काठमाडौँ / गत आर्थिक बर्ष २०७९/८० को असोज महिनाको तुलनामा चालु आर्थिक बर्ष २०८०/८१ मा काठमाडौँ उपत्यकामा घरजग्गा कारोबार ४८ प्रतिशतले बढेको छ ।
गत वर्षको असोजमा एक हजार पाँच सय ९६ संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो। चालु आर्थिक बर्षका सोहि अवधीमा दुई हजार तीन सय १५ संख्यामा घरजग्गाको कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
असोज महिनामा भएको उक्त कारोबार भदौँ महिनाको तुलनामा १८ प्रतिशतसम्म बढेको हो । भदौँमा एक हजार नौ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो। यस्तै, साउनमा एक हजार सात सय ६० संख्यामा घरजग्गा कारोबार थियो । साउनको तुलनामा भदौँमा घरजग्गाको कारोबार १० प्रतिशतले बढेको विभागको तथ्यांक छ।
जग्गा तथा आवास विकास महासंघका (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीका अनुसार मंसिरदेखि घरजग्गा कारोबार अझै वृद्धि हुने बताएका छन् । उनका अनुसार असारदेखि भदौसम्म घरजग्गा खरिदबिक्रीका लागि अफसिजन मानिन्छ । असोजमा घरजग्गाको कारोबार बढेको भए पनि कार्तिक महिनामा घट्नसक्ने अध्यक्ष लोहनीले बताए ।
उनी भन्छन्, कार्तिकमा “चाडपर्वका कारण सार्वजनिक विदा धेरै छ, त्यसैले कारोबार घट्न सक्छ तर मंसीरदेखि पुनः बढ्ने हाम्रो अनुमान छ ।” जग्गा वर्गीकरणमा भएको ढिलाइ र विश्वव्यापी आर्थिक मन्दीको असरका कारण काठमाडौँ उपत्यकासहित देशभर घरजग्गा कारोबारमा सुस्तता आएको थियो ।
उनले असोजमा घरजग्गाको कारोबार बढ्नुमा कित्ताकाट खुल्नु, बैंक कर्जाको ब्याजदर घट्नु र रोमिट्यान्स बढ्नु मुख्य कारणहरू रहेको बताएको छन् । २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो। स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरु भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो।
उक्त नियमावली अनुसार सबै स्थानीय तहलाई जग्गा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा वर्गीकरण गर्न भनिएको थियो। तर सरकारले तोकेको र थप गरिएको समयमा समेत सबै स्थानीय तहहरूले वर्गीकरणको काम सकेनन्। लामो समय जग्गा किनबेच ठप्प भयो।
यसले अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै गत वैशाख ५ को मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधन गरेर देशभर कित्ताकाट खोल्ने निर्णय गरेको हो। सरकारले २०८१ को साउनसम्मका लागि कित्ताकाट खुला गरेको अवस्था छ । त्यतिन्जेलसम्म देशभरका ७५३ वटा स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्नेछ।
यस्तै, वाणिज्य बैंकहरूले अहिले आधारदरको एक प्रतिशतदेखि अधिकतम पाँच प्रतिशतसम्म ब्याज लिएका छन्। पहिले भने आधारदरमा ६ देखि ७ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए। यस हिसाबले ब्याजदर घटेको देखिन्छ।
यता, अघिल्लो वर्षको साउन र भदौ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा २२ प्रतिशत रेमिटेन्स बढेर दुई खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ। रेमिटेन्स बढ्दाको सोझो प्रभाव घरजग्गामा देखिने राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको हो ।
कित्ताकाट खुल्नु, बैंकको ब्याजदर घट्नु र रेमिट्यान्स बढ्नु लगायतका कारणले अहिले घरजग्गाको कारोबारमा सुधारको सङ्केत देखिएको छ । घरजग्गाको कारोबार सुस्ताएपछि अर्थतन्त्रको अन्य क्षेत्रसमेत प्रभावित बनेको थियो । “अब घरजग्गाको कारोबारमा सुधार हुँदैमा एकैपटक सबै क्षेत्रमा सुधार आउँछ भन्न सकिदैन । अरु क्षेत्रमा पनि सुधार हुनुपर्छ,” उनले भने ।
