काठमाडौँ / जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आन्दोलनलाई सुरक्षित बनाउन उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाएको बताएका हुन्।
उनले बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरुसँग छलफल गरेको उल्लेख गरे। उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरुमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पारे।
उनले कानुन हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनी स्वरुप अनुमति बिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको बताए। कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी कानुनलाई चुनौती दिने र गैरकानुनी कार्यक्रम सार्वजनिक गरेको भन्दै गैरकानूनी हर्कत काठमाडौंमा नचल्ने उनले चेतावनी दिए।
उनले भने, ‘हिजोदेखि दुई वटा पक्षको काठमाडौंमा कार्यक्रम थियो। आज एउटा पक्षले त्यो कार्यक्रमलाई निरन्तर रुपमा अनिश्चित कालसम्म गर्ने भनेर अघि बढाइरहेको छ। त्यो सन्दर्भमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गर्ने र यथोचित सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा हामी बसिरहेका छौँ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाडौंमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग कुनै पनि अनुमति नलिई आज तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भई निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पतीमाथि क्षति पुर्याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्नेमाथि सुरक्षा व्यवस्था कडा बनाएका छौँ।’
प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको र सुरक्षा प्रदान गरिएको समेत बताएका छन्।