्ने ।
पातको थोप्ले र डढुवा रोग
यो रोग सयपत्रीमा विभिन्न ढुसीहरूले गर्दा लाग्दछ, मुख्यतयाः अल्टरनेरिया, सेप्टोरिया र सर्काेस्पोरा हुन । अल्टरनेरिया ढुसीले गर्दा सयपत्रीको पात तथा डाँठमा गोलाकार वा अनियमित आकारको चक्का चक्का भएको खैरो धब्बा लाग्दछ । सेप्टोरिया ढुसीले सुरुमा तल्ला पातहरूमा पानीले भिजेको जस्तो साना गोलाकार दागहरू देखिन्छन् । पछि ती थोप्लाहरू बढ्दै जान्छन्, ती थोप्लाहरूको किनारा गाढा खैरो हुन्छ भने बिचमा थेप्चिएको सेतो वा खरानी रङ्गको हुन्छ । रोगी पातहरू सुकेर भर्दछन् ।
व्यवस्थापन
- उचित मलखाद र सिँचाइ प्रयोग गरी स्वस्थ र बलियो बोट हुर्काउने ।
- स्वस्थ बिउको प्रयोग, बिउ उपचार गर्ने ।
- रोग निरोधक जात लगाउने ।
- खेतको सरसफाईमा ध्यान पु-याउने ।
- ढुसीनासक विषादी हेक्जाकोजोल वा क्लोरोथालोनिल प्रयोग गर्ने ।
सेतो दुसी र पाउडरी मिल्ड्यू
- पातमा सेतो खरानी जस्तो लक्षण देखा पर्दछ र धेरै प्रकोप भएमा डाँठ समेतमा लक्षणहरू देखा परी पातहरू सुक्दछन् ।
व्यवस्थापन
- खेतबारी सफा राख्न रोग लागेको पातहरू र झारहरू नष्ट गर्ने ।
- डिनोकाप (काराथेन) वा कार्बेन्डाजिम (बेभिष्टिन) पानीमा मिसाइ पातहरू राम्ररी भिज्ने गरी छर्ने वा ट्राइडेमर्फ (क्यालिक्जिन) प्रयोग गर्ने ।
फूलको कोपिला कुहिने
फूलको कोपिलामा खैरो धब्बाहरू देखा पर्दछ । फूलको पत्रदल र पुष्प काण्ड समेतमा लक्षण देखा पर्दछ । पुष्पदलहरू खैरो हुन्छ रोगी कोपिला फक्रन सक्दैनन् र कोपिला सुक्दछ ।
व्यवस्थापन
नियन्त्रणका लागि म्यानकोजेवयुक्त ढुसीनाशक औषधि प्रयोग गर्ने ।
फूल कुहिने र बोट्राइटिस रट
फूलको पुष्पदलहरूमा सानो सानो खैरो धब्बा देखिन्छ । पछि सबैतिर फैलिएर फूल नष्ट हुन्छ । उच्च आद्र्रता भएको मौसम यो रोगका ढुसीहरूका लागि उपयुक्त हुन्छ, रोगको प्रकोप बढ्दछ ।
व्यवस्थापन
- खेतवारीको सरसफाइमा ध्यान दिने ।
- मरेका र सुकेका हाँगाविँगा, पातहरू बोट र खेती वरपरबाट हटाउने ।
- प्रोपिनेवयुक्त ढुसीनासक विषादी प्रयोग गर्ने ।
भाइरसजन्य रोग
रोगी बोटको पातहरू पहेँलो रङ्गको, छिरबिरे, ससाना, घुम्रिएको हुन्छ । बोटको टुप्पाहरूमा गुज्मुजिएको लक्षण देखा पर्दछ । बोटको बृद्धि रोकिन्छ । भाइरसजन्य रोग लागिसकेपछि नियन्त्रण गर्न सकिदैन ।
- रोग फैलिन नदिन लाही, थ्रिप्स, सेतो झींगा, सुलसुले तथा अन्य चुस्ने कीराहरूको नियन्त्रण गर्नुपर्छ ।
- कीराहरूको नियन्त्रणको लागि दैनिक विषादी प्रयोग गर्ने ।
- रोग लागिसकेको बोट उखेलेर नष्ट गर्ने ।
- झारपात नियन्त्रण गर्ने ।
- रोग सहन सक्ने जात लगाउने ।
- बचाउका लागि सफ्ट गार्ड वा अन्य रोग निरोधक तत्त्वहरू प्रयोग गर्न सकिन्छ ।
स्रोत : कृषि महाशाखा कास्की
(कृषि ज्ञान पत्रिकाबाट साभार)