काठमाडौँ / नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
नेप्सेमा आज बुधबार हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी होटल र फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
यी तीन वटै कम्पनीको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । जसमध्ये हाथवेको १० प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । बुधबार प्रतिकित्ता ७९६.५० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य घटेर ७२४.०९ रुपैयाँमा झरेको छ । यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ७२४.०९ रुपैयाँलाई आधार मानेर हुनेछ ।
त्यस्तै, तारागाउँ रिजेन्सीको पनि ४ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ८३६.६३ रुपैयाँमा छ । जुन बुधबार प्रतिकित्ता ८७०.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
त्यसैगरी, फर्ष्ट माइक्रोफाइनान्सको पनि ७.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । बुधबार प्रतिकित्ता ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ६२२.३३ रुपैयाँमा झरेको हो ।