घरजग्गाको कारोबारलाई दीर्घकालिन रूपमा सुधार गर्नको लागि ल्याण्डमार्कट र ल्याण्ड पुलिङ्गको कन्सेप्ट लागू गर्नेपर्ने अध्यक्ष लोहनीले बताए । यसले घरजग्गाको कारोबारलाई व्यवस्थित गर्ने, व्यवस्थित सहरीकरणलाई सहयोग पुर्याउनेछ । यसले कारोबारमा एकरुपता ल्याउने उनको भनाइ छ । उनी भन्छन्, “कारोबारमा एकरुपता ल्याउन, जसरी सेयरको कारोबार पारदर्शी रूपमा हुन्छ त्यस्तै घरजग्गाको कारोबारलाई पनि पारदर्शी बनाउन, ब्रोकर हुन लाइसेन्स आवश्यक पर्ने व्यवस्था जस्तै घर जग्गामा पनि बिक्री गर्न लाइसेन्स बनाउनु पर्ने जस्तो व्यवस्थाका लागि हामीले ल्याण्डमार्कटको कन्सेप्ट लागु गर्नुपर्छ भनेका हौँ ।”
अध्यक्ष लोहनीका अनुसार घरजग्गा कारोबारलाई अझै चलायमान बनाउनका लागि राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो वृद्धि गर्ने र होम लोनको इएमआई खुकुलो बनाउनुपर्छ । लोन टु भ्यालु रेसियो ५० प्रतिशतसम्म कायम रहेकोमा यसलाई बढाएर ७० प्रतिशतसम्म पुर्याउनुपर्ने व्यवसायीहरूको माग छ । त्यस्तै, होम लोनमा ईएमआईलाई आम्दानीको स्रोतको २ सय प्रतिशतबराबरको स्रोत देखाउनुपर्ने व्यवस्था छ । सो व्यवस्था सय प्रतिशतमा कायम गर्नुपर्ने व्यवसायीहरूको बताउँदै आएका छन् ।
काठमाडौँमा कहाँ कति भयो किनबेच ?
काठमाडौँमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु। यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ । ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
काठमाडौँमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ। कलंकी कार्यालयबाट असोजमा ७ सय २९ संख्यामा घरजग्गा कारोबार भएको छ । यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन् ।
दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ। यस कार्यालयबाट साउनमा चार सय ७० संख्यामा कारोबार भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय हो। यस कार्यालयबाट भदौमा ४ सय ६६ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन् ।
मनमैजु कार्यालयबाट साउनमा २ सय ८६ संख्यामा कारोबार भएको छ । यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्। यता, डिल्लीबजार कार्यालयबाट २ सय १० संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौँ महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ । यस्तै, टोखा कार्यालयबाट १ सय ५४ संख्यामा घरजग्गा किनबेच भएको छ । यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ ।
उपत्यकाको कुन कार्यालयबाट कति भयो राजस्व संकलन ?
असोज महिनामा काठमाडौँ उपत्यकामा रहेको ६ वटा मालपोत कार्यालयबाट १ अर्ब १६ करोड ५७ लाख २७ हजार ६०४ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये सबैभन्दा बढी डिल्लीबजार मालपोत कार्यालयले राजस्व संकलन गरेको छ । डिल्लीबजार मालपोत कार्यालयबाट ३९ करोड ७६ लाख ५५ हजार ८७२ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, चावहिलबाट २७ करोड १ लाख ४४ हजार ९१० रुपैयाँ, कलंकीबाट २५ करोड ४८ लाख ५ हजार ५७९ रुपैयाँ, साँखुबाट ८ करोड ५ लाख ९९ हजार ४९२ रुपैयाँ, मनमैजुबाट ७ करोड ३४ लाख ५९ हजार ६०३ रुपैयाँ र टोखाबाट ८ करोड ९० लाख ६२ हजार १४८ रुपैयाँ राजस्व संकलन भएको छ ।