काठमाडौँ / परम्परागत रूपमा खेती गर्ने चलन छाडेर किसानले नयाँ प्रविधि पछ्याउन थालेका छन् । हलगोरु नारेर खेतबारी जोत्ने किसानले अहिले प्रायः आधुनिक ट्र्याक्टर, मिनी टिलरजस्ता प्रविधि प्रयोग गर्ने गरेका छन् ।
कृषिगणना २०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ । परम्परागत तरिकामा लागत बढी, उत्पादन कम हुन थालेपछि किसानले प्रविधि प्रयोगमा जोड दिएका हुन् ।
कृषिगणना २०६८ ले ८ लाख ४५ हजार अर्थात् २२ प्रतिशत कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो सङ्ख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो ।
यसैगरी सन्दर्भ अवधिमा ४ लाख ७१ हजार २६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ । यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएर ८ लाख ५६ हजार २८३ बाट ५०९.८२५ वटा हुन पुगेको देखिन्छ ।
त्यस्तै कृषिगणना २०७८ ले ४२ हजार ८ कृषक परिवारले ४८ हजार ७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीहरूको कूल क्षेत्रफल १० हजार ३८३ हेक्टर रहेको समेत यो गणनाले औँल्याएको छ । अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको सङ्ख्या १७ हजार १९१, पोखरीको सङ्ख्या २१ हजार २७७ र पोखरीको जम्मा क्षेत्रफल २ हजार ५१९. ७ हेक्टर देखाएको थियो ।
यो गणनाको प्राप्त नतिजाले १७ हजार ५५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ । गणनाको प्राप्त नतिजाअनुसार १ लाख ९६ हजार ८५४ कृषक परिवारले ५ लाख १० हजार ४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ । अघिल्लो कृषिगणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको सङ्ख्या १ लाख २४ हजार १५० पाइएको थियो ।
यो गणनाको प्राप्त नतिजाले १० हजार ३७५ कृषक परिवारले ५९७. ७ हेक्टर जग्गामा पुष्पखेती–नर्सरीखेती गरेको देखाएको छ । कृषिगणना २०७८ अनुसार ४ लाख ८३ हजार २०८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरू ८ लाख ३५ हजार ९२१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो।