काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १२.५८ अङ्कले बढेको छ । कारोबार अवधिभर उतारचढावका बावजुद आज नेप्से २६०१.२१ बिन्दुमा पुगेर बन्द भएको हो ।
यो दिन १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ ओटाको घटेको छ । चार ओटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
३२५ धितोपत्रको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर खरिद बिक्री भएको छ । यो दिन ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ ओटा समूहमध्ये सबैभन्दा बढी म्युचुअल फण्ड समूहको सूचक ०.४६ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार र होटल तथा पर्यटन समूहको सूचक समेत सामान्य घटेको छ ।
यता, सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक २.५७ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक २.३२ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकिङ समूहको सूचक ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशत, लगानी समूहको ०.३७ प्रतिशत र जीवन बिमा समूहको ०.९१ प्रतिशतले सूचक बढेको छ ।
यसैगरी, लघुवित्त समूहको ०.२८ प्रतिशत, निर्जीबन बिमा समूहको ०.६३ प्रतिशत र अन्य समूहको परिसूचक ०.३० प्रतिशतले बढेको छ ।
आइतबार बोटलर्स नेपाल लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ भने वीन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य ९.०९ प्रतिशतले बढेको छ । यता, सुपरमादी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने एनआइसी एशिया सेलेक्ट फण्ड ३० र रिभर फल्स पावरको सेयर मूल्इ ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
आइतबारको कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको हिस्सा बढी रह्यो । यो कम्पनीको २६ करोड ८५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो ।