images
images

के थियो सौर्य एयरलाइन्स दुर्घटनाको कारण ? प्रारम्भिक तथ्य यस्तो छ

के थियो सौर्य एयरलाइन्स दुर्घटनाको कारण ? प्रारम्भिक तथ्य यस्तो छ

शुक्रवार, भदौ २१ २०८१
शुक्रवार, भदौ २१ २०८१
  • के थियो सौर्य एयरलाइन्स दुर्घटनाको कारण ? प्रारम्भिक तथ्य यस्तो छ

    काठमाडौँ/ सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँचबुझ आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । 

    गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज तौल र स्पिडको सन्तुलन नमिल्दा दुर्घटना भएको देखिएको छ । 

    प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख गरिए अनुसार पाइलटले धावनमार्गबाट टेकअफ गर्दा जहाजको तौल र स्पिडको सन्तुलन नमिलेको कारण जहाज दुर्घटना हुन पुगेको हो । 

    जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको र ‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 


    मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको अध्ययनको प्रारम्भिक निष्कर्ष छ ।  

    जहाजमा ब्यागेजसहित १८,१३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २००० किलो इन्धन थियो । 

    मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

    समितिले प्रारम्भिक रूपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको थियो । 

    जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको छ । 

    प्रतिवेदनमा उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको उल्लेख छ । 

    सम्पूर्ण मर्मत अर्थात् ‘सी–चेक’का लागि साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १८ जनाको ज्यान गएको थियो ।

    जहाजले भुइँ छाडेको केही सेकेन्डमै दाहिनेतर्फ कोल्टे फर्किएर दायाँतर्फको पखेटाले ट्याक्सी वेबाटै भुइँ छुँदै बजारिन पुगेको थियो ।  

    जसमा सौर्य एयरलाइन्सका प्राविधिक तथा कर्मचारी, एक बालक र तीन जना चालक दलका सदस्य गरेर १९ जना सवार थिए । दुर्घटनामा परेका पाइलटको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् । 


    मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधि समेत पालना नभएको अध्ययनले देखाएको छ । यस्तै, जहाजको सञ्चालन निर्देशिका (म्यानुअल)को तौलसम्बन्धी मापदण्ड पालना नभएको पनि भेटिएको छ ।

    टेकअफ वेटमा जहाजको तौल, इन्धनको तौल, यात्रु, कार्गो र पाइलटसँगै उडानमा सहभागी एयरलाइन्सका कर्मचारीको तौल समावेश हुन्छ । 


    दुर्घटना जाँचबुझ आयोगले तत्कालका लागि सुधार गर्नुपर्ने तीनवटा सुरक्षा सिफारिस गरेको छ । 

    आयोगले सबै वायुसेवा सञ्चालकले तत्कालै आफ्नो स्पिडकार्ड र आरटिओडब्लू चार्टहरू पुनरावलोकन गर्नुपर्ने, सबै अपरेटरले सामान र कार्गोको तौल, त्यसको विवरण र ल्याचिङ सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्याअनुलमा निर्दिष्ट भएअनुसार सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ । 

     नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमितबाहेकका ‘गैरआम्दानी’ वा ‘फेरि’ उडानहरूको अनुमति दिनका लागि कार्यविधि बनाउन सुझाव दिइएको छ । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो ।

    आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी र पर्यटन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर मुकेश डंगोल सदस्य थिए। 

    आयोगलाई दुर्घटनाको कारणबारे प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार