हलुवावेदको उत्पत्ति चीनमा भएको हो । टर्रो नहुने जातको विकास भने जापानले गरेको हो । ६०० बर्ष पुरानो हलुवावेदको बोट फेला परेको छ । यसको बानस्पतिक नाम Diospyros kaki (टर्रो नहुने बर्ग) र Diospyros verginiana (टर्रो हुने बर्ग) हो । यो Ebenaceae परिवारमा पर्दछ । हलुवावेदलाई अङ्ग्रेजीमा Persimmon भनिन्छ ।
विश्वमा हलुवावेदको खेती हुने कूल क्षेत्रफलको ९५ प्रतिशत भूभाग चीन, जापान र कोरियाले ओगटेको छ । विश्वमा हलुवावेदको खेती गर्ने मुलुकमध्ये चीन अग्र स्थानमा पर्दछ । चीन तथा कोरियाले हलुवावेदको खेती गर्ने क्षेत्रफल बढाउदै लगेको छ भने, जापान तथा इटालीले क्षेत्रफल घटाउदै लगेको पाइन्छ ।
पाकेको हलुवावेदमा पाइने तत्त्वहरू
पाकेको हलुवावेद १६८ ग्राम फलमा १३५ ग्राम (७७ प्रतिशत) पानी, ११८ ग्राम शक्ति क्यालोरी, ०.९७ ग्राम प्रोटिन, ३१.२३ ग्राम कार्बोहाइड्रेड, ३१.०५ ग्राम चिनीका साथै अन्य विभिन्न किसिमका भिटामिन खनिज मिनिरलहरू पनि प्रशस्त आदि पाइन्छ ।
हावापानी : हलुवावेद पतझड फलफूल वर्गमा पर्ने बनस्पति हो । टर्रो नहुने जापानी हलुवावेदको लागि उपोष्ण क्षेत्रदेखि समशितोष्ण क्षेत्र sub tropical to worm temperate अर्थात समुन्द्र सतहबाट ८०० मि.देखि २००० मि. सम्म सफलतापूर्वक खेती गर्न सकिन्छ । हलुवावेदको लागि १००-२०० घण्टा चिलिङ्ग (७.२ डिग्री भन्दा कम) पुगेमा फूल फुल्नको लागि पर्याप्त हुन्छ । त्यसैगरी १६-२२ डिग्री सेल्सीयस औषत तापक्रम भएमा फल उत्पादनको लागि राम्रो मानिन्छ ।
जापानी हलुवावेद ८०० मि. भन्दा तल्लो क्षेत्रमा लगाउदा फल नफल्न पनि सक्दछ भने २००० मि. भन्दा माथि रोप्दा, फल फलेता पनि पाक्ने बेलामा उच्च क्षेत्रमा तापक्रम कम हुने हुनाले टर्रो नहुने जापानी हलुवावेदमा पनि टर्रोपना आउन सक्दछ र गुलियोपन पनि राम्रो आउदैन ।
त्यसैले गुणस्तरीय फल उत्पादनको लागि फल पाक्ने बेला २५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम आबश्यक पर्दछ । तर टर्रो हुने हलुवावेदको खेती गर्नको लागि चिलिङ्ग र तापक्रमको खासै समस्या पर्दैन । यसको लागि समुन्द्र सतहबाट ४०० मि.देखि २५०० मि. सम्म पनि खेती गर्न सकिन्छ । तर हिँउ पर्ने ठाउँमा बोट कमजोर पार्दछ भने धेरै गर्मी ठाउँमा घामले हाँगा सुक्ने (sun scald) समस्या आउन सक्दछ ।
माटो : हलुवावेद खेतीको लागि पानी नजम्ने जस्तोसुकै माटोमा पनि गर्न सकिने भएता पनि प्राङ्गारिक पदार्थ प्रशस्त भएको बलौटे दुमटदेखि दुमट माटो श्रेष्ठकर मानिन्छ । तर, धेरै चिम्ट्याइलो माटो हलुवावेदको लागि खासै राम्रो मानिदैन । त्यसैगरी, गहिरो माटो नभइ ढुङ्ग्यान भएको, पानी जम्ने, धेरै सुख्खा हुने माटोमा फल झर्ने समस्या आउन सक्छ । हलुवावेद खेतीको लागि माटोको पि.एच.६.०–६.८ उपयुक्त मानिन्छ ।
जग्गाको छनोट : हलुवावेद खेतीको लागि जग्गा छनोट गर्दा धेरै सुख्खा नहुने, पानी नजम्ने, प्रशस्त घाम लाग्ने, प्राङ्गारिक पदार्थ प्रशस्त भएको, सिँचाइको सुविधा भएको, भिरालो जमिनभन्दा समतल परेको जग्गा छनौट गर्नु पर्दछ । जमिनको मोहडाले फरक पार्दैन ।
बगैँचाको रेखाङ्कन : हलुवावेद खेतीको लागि उपयुक्त रेखाड्ढन पद्धतिमा आयातकार (rectangular system) तथा बर्गाकार (square) पद्धति हो । आयातकार पद्धतिमा बिरुवादेखि बिरुवाको दूरी ४ मि. र एक लाइन बाट अर्को लाइनको दूरी ५ मि.मा लगाइन्छ भने बर्गाकार पद्धतिमा बिरुवा देखि बिरुवाको दूरी र एक लाइनबाट अर्को लाइनको दुरी ६ मि.मा लगाइन्छ र पहाडी क्षेत्रको गह्रा कान्ला भएको (कन्टुर) जग्गामा बिरुवादेखि बिरुवाको मात्र नाप लिइ ५ मि.को दूरीमा लगाउनु उपयुक्त हुन्छ ।
खाडल खन्ने र पुर्ने : रोपेको बिरुवा राम्रोसँग हुर्कन बढ्नको लागि खाडलको आकार प्रकारले पनि भूमिका खेल्दछ । माटो खुकुलो र मलिलोे भएमा बिरुवा राम्रोसँग सर्नुका साथै बृद्धि विकास पनि राम्रो हुन्छ । त्यसैले रेखाङ्कन गरिसकेपछि १ मि. गहिराई र १ मि. गोलाइ भएको खाडल खन्नु पर्दछ । खाडलको माटो निकाल्दा माथिल्लो आधा मिटरसम्मको माटो एकापट्टि र तल्लो तहको आधा मिटर माटो पुनः प्रयोग नगर्ने हिसाबले जमिनमै मिलाई दिनु पर्दछ ।
त्यसपछि १ महिना जति खाडललाई त्यत्तिकै घाममा सुक्न दिनु पर्दछ । यसले खाडलमा रहेका हानिकारक ढुसी तथा किराका अण्डाहरू नष्ट हुन्छन् । खाडल खनेको एक महिनापछि प्रतिखाडल बराबर १ डोको गोबर मल, कृषि चुन १०० ग्राम, यूरिया मल १०० ग्राम, डि.ए.पी. २०० ग्राम र पोटास ५० ग्राम, खाडलको माटो खन्दा निक्लेको माथिल्लो आधामिटर सम्मको माटोमा राम्रोसँग मिसाइ खाडल पुर्नु पर्दछ ।
खाडल पुर्दा अनिवार्य रूपमा जमिनको सतहभन्दा एक फिट अग्लो हुने गरी ढिस्को उठाउनु पर्दछ । जसले गर्दा बिरुवा रोप्दा कलमी भाग जमिनमुनी धसिन पाउदैन । यो खाडल खन्ने पुर्ने काम बिरुवा रोप्नुभन्दा २/३ महिना अघि नै गर्नु पर्दछ । अर्थात असोज कार्तिक महिना यसको लागि उपयुक्त महिना हो ।
बिरुवा रोपण : हलुवावेदको बिरुवा रोप्ने उपयुक्त समय पुस माघ महिना हो । उन्नत जातको हलुवावेदको बिरुवा सबै कलमी विधिद्वारा उत्पादन गरिएको हुन्छ । त्यसैले बिरुवा रोप्दा हमेसा के ध्यान पु-याउनु पर्दछ भने बिरुवाको कलमी भाग जमिनको सतह भन्दा माथि नै रहनु पर्दछ । बिरुवा सिधा रहने गरी रोप्नु पर्दछ र सँगसँगै निगालोको लठ्ठीले टेका दिइ बाँध्नु पर्दछ र खाडलको परिधिभित्र खर वा परालले छापो (मल्चिङ) दिनु पर्दछ ।
मलखाद प्रयोग : हलुवावेदमा मलखादको प्रयोग पुस माघ महिनामा गर्नु पर्दछ । एउटा बयस्क बोटको लागि गोबर मल ५० के.जी. (२ डोको), युरिया १०० ग्राम,डि.ए.पी. ३०० ग्राम र म्युरेट अफ पोटास १५० ग्राम हाल्नु पर्दछ । हलुवावेदमा नाइट्रोजनको मात्रा बढी हाल्नु हुँदैन । हलुवावेदमा नाइट्रोेजनको मात्रा बढी भएमा फल झर्ने समस्या आउने अध्ययनहरूले देखाएका छन् ।
सिँचाइ : हलुवावेदको जरा गहिरिएर जाने स्वभापको भएता पनि बिरुवा रोपेको सुरुका एक दुई बर्ष सम्म सुख्खाबाट बचाउन आबश्यकता अनुसार सिँचाइको प्रबन्ध मिलाउनु पर्दछ ।
यसको फूल फुल्ने बेला (चैत, बैशाख) सुख्खा महिना पर्ने भएकोले फूल झर्ने समस्याबाट जोगाउन सिँचाई अनिवार्य हुन्छ । त्यसैगरी फल बढ्ने क्रममा सुख्खा मौसम भएमा अबस्था हेरी सिँचाई गर्नु उपयुक्त हुन्छ । तसर्थ बिरुवालाई चिस्यान पर्याप्त मात्रामा भएमा राम्रो फूल फुल्नमा मद्दत पुग्नुको साथै गुणस्तरीय फल उपादन गर्न सकिन्छ ।
अन्तरबाली : बगैँचामा बोटले पुरै जमिन नढाकेसम्म बोटले ओगटेको क्षेत्र भन्दा बाहिर खाली जग्गामा अन्तरबालीको रूपमा तरकारी तथा कोसे बालीहरू लगाउन सकिन्छ तर अदुवा र बेसार बाली लगाउनु त्यत्ति उपयुक्त हुँदैन किनकि अदुवा र बेसारले जमिनमा भएको खाद्य तव अधिक मात्रामा अवशोषण गर्ने हुनाले बिरुवासँग प्रतिस्पर्धा हुन गई बिरुवालाई खाद्य तत्त्व अपुग हुन सक्दछ । पशुपालनको लागि घाँसेबालीको रूपमा बर्सिम, जै, क्लोभर घाँस लगाउन सकिन्छ ।
झारपात नियन्त्रण : आफूले लगाएको बाली बाहेक अनावश्यकरूपमा खेतबारीमा उम्रेका, पलाएका बनस्पतिहरू झारपात हुन् । यी झारपातले अनाबश्यक रूपमा हावा, पानी, प्रकाश तथा खाद्यतत्त्वहरू आफूले लगाएको बालीसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ भने अनेक रोग तथा किराको आश्रय स्थलको रूपमा रहेको हुन्छ । त्यसैले यसको नियन्त्रण बेलैमा गरिएन भने बाली उत्पादनमा ह्रास आउँदछ । विशेषगरी बर्षा याममा घाँस, झारपात, लहराहरूको बृद्धि हुने हुँदा बगैँचाको स्वरूप नै बिगारी दिन्छ ।
हलुवावेदको बारेमा विभिन्न मान्यता
नियमित रूपमा हलुवावेद खाने गरेमा बुढौलीपन ढिलो हुने गर्दछ ।
टर्रो हलुवावेदको रसबाट कपडा रङ्गाउन (dying)को लागि प्रयोग गरिन्छ ।
मदिरापानबाट हुने ह्याङओभरमा बिहान उठ्ना साथ पाकेको हलुवावेद दुई चार टुक्रा खाएमा तत्काल ताजा तरोजा भइन्छ ।
पाकेको हलुवावेदको बिउ भुटेर धुलो बनाई प्रयोग गरेमा कफिको काम गर्दछ ।
टर्रो हलुवावेदबाट धेरै मिठो सुकुटी बन्दछ ।
हलुवावेदको छिप्पिएको पातलाई सुकाएर धुलो बनाई उमालेर, सेलाए पछि खाने गरेमा पक्षाघात रोग हुनबाट बचाउदछ ।
काँचो हलुवावेदको गुदीमा र पाकेको हलुवावेदको बोक्रामा धेरै मात्रामा Tannin तत्त्व पाइने भएकोले काँचो हलुवावेदको गुदी र पाकेको हलुवावेदको बोक्रा खान नहुने विशेषज्ञको भनाइ छ ।
नियमित रूपमा हलुवावेदको सेवनले आँखा तेजिलो हुने र अनुहारको छाला मुलायम र नरम बनाउँछ ।
काँचो हलुवावेद धेरै खाएमा शरीरमा रगत कम हुने (Anemia) समस्या देखिन सक्छ ।
कृषि ज्ञान पत्रिकाबाट