images
images

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

शनिवार, पुस २८ २०८०
शनिवार, पुस २८ २०८०
  • गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

    गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । 
    सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका हुन् । 

    “एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल आठ लाख रुपैयाँको बिक्री भयो”, हमालले भन्छन्, “यस वर्ष उत्पादन घटेकाले छ लाख रुपैयाँ जतिको सुन्तला बिक्री भयो ।” सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । 

    अहिले उनले प्रतिकिलो रु ६५ देखि ७० मा सुन्तला बिक्री गरेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा भए पनि हमाल भने घरमै बसेर मनग्य आम्दानी गर्न सफल छन् । “यो पुख्र्यौंली पेसा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ”, उनले भने ।

    उनले कूल १२ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएका छन् । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको उनले बताए । 

    थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा आम्दानी झनै बढ्ने हमाल बताउँछन् । सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने गरेको हमाल बताउँछन् । 

    नयाँगाउँकै कमला पोखरेलले पनि यस वर्ष सबै सुन्तला घरबाटै प्रतिकिलो रु ६५ मा बिक्री गरे । 

    गत वर्ष रु ८० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताए । 

    सुन्तला लिन व्यापारी घरमै आउने भएकाले बजारको कुनै समस्या छैन । 

    “बारीमा तीन सय बोट छन्, केही साना बिरुवा पनि छन्”, उनले भने, “सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको छ ।” 

    पोखरेल र हमाल त सुन्तला बिक्री गर्ने केही प्रतिनिधि पात्र मात्रै हुन् ।  जिल्लामा धेरैले सुन्तला बिक्री गरेका छन् । 

    यस वर्ष जिल्लामा रु २३ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । 

    त्यसमा रु १२ करोड ८४ लाखको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए । सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ ।   

    गुल्मीमा कूल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ । त्यसमध्ये यस वर्ष छ सय २३ हेक्टर क्षेत्रफलमा छ हजार पाँच सय ७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ । 

    अहिले कूल सुन्तला बगैँचाको ६० प्रतिशत बोट फलेका छन् । आव २०७९/८० मा कृषक, कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पालिकाको लगानीमा एक सय ३० हेक्टर क्षेत्रफलमा थप सुन्तलाखेती विस्तार गरिएको केन्द्रका प्रमुख भण्डारीले बताए । 

    जिल्लाका पालिकाले पनि सुन्तलाखेती प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको धुर्कोट, रेसुङ्गा, मदानेलगायत क्षेत्रमा सुन्तलाखेतीका लागि चक्लाबन्दी कार्यक्रम नै सुरु गरिएको छ । 

    धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोटमा सुन्तलाको बजारीकरणमा कुनै  समस्या नभएको बताए । 

    उनले सुन्तलाको उत्पादन वृद्धिका लागि सिँचाइ, प्रविधिलगायत विषयमा पालिकाले सहयोग गर्ने प्रतिक्रिया दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार