images
images

आधुनिक कृषि यन्त्रको बढ्दो प्रयोगले दाइँ लगाउने चलन हराउँदै, किसानलाई खेती गर्न सहज

आधुनिक कृषि यन्त्रको बढ्दो प्रयोगले दाइँ लगाउने चलन हराउँदै, किसानलाई खेती गर्न सहज

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • आधुनिक कृषि यन्त्रको बढ्दो प्रयोगले दाइँ लगाउने चलन हराउँदै, किसानलाई खेती गर्न सहज

    कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–३ का ६६ वर्षीय पर्शुराम डगौरालाई बिहानै उठेर गोरुको सहायताले दाइँ लगाउनु पर्ने झन्झट छैन । ट्रयाक्टर, पावर टिलर लगायतका कृषि कार्यमा प्रयोग हुने यन्त्र र उपकरणले काममा सहज बनाइदिएपछि डगौरालाई गोरुको दाइँ लगाउनुपर्ने झन्झट नभएको हो ।

    ‘दुई तीन महिना लगाएर धान, गहुँ दाइँ (गहनी) लगाउनुपर्ने कार्य विगत भइसक्यो,’ उनले भने, ‘दुई महिनासम्म गोरु जुटाएर गरिने दाइँ अब लगाउँदैनौं, एक दुई घण्टामै थ्रेसरको सहायताले धान, गहुँ, मसुरो, तोरी लगायतको बाली थ्रेसिङ गरी भित्र्याउने गरिन्छ ।’ कृषिमा आधुनिक यन्त्र र उपकरणको प्रयोग हुन थालेपछि गोरु, राँगाको सहायताले दाइँ लगाउनुपर्ने चलन हटेको उनले बताए । 

    ‘बिहान कुखुराको डाँकमै दाइँ लगाउनका लागि पुरुषले उठनु पर्दथ्यो, महिलाहरू ढिकीमा धान कुट्नका लागि उठ्ने गर्दथे,’ सोही ठाउँका रामबहादुर डगौराले भने, ‘विगतको जस्तो कष्ट अब छैन, धान कुट्न ‘राइसमिल’मा जान्छौं, दाइँको कार्य आधुनिक थ्रेसरले गर्न थालेपछि किसानलाई खेती गर्न सहज भएको छ ।’ 

    उनका अनुसार गहुँ, मसुरो खेतमा छरेपछि बढी जग्गा हुनेले चार–पाँच जोडी गोरु, राँगा जुटाएर तीन चार महिनासम्म आँगनमा राखिएको धानमा दाइँ लगाउने गर्दथे । थोरै जग्गा हुनेसँगै एकै जोडी गोरु तथा राँगा हुने भएकाले त्यसकै सहयोगमा एक महिना बढी समय लगाएर दाइँ लगाउँथे । ‘दिनभर दाइँ लगाउथ्यौं,’ उनले भने, ‘ककटी (परालको भूस)मा मकै भुटेर खाथ्यौं, परालभित्रै सुत्ने, दाइँ लगाउने गोरुलाई माली (रस्सीले एक अर्कालाई बाँध्ने) लगाइ दाइँ लगाउथ्यौं ।’ दाइँ लगाउने क्रममै परालको पिर्का बुन्ने कार्य पनि हुने गरेको उनले सुनाए । 

    ‘दाइँ लगाउँदै थाकेकाहरूले कुवाको पानी चिसो बनाउनका लागि माटोका गाग्रीमा राख्थे,’ स्थानीय रामकिसन डगौराले भने, ‘त्यसैबाट पिउँथे । केहीले सिधै कुवाबाट पानी निकालेर खाने गर्दथे ।’ ती सबै चलन आधुनिक परिवेशसँगै हराएको उनले बताए । 

    दाइँका लागि प्रयोग हुने गोरु, राँगाको खुट्टाले धान, गहुँ, मसुरो लगायतको अन्नबाली झार्ने गरिन्थ्यो भने माथिल्लो हिस्साको अन्नबाली झारिएपछि काठमा फलामको प्रयोग गरी बनाइएको अखैनको प्रयोगले पराल, गहुँको डाँठमा अड्केका दानालाई झार्ने कार्य हुन्थ्यो । केहीले त्यो कार्यका लागि बाँसबाट बनेको अखैन प्रयोगमा ल्याउने गरेका थिए । झारेको अन्नलाई एक ठाउँमा थुपार्दै नझरेको अन्नलाई झार्नका लागि अखैनको सहायतले पुनःआँगनमा फिजाएर दाइँ लगाउने गरिन्थ्यो । त्यो क्रम डाँठबाट अन्न नझर्दासम्म जारी रहन्थ्यो ।

    ‘पहिले घर–घरमा गोरु, राँगा दाइँ लगाउन, खेत जोत्न, गाडा गुडाउने लगायतका कार्यका लागि पालिने गरिन्थ्यो,’ शुक्लाफाँटा–३ का वडाअध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘एक दशकयतादेखि गोरु, राँगा पाल्ने कार्यसँगै कार्यमा लगाइने कार्यमा निकै कमी आएको छ, त्यसको ठाउँ ट्रयाक्टर, पावर टिलरलगायतले लिएका छन्, गोरु राँगा पाल्ने किसानको सङ्ख्या थोरै मात्र रहेको छ ।’ 

    दुर्गम क्षेत्रका विपन्न बस्तीहरूमा भने पुरानै दाइँ लगाउने चलन भने विद्यमान रहेको उनले बताए । जिल्लाका ९० प्रतिशतभन्दा बढी किसानले अन्न बाली स्याहार्न, चुट्न, सफा गर्नका लागि कृषियन्त्र र उपकरणकै प्रयोग गर्ने गरेका छन् । महिनौं लगाएर हुने काम एक दुई घण्टामै हुन थालेपछि परम्परागत रूपमा चल्दै आएको दाइँ लगाउने कार्य हट्दै गएको स्थानीय किसानको भनाइ छ ।

    किसानका लागि कृषि ज्ञान केन्द्र, कृषि निर्देशनालय र पालिकामा रहने कृषि विकास शाखामार्फत कृषि यन्त्र र उपकरण अनुदानमा उपलब्ध हुन थालेपछि किसानले गोरु तथा राँगा पाल्न छाडेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार