images
images

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

    पोखरा / हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

    images
    images
    images
    images

    सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरुमा ९०/९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०/४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो । पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड महामारीपछि पर्यटन क्षेत्रमा आएको सुस्तताले अहिलेसम्म असर गरिरहेको बताए ।

    “कोभिड अगाडिको जस्तो अवस्था पर्यटन क्षेत्रमा अझै आउन सकेका छैन, कोभिड पछाडिका केही वर्षमा ७०/८० प्रतिशत अकुपेन्सी हुने होटलहरु अहिले भने आधाआधीमा सिमित छन्”, उनले भने, “कोभिडले धेरै मुलुकको आर्थिक स्थिति कमजोर बनायो, पर्यटकहरु कम खर्च गर्न बाध्य भए, योसँगै आन्तरिक पर्यटकले पनि खर्च गर्ने क्षमता कम भयो, यसको असर सिङ्गो पर्यटन क्षेत्रले लामो समयदेखि भोगिरहेको छ ।”

    सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पर्यटन क्षेत्रमा लगानी बढेको तर सोही अनुपातमा विदेशी पर्यटकको आगमन बढ्न नसकेको बताए । उनले भने, “होटल बढे कोठाको क्षमता बढ्यो, तर बाह्य पर्यटकको आगमन बढेन, आन्तरिक र सीमित पर्यटकले ठूलो लगानीलाई धान्न सकेन, त्यसैले व्यवसायीमा चिन्ता थपिएको छ ।”

    योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडान हुन नसक्नु र महँगो टिकट दरले पनि विदेशी पर्यटक आगमनमा बाधा पुर्याइरहेको उनको भनाइ छ । होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले यो याममा पाहुना राख्न महिना दिन अघिदेखि नै कोठा ‘बुक’ हुने गरेको स्मरण गरे ।

    “यो याममा निकै गाह्रो हुन्थ्यो, साथीभाइको फोन त्यस्तै आउँथ्यो, तर अहिले ३०/३५ प्रतिशत अकुपेन्सीमा होटल चलाउनु परेको छ”, भट्टराइले भन], “कहिले कोभिड, कहिले जहाज दुर्घटना, कहिले सडक दुर्घटना, बाढीपहिरोलगायत विविध कारणको यस क्षेत्रलाई निरन्तर असर पुर्याएको छ ।”

    उनले पोखरालाई सुरक्षित गन्तव्य बनाउन पूर्वाधार र विश्वसनीय व्यवस्थापनको सुधार आवश्यकता रहेको बताए। सडक, होटल र अन्य पूर्वाधार सुधार गरी सुरक्षित तथा सहज यात्रा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “मौसम खुल्दै गएको छ, फेवातालको छेउछाउबाट हिमालका सुन्दर दृश्य अवलोकन गर्न र साहसिक गतिविधिमा रमाउने उत्तम समय हो, तर रमाउने पर्यटक नै पर्याप्त छैनन् ।”

    पोखरा महानगरले पर्यटनको दिगो विकास र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचारलाई प्राथमिकतामा राख्दै विशेष योजना अघि सारेको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। आचार्यले भने, “‘पोखरा भिजिट इयर २०२५’ लाई लक्षित गरी नीति तथा कार्यक्रम निर्माण गरिएको छ, जसले दिगो योजना, अन्तर्राष्ट्रिय प्रचार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई समेटनेछ ।”

    लेकसाइड, ड्यामसाइड र पोखरा आसपासमा गरेर एक हजार दुई सय बढी पर्यटकीय स्तरका होटल छन् । त्यसमा ४० हजार पाहुना राख्ने क्षमता छ । पर्यटन क्षेत्रमा रु छ खर्ब बढी लगानी र होटलमा मात्र रु पाँच खर्ब लगानी रहेको होटल सङ्घका अध्यक्ष सुवेदीको दाबी छ ।

    प्रत्यक्ष १५ हजार व्यक्तिले रोजगार पाएको पर्यटन क्षेत्रमा पर्यटकको आगमनको सुस्तताले धेरैलाई असर गरेकाले सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै यी चुनौती समाधान गर्न तथा पोखरालाई फेरि आकर्षक र सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्ने व्यवसायीको विश्वास छ ।

    जमुना वर्षा शर्मा, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